जेठ २५, काठमाडौँ | आजदेखि नेपालमा चीनले अनुदानस्वरुप दिएको भेरोसेल खोप लगाइदै छ । कोरोनाविरुद्ध खोप अभियानको नयाँ चरणमा काठमाडौं उपत्यकामा ६० देखि ६४ वर्ष उमेर समूहका र अन्य जिल्लामा ६२ देखि ६४ वर्ष उमेर समूहका नागरिकहरुलाई यो खोप लगाइदैछ ।
खोप शाखाका अनुसार खोप केन्द्र र खोप अभियानको समय देशका सबै जिल्लामा जिल्ला प्रशासन कार्यालयको संयोजकत्वमा रहेको कोभिड १९ विरुद्धको खोप समितिले तोक्ने व्यवस्था गरिएको छ ।
खोप शाखाका अनुसार नेपालमा ६०–६४ वर्ष उमेर समूहको जनसंख्या ८ लाख ५० हजार छ । एकजनालाई दुई डोज खोप दिनुपर्छ । चीनले दिएको १० लाख डोजले ५ लाख व्यक्तिलाई मात्र पुग्छ । त्यसमा पनि तिब्बतस्थित सीमा जोडिएका पालिकामा १८ वर्षमाथिकालाई समेत खोप दिने निर्णय भएको छ।