जेठ १४, काठमाडौं | कोभिड-१९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि उपत्यकामा निषेधाज्ञा कडाई गरिएको छ । निषेधाज्ञामा कडाई गरेसंगै शुक्रबार दिनभर पानी झम-झम पर्दै गर्दा समेत चोक-चोकमा प्रहरीहरुको बाक्लो उपस्थितिमा चेकजाँच जारी रहेको देखियो ।
कजाँचको क्रममा बसेका सुरक्षाकर्मीहरुले शुक्रबार हरेक सवारीलाई रोक्दै अनिवार्य रूपमा पास रहे/नरहेको चेक गरेको देखियो । त्यसो त अत्यावश्यक सामग्री बोकेका सावारी साधनहरु समेत चेकजाँचको क्रममा रोकिए । यसअघि निषेधाज्ञाको समयमा कारण देखाएर आवत/जावत गर्न पाइने भएकोले सवारी आवत/जावत बाक्लो देखिए पनि शुक्रबार फाटफुट सवारी चलेपनि सडकहरु सुनसानजस्तै देखिए ।
मुख्य सडकमा मात्र नभई भित्री सडकहरुमा समेत अन्य समयमा आधा सटर तानेर भएपनि ब्यापार गर्नेहरु देखिएनन् । बिहान ९ बजेसम्म तरकारी, फलफुल, मासु तथा दुधजन्य पदार्थका पसल सञ्चालनमा आएपनि दिनभर बन्द देखिए । त्यस्तै शुक्रबारदेखि उपत्यकाका खाद्यान्न पसलसमेत पूर्णरुपमा बन्द गरिएका छन् । केहि ठाउँमा नियम उल्लङ्घन गरेका कारण पहिलो पटकको लागि सचेत मात्र गराईएको छ ।
काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूले अवस्थाको मूल्यांकन गर्दै एक साता निषेधाज्ञा थप्ने निर्णय गरेको थियो । पछिल्लो निर्णय अनुसार उपत्यकामा सरकारी सवारी साधनलाई दिउँसो चल्न नदिने समेत निर्णय गरेको छ । सरकारी कार्यालय, बैंक, सार्वजनिक संस्थान र इन्टरनेट सेवा प्रदायकका सवारीसाधन बिहान साढे ९ बजेदेखि साढे १० सम्म र साँझ ५ बजेदेखि ६ बजेसम्म मात्र चल्न दिने निर्णय गरिएको छ ।










