जेठ १६, काठमाडौँ | पछिल्लो दुई दिनको कोरोना संक्रमितको डाटा ह्वात्तै घटेपछि प्रश्न चिन्ह खडा भएको छ । के साच्चै संक्रमित घटेका हुन् ? तर त्यसो होइन । पछिल्लो दुई दिन परीक्षणको संख्या घटेको कारण संक्रमितको संख्या घटेको हो ।
परीक्षण र संक्रमितको दरलाई हेर्दा नेपालमा संक्रमण दर अझै उच्चनै रहेको छ ।
पछिल्लो २४ घण्टामा जम्मा १२ हजार ७७० जनाको कोरोना परीक्षण गरिएको थियो, जसमा ४ हजार ३६९ जनामा संक्रमण पुष्टि भएको छ । १० हजार ९८६ जनाको पीसीआर परीक्षण र १७८४ जनाको एन्टिजेन परीक्षण गर्दा क्रमशः ३ हजार ७०२ र ६६७ जनामा संक्रमण पुष्टि भएको हो ।
यसअघि दैनिक २० हजार हाराहारीमा परीक्षण गरिँदै आएकोमा शनिबार र आइतबार परीक्षण घटाइएको छ । सनिबार पनि
१४ हजार ७५२ जनाको मात्र परीक्षण गरिएको थियो । जसमा ४ हजार ४८७ जनामा संक्रमण पुष्टि भएको थियो । यसरी शनिबार परीक्षण गरिएका मध्येमा संक्रमण दर ३०.४१ प्रतिशत रहेको थियो भने आइतबार यो दर ३४.२१ रहेको छ । शुक्रबार २० हजार ११० जनाको परीक्षण गरिएको थियो जसमा ६९५१ जनामा संक्रमण पुष्टि भएको थियो । सो दिन संक्रमण दर ३४.५६ प्रतिशत रहेको थियो ।
सामाजिक सञ्जालमा एउटा अडियो कुराकानी भाइरल भएसंगै सर्वसाधारण स-संकित छन्, जुन अडियोमा अब असारमा कर उठाउनका लागि संक्रमितको संख्या कम देखाउन थाल्ने सरकारी योजना रहेको उल्लेख छ । यही विषयलाई लिएर सर्वसाधारणहरुले सरकारमाथिनै शंका गर्न थालेका छन् । पछिल्लो दुई दिन परीक्षण घटाइनुको कारणबारे सम्बन्धित निकायले भने अब फेरी परीक्षण बढ्ने बताएका छन् ।
हाल नेपालमा कूल संक्रमितको संख्या ५ लाख ५७ हजार १२४ पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या १ लाख ८ हजार ८९७ रहेको छ । यसमध्ये १ लाख १ हजार ३३४ जना होम आइसोलेसनमा, ७ हजार ५६३ जना संस्थागत आइसोलेसनमा, आईसीयूमा १५४५ जना र भेन्टिलेटरमा ४०७ जना रहेका छन् ।