असार ६, काठमाडौं | अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) का केन्द्रीय उपाध्यक्ष पवन कार्कीसहित १० जनालाई अनिश्चितकालिन निलम्बन गरिएको छ ।
आइतबार बसेको अखिल क्रान्तिकारीको केन्द्रीय कमिटीको बैठकले कार्कीसहित १० जनालाई निलम्बन गरेको हो। अखिल क्रान्तिकारीको केन्द्रीय समिति बैठकले संगठनको विधि विपरीत गर्नेहरूलाई कारबाही गरेको हो ।

कारबाहीमा पर्नेमा पवन कार्की, प्रवीण बस्नेत, सञ्जिव चौधरी, उपदेश यादव, बालकुमार केसी, रमेश खड्का, वसन्त भण्डारी,पदम नेपाली लगायत १० जना केन्द्रीय सदस्य छन् । अखिल क्रान्तिकारीको केन्द्रीय बैठकमा होहल्ला गर्दै नाराबाजी गर्दै बैठक अवरोध गरेपछि कार्की पक्षका नेताहरूलाई हलबाट निकालिएको थियो । कार्की पक्षले संगठनमा सबै पक्षलाई मिलाएर नसमेटेको भन्दै अध्यक्ष पन्चा सिंह र विद्यार्थी इन्चार्ज हितमान शाक्यको समेत राजीनामा मागेका छन् । कार्की पक्षले केन्द्रीय सदस्य र केन्द्रीय पदाधिकारी नमिलेको भन्दै खारेजीको माग गर्दै आएको छ । बैठक पूर्ण केन्द्रीय बैठकमा सहभागी केन्द्रीय सदस्यलाई शपथ खुवाएर आज सकिने भएको छ।