फागुन २३, काठमाडौँ । ‘सुसाइड’ नोट लखेर आत्महत्याको प्रयास गर्ने काठमाडौंमा एकै परिवारका पाँचजनाबारे प्रहरी अनुसन्धान जारी छ । पाँचमध्ये एकजनाको मृत्यु भएको छ । चारजनाको अचेत अवस्थामा स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौंको नागर्जुन नगरपालिका–६, रामकोटमा गए राति एकै परिवारका पाँचजना बेहोस अवस्थामा फेलापरेका थिए । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेश मैनालीका अनुसार ३३ वर्षीय सुवर्णमान श्रेष्ठलाई अस्पतालले मृत घोषणा गरेको छ ।
६२ वर्षीया इन्दिरामाया प्रधान, ३८ वर्षीय भीममान प्रधान, ३५ वर्षीया मन्दिरा प्रधान र ११ वर्षीया सुप्रिया प्रधानको अवस्था गम्भीर छ । उनीहरू बोल्न नसक्ने अवस्थामा छन् । डल्लु स्थायी ठेगाना भएका उनीहरू नागार्जुन–६, डाँडापौवास्थित दुईतले पक्की घरको दोस्रो तलामा फ्ल्याट भाडामा लिएर बस्दै आएका थिए ।
प्रहरीले घटनास्थलमा विषाक्त औषधिको बट्टा फेलापारेको छ । घटनास्थलबाट प्रहरीले ‘सुसाइड’ नोट समेत बरामद गरेको छ । जहाँ उनीहरूले पछिल्लो एक साताको दैनिकी लेखेका छन् ।
प्रहरी अनुसन्धानका क्रममा ६२ वर्षीया इन्दिरामाया क्यान्सर रोगी रहेको र अर्का एक सदस्य मानसिक रोगी रहेको खुलेको छ । यसबाहेक एकजना शारीरिक रूपमा अशक्त रहेको पनि प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । बुहारी एक सहकारी संस्थामा काम गर्दै आएको खुलेको एक प्रहरी अधिकारीले बताए ।
प्रहरी अधिकारीहरूका अनुसार चरम आर्थिक संकट र पारिवारिक तनावले उनीहरूले आत्महत्याको बाटो रोजेको हुन सक्ने सम्भावना छ । एक प्रहरी अधिकारीहरूका अनुसार उनीहरूले सुसाइड नोटमा परिवारभित्रको मानसिक तनाव र आर्थिक संकटबारे लेखेका छन् ।
ती अधिकारीले भने, “सुसाइड’ नोट हामीले अध्ययन गरिरहेका छौँ । घटनाकै बारेमा पनि अनुसन्धान जारी छ । अहिले नै सबै कुरा भन्ने अवस्थामा हामी छैनौँ ।