चैत १८, काठमाडौं । बालयौन दुराचारको अभियोगमा एक जना अमेरिकी नागरिक पक्राउ परेका छन् । मंगलबार प्रहरीले पोखरा महानगरपालिका-१८ सेदीस्थित बिष्णु होमस्टेबाट क्यालिफोरनिया अमेरिका ठेगाना भएका राहदानी नम्बर ५६६९९२३०७ वाहक माइकल नोरम्यान टेलोरलाई पक्राउ गरेको हो ।
सन् २०१९ मा ३ जना बालबालिकाहरुलाई बालयौन दुराचार गरेको भन्ने पीडित बालक एवं अभिभावकहरुबाट जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी प्राप्त भएपछि उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानको क्रममा उनी सन् २०१८, २०१९ र २०२१ गरी तीन पटक नेपाल आएका थिए । अमेरिकामा रहदैदेखि बालयौन दुराचार गर्ने मनसायले नेपाली बालबालिकासँग सामाजिक संजाल मार्फत सम्पर्क गर्ने गरेको तथा २०२१ मार्च २१ मा नेपाल अवतरण गरी बालयौन दुराचारको मनसाय राखी पोखरा गएको खुल्न आएको पप्रहरीले जनाएको छ ।
उनको साथबाट ४ हजार ६ सय अमेरीकी डलर, १ थान ल्यापटप, २ थान मोबाइल, १ थान आइप्याड, १ थान पेनड्राईभ, र १ थान अमेरिकन राहदानी प्रहरीले बरामद गरेको छ । उनलाई आवश्यक अनुसन्धान गरी कारवाही प्रकृया अगाडि बढाउनको लागि जिल्ला प्रहरी कार्यालय कास्की पोखरामा बुझाईएको केन्द्रीय अनुसन्धान व्यूरोले जनाएको छ ।