२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

सन्दर्भ बालदिवस: बेसहारा बालिकाले पाए ‘आमाको माया’

२०७३, २९ भाद्र बुधबार ०७:३०

भदौ २९, चितवन । रातो घाँगरमा सजिएकी १२ वर्षीया कीर्तिका पुरी हँसिली देखिएकी छिन् । सिन्धुपाल्चोक सानो सिरुवारी–५ हो उनको घर । 

२०६६ साल कात्तिक ४ गते दुर्घटनामा बुबा रामशरण पुरीको मृत्यु भयो । २०६८ साल चैतमा आमा ज्ञानु पुरीले एक्लै छाडेर गइन् । स्थानीयबाट उनको अवस्थाबारे जानकारी आएपछि चितवनमा रहेको ‘आमाको माया’ छात्राबासले चितवन ल्यायो । अहिले कीर्तिका हँसिली र रसिली भएकी छिन् । “गाउँमा भन्दा रमाइलो छ, हाँस्दै कीर्तिकाले भनिन, अब यहीँ बस्ने हो ।” 

कीर्तिकासँगै धादिङ गजुरीकी–६ वर्षीया मालती परियार पनि यहाँ रमाउँदैछिन् । हाल नर्सरीमा पढ्ने उनलाई बुबाआमा नै नभएपछि ज्याला मजदुरी गर्ने मामा माइजुले पालेका थिए । स्थानीय बालबालिका कार्यालय र सामाजिक सङ्घसंस्थामार्फत उनको उद्धार गरी ल्याइएको छ । उनी पनि अहिले खुसीसाथ बस्दै छिन् । 

चितवनको कोराक किरनटारकी ६ वर्षीया लक्ष्मी तामाङको बुबाको पहिले नै मृत्यु भएको र आमाले गरिबीका कारण आत्महत्या गरेपछि उनको पनि उद्धार भएको आमाको मायाँ छात्राबासकी अध्यक्ष कृष्णकुमारी गिरी बताउनुहुन्छ । 

“घरमा ऋण धेरै, आम्दानी गर्ने बाटो थिएन, घर भूकम्पले भत्काएपछि, आमाले आत्महत्या गर्नुभयो, गिरीले भन्नुभयो, बालिका बेसहारा भएपछि हामीले ल्यायौँ ।” 

माघबाटै बालिकालाई आमाको माया दिन थालिए पनि २०७३ सालको वैशाखबाट चितवन भरतपुरमा महिला मिलेर ‘आमाको माया’ छात्राबास सञ्चालन गरिएको हो । 

विभिन्न कारणले बुबाआमा नभएका बालिका यहाँ १६ जना पुगेका छन् । बुबाआमा गुमाएका, सहारा नपाएका तथा भूकम्प प्रभावित, प्रकोप पीडित बालिकाकालाई राख्ने गरिएको छ । वार्षिक ५÷६ जना बढाउने र उनीहरुलाई उच्च शिक्षा दिने जनाइएको छ । 

छात्राबासकी कोषाध्यक्ष साधना पोखरेलले भन्नुभयो, उनीहरुको भविष्य बनाउने जिम्मा समेत हाम्रै हो । अहिले सात जिल्लाका ६ देखि १२ वर्षका १६ जना बालिकाले आश्रय पाएका छन् । चितवनसहित मकवानपुर, धादिङ, मोरङ, ओखलढुङ्गा, सिन्धुपाल्चोक, नुवाकोटका बालिका बस्छन् । उनीहरुलाई एउटै पोसाक लगाइएको छ । 

गाउँमा राम्ररी पढ्न नपाएका बालिकास्तरीय बोडिङ स्कुलमा पढ्दैछन् । भरतपुरमा रहेको हिलवर्ड बोर्डिङमा भर्ना गरिएको छ । वार्षिक प्रतिविद्यार्थी रु नौ हजार खर्च पढ्नका लागि छ । स्कुलले ५० प्रतिशत छुट दिएको छ । 

अहिले आश्रय पाएका बालिका नर्सरीदेखि ७ कक्षासम्म अध्ययन गर्न थालेका छन् । विभिन्न दाताबाट आएको सहयोग जुटाएर उनीहरुको पालनपोषण र शिक्षादीक्षा दिइँदै आइएको अध्यक्ष कृष्णकुमारी गिरीले बताउनुभयो । 

उनीहरुलाई रेखदेखका लागि सावित्री ढकाललाई आमा बनाइएको छ । गाउँमा आमा नभए पनि आमाको जस्तै मायाँ दिने गरी ढकाललाई राखिएको गिरीले बताउनुभयो । गिरीले दुई कट्ठा १० धुर जग्गामा बनेको भवनमा निःशुल्क बस्न दिनुभएको छ । 

सदस्यबाट मासिक रु दुई हजार उठाएर छात्रबास सञ्चालन गर्छन् । यहाँ मधेस आन्दोलनमा सहिद भएकाका छोरी, भूकम्प प्रभावित, आमाबुबा गुमाएका र बुबाआमाले छाडेर गएका बालिकालाई ल्याइएको छ । 

उनीहरुको पालनपोषणका लागि मात्रै मासिक रु ६५ हजार खर्च हुन्छ । प्रारम्भिक चरणमा उक्त खर्च जुटाउनै समस्या रहेको सञ्चालक सदस्य कृपाराज भण्डारीले बताउनुभयो । 

भण्डारीले बालिकाका लागि रु २५ हजार दिनुभयो र बालिकालाई खाना समेत खुवाउनुभयो । यसैगरी अन्यले पनि सहयोग गर्ने गरेका छन् । खुसी मनले यस्ता बालिकालाई सहयोग गरे पुण्य मिल्ने भण्डारी बताउनुहुन्छ । 

चितवनका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहका अनुसार जिल्लामा यस्ता बालबालिकाका लागि भनेर खोलिएका संस्था ३० भन्दा बढी छन् । कतिपयले कानुन विपरीत काम गरे पनि कतिपय यस्ता संरक्षण केन्द्र नमुना बन्दै गएका छन् । 

हराएका ४७ महिला तथा बालबालिका भेटिएनन् 

चितवनमा हराएका ८७ जना महिला तथा बालबालिकामध्ये ४० जना मात्रै फेला परेका छन् । 

माइती नेपाल क्षेत्रीय कार्यालय चितवनका अनुसार गत एक वर्षमा ८७ मध्ये ४० जना फेला परेको र ४७ जनाको अवस्था अझै थाहा हुन सकेको छैन ।

विसं २०७२ असोजदेखि २०७३ साल भदौसम्म यसरी ८७ जना बेपत्ता भएकामा अझै ४७ जनाको अवस्था अज्ञात रहेको माइती नेपालका क्षेत्रीय कार्यक्रम अधिकृत युवराज दवाडीले जानकारी दिनुभयो । 

मुख्यगरी बेपत्ता हुनेमा बढी स्कुले तथा घरेलु हिंसामा परेका बालबालिका तथा श्रीमान विदेशिए पछि हराएका महिला रहेका छन् । 

उनीहरुको परिवारले खोजीको अपिल गरी माइती नेपाललाई आग्रह गरेकामा ४० जना फेला परेको र ४७ जनाको खोजी जारी रहेको माइती नेपालले जनाएको छ । 

उहाँले माइती नेपालले चितवनमा सेवा सुरु गरेपछि भने कुल ६९५ जना बेपत्ता भएको भन्दै खोजतलासको निवेदन परेकोमा अहिलेसम्म २०१ जना मात्रै फेला पार्न सकिएको जानकारी दिनुभयो । 

यस्तै माइती नेपालका अनुसार विभिन्न जिल्लाबाट मानव तस्करले बेचबिखन गर्न लैजाँदै गर्दा चितवनबाट ११७ जना चेलीको उद्धार गरेको र १११ जनालाई परिवारमा पुनर्मिलन समेत गराएको जनाएको छ । 

गोरखा, धादिङ, लमजुङ, नुवाकोटलगायत जिल्लाका चेलीलाई चितवन हुँदै भारत लैजाने गरेको पाइएको छ । 

माइती नेपालले गएको एक वर्षमा चितवनमा २५४ जनालाई मानव बेचबिखनविरुद्धको तालिम दिएको, ४३० वटा सवारीमा अनुगमन गरेको, २९४ जनालाई सुरक्षित वैदेशिक रोजगारसम्बन्धी जानकारी दिएको र १३० जनालाई परामर्श दिएको जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह