महिला विश्वकप फुटबलको सेमिफाइनल पुगेका ४ टिममा को बलियो ?

Posted on: 14 Aug, 2023

एजेन्सी | महिला विश्वकप फुटबलमा नयाँ च्याम्पियन बन्दैछ । र सम्भवत त्यो आयोजक राष्ट्र अस्ट्रेलिया पनि हुन सक्छ ।

न्युजिल्याण्डसँग मिलेर विश्वकप आयोजना गरिरहेको अस्ट्रेलिया सन् १९९९ पछि सेमिफाइनल पुग्ने पहिलो आयोजक टिम बनेको छ । सन् १९९९ मा अमेरिका सेमिफाइल पुगेको भए पनि त्यसयता आयोजक राष्ट्र सेमिफानलमा पुगेका थिएनन् ।

अस्ट्रेलिया इतिहासमै पहिलो पटक सेमिफाइनल पुगेको हो र टोलीले उपाधि सम्भावना कायम राख्ने लक्ष्यसहित बुधबार इंग्ल्याण्डसँग सेमिफाइनल खेल्दैछ ।

‘मलाई पूर्णरूपमा के विश्वास छ भने अस्ट्रेलियाको यो टिम धेरै बाटोमा नयाँ इतिहास रच्न सक्छ ’, अस्ट्रेलियाली प्रशिक्षक टोनी गुस्ताभसन भन्छन्, ‘उनीहरुले फुटबल खेल मात्र जितिरहेको छैन । उनीहरु अब आउने नयाँ पुस्तालाई पनि प्रेरणाको स्रोत बन्न सक्छ । उनीहरुले देशलाई फुटबलको माध्यमबाट कसरी एकजुट गर्न सक्छ, आफ्नो विरासतलाई कसरी राख्न सक्छ त्यो फुटबल भन्दा धेरै ठूलो हुनेछ ।’

युरोपियन च्याम्पियन इंग्ल्याण्डले क्वाटरफाइनलमा कोलम्बियामाथि २-१ को पुनरागमन जित निकाल्दै सेमिफाइनल पुगेको हो । २०१५ र २०१९ मा पनि सेमिफाइनल पुगेको इंग्ल्याण्ड अहिलेसम्म फाइनल पुग्न सकेको छैन ।

अस्ट्रेलिया र इंग्ल्याण्डबीचको सो डाउनअघि पहिलोपल्ट सेमिफाइनल पुगेको स्पेन र महिला फुटबलकै महाशक्ति स्वीडेनबीच मंगलबार खेल हुनेछ ।


समूह चरणमा जापानसँग ४-० को हार बाहेक स्पेन प्रतियोगितामा बलियो देखिएको छ । स्पेनले साविक उपविजेता नेदरल्याण्ड्सलाई हराएर पहिलो पटक सेमिफाइनलमा स्थान बनाएको हो ।

जारी विश्वकपमा बाँकी रहेको टिममध्ये स्वीडेन सबैभन्दा माथिको वरीयता (दोस्रो) मा छ । स्वीडेनले क्वाटरफाइनलमा अपराजित टिम तथा २०११ को च्याम्पियन जापानलाई हराएर सेमिफाइनलमा स्थान बनाएको हो ।

‘मेरो विचारमा हामीसँग फाइनल पुग्ने टिम छ’, स्वीडेनका लेफ्टब्याक जोन्ना एन्डरसनले भनिन्, ‘र अहिले हामी एक स्टेप नजिक पुगेका छौँ ।’

अस्ट्रेलिया

‘मटिलडास’ को उपनामबाट चिनिने अस्ट्रेलियाको सेमिफाइनल यात्रा निकै तनावपूर्ण रह्यो । ब्रिसवनमा सोल्ड आउट क्राउडको अगाडि अस्ट्रेलियाले फ्रान्सलाई सडनडेथमा हरायो ।

खेलको विजेता निर्णय हुन २० पेनाल्टी प्रहार गर्नुपरेको थियो र यो महिला विश्वकप इतिहासमै सबैभन्दा लामो रह्यो । अस्ट्रेलिया गोलकिपर माकेन्जी आर्नोल्डका लागि सुटआउट उतारचढावपूर्ण रह्यो ।

३–३ को बराबरीको अवस्थामा पेनाल्टी प्रहार गर्न पुगेकी आर्नोल्डले गोल गर्दै टिमलाई जिताउन सक्थिन् । तर उनको प्रहार पोष्टमा लाग्यो ।

त्यसपछि आर्नोल्डले फ्रेन्च मिडफिल्डर केन्जा डालीको प्रहार दुई पटक रोकिन् । पहिलो पटक अगाडि बढेकोले उनको सेभले मान्यता पाएन ।

आर्नोल्डले खेलपछि आफू पेनाल्टी प्रहार चुकेकामा धेरै दुःखी रहेको बताएकी थिइन् ।

साथै यो खेल आफ्नो पक्षमा पार्न सकेकोमा साथीहरुलाई धेरै धन्यवाद दिइन् ।

फिफा वरियतामा १२औं स्थानमा रहेको अस्ट्रेलिया सेमिफाइनल खेल्ने मध्ये सबैभन्दा तल्लो वरियताको टिम हो ।

चोटका कारण समूह चरणका सबै खेल गुमाएकी सुपरस्टार साम केरले फ्रान्स विरुद्ध बेञ्चबाट आएर खेलेकी थिइन् । उनले अतिरिक्त समयमा खेल पुग्दा टिमको कप्तानी समेत गरिन् अनी सुटआउटमा पेनाल्टीमा गोल पनि गरिन् । केरको स्थानमा खेलेकी २० वर्षीय म्यारी फोवलरले पनि प्रभावशाली प्रदर्शन गरिन् ।

इंग्ल्यान्डविरुद्ध खेल्नुअघि अस्ट्रेलियाली खेलाडी फेरि एकजुट हुनुपर्ने आर्नोल्डले बताएकी छन् । उनले एक पटकमा एक खेललाई मात्र केन्द्रित भएर अझ हाफलाई मात्र ध्यानमा राखेर खेल्नुपर्ने बताइन् ।

इंग्ल्यान्ड

गत वर्ष युरोपियन च्याम्पियनसिपको उपाधि जितेको इंग्ल्यान्ड विश्वकप उपाधि थप्ने योजनामा छ ।

प्रशिक्षक सरिना विघमनलाई राम्रोसँग थाहा छ कि टिमले सेमिफाइनलमा घरेलु टोली अस्ट्रेलियासँग खेल्दैछ ।

विघमनले इंग्ल्याण्डको प्रशिक्षकको रुपमा ३७ खेल सम्हाल्दा एउटा खेल मात्रै हारेकी छिन । त्यो हार चार महिनाअघि मैत्रीपूर्ण खेलमा अस्ट्रेलिया विरुद्ध नै थियो । उक्त खेलमा इंग्ल्याण्ड २-० ले पराजित भएको थियो ।

‘यो धेरै ठूलो खेल हुनेछ’, विगमनले सेमिफाइनललाई लिएर भनिन्, ‘यो सायद मैले सोचेको भन्दा ठूलो हुन गइरहेको छ । म मेरा खेलाडी र स्टाफसँग कुरा गर्नेछु र त्यो प्रतिद्वन्द्वी के हो हेर्नेछु । हामीले यस्तो न्यानो स्वागत पाएका छौं र हामीले यहाँ अस्ट्रेलियामा हाम्रो समय साँच्चै रमाइलो गरेका छौं । मलाई यहाँका मानिसहरू साँच्चै मनपर्छ तर यसको मतलब त्यहाँ कुनै प्रतिस्पर्धा छैन भन्ने होइन । त्यसो भए हामी त्यो बुधबार देख्नेछौं ।’

इंग्ल्यान्डले क्वाटरफाइनलमा कोलम्बियालाई हराउँदा ७५ हजारभन्दा बढी दर्शकको अगाडि खेलिसकेको छ । त्यसमध्ये अधिकांश समर्थक कोलम्बियाका थिए ।

विगमनले यो खेललाई लिएर प्रतिक्षारत रहेको र यो होम गेम भएको जानकारी रहेको बताए ।

अन्तिम १६ को खेलमा रातो कार्ड पाएकी इंग्लिस स्टार लाउरेन जेम्सले दुई खेलको निलम्बनका कारण अस्ट्रेलिया विरुद्धको खेल पनि गुमाउनेछिन् ।

स्वीडेन

स्वीडेनको अहिलेको टिमलाई महिला फुटबल इतिहासमै यो देशको ‘स्वर्णिम पुस्ताका खेलाडी’  भन्ने गरिन्छ । तर स्वीडेनले अहिलेसम्म अन्तर्राष्ट्रिय स्तरमा केही जितेर त्यसलाई प्रमाणित गर्न सकेको छैन ।

स्वीडेनले यसपटक सेमिफाइनल पुग्ने क्रममा दुई च्याम्पियन अमेरिका र जापानलाई पराजित गरिसकेको छ । अब सेमिफाइनलमा मंगलबार अकल्याण्डमा स्पेनसँग खेल्दैछ ।

दुई वर्षअगाडि टोकियोमा भएको ओलम्पिक्समा स्वीडेन स्वर्ण पदकको नजिक पुगेको थियो  तर फाइनलमा क्यानडासँग पराजित भयो ।

विश्वकपकमा भने २००३ मा उपविजेता बन्नु स्वीडेनको ठूलो उपलब्धी हो र तीन पटक तेस्रो स्थानमा विश्वकप सकाएको छ ।

स्वीडेनले हरेक खेलमा जित हासिल गरेपछि समर्थकले रंगशालामा त्यो देशको प्रख्यात ब्यान्ड अब्बाको एउटा प्रसिद्ध गीत गराउने गरेका छन् । र स्ट्राइकर कोसोभारे अस्लानीले मंगलबार पनि उक्त गीत गाउन आग्रह गरेकी छन् । ‘आई लभ, ले योर लभ अन मि ’, उनले भनिन् ।

‘हरेक खेलपछि जब तपाईँ अब्बाको गीत सुन्न पाउनुहुन्छ त्यो धेरै रमाइलो छ’, यसले हाँसो ल्याउने अस्लानीले बताइन् । ‘म टिमको प्रदर्शनबबाट धेरै गौरवान्वित छु तर हामी यतिमै सन्तुष्ट छैनौं । निश्चय नै हामी अझै लामो यात्रा तय गर्न चाहन्छौं’, उनले थपिन् ।

स्पेन

२०१९ को उपविजेता नेदरल्याण्ड्सलाई क्वाटरफाइनलमाको अतिरिक्त समयमा २-१ ले पराजित गर्दै स्पेन सेमिफाइनल पुग्ने पहिलो टिम बनेको थियो ।

स्पेनका लागि क्वाटरफाइनल पुग्नु नै ठूलो थियो । विश्व वरियतामा सातौं स्थानमा रहेर्को स्पेन यसअघि अहिलेसम्म क्वाटरफाइनलबाट अघि पुग्न सकेको थिएन ।

यसअघि दुई संस्करणमा स्पेन क्वाटरफाइनलमै रोकिँदा तेस्रो पटक भने गज्जब खेलिरहेको छ ।

समूहको अन्तिम खेलमा जापानसँग ४-० ले हार्नुअघि स्पेनले पहिलो दुई खेल सजिलै जितेको थियो ।

तर स्पेनी प्रशिक्षक जोर्गे भिल्डाले नकआउट राउण्डका लागि टिममा व्यापक हेरफेर गरे । त्यसपछि स्पेनले स्वीट्जरल्याण्डलाई अन्तिम १६ मा ५-१ ले पराजित गर्‍यो भने क्वाटरफाइनलमा डचलाई स्तब्ध बनायो ।

यसले स्पेनलाई जापान विरुद्ध सम्भावित रिम्याचको अवसर दिएको थियो । तर जापान स्वीडेनसँग क्वाटरफाइनलमा पराजित भयो । यसको अर्थ स्पेनले अब बलियो टिम स्वीडेनसँग सेमिफाइनल खेल्नुपर्नेछ ।

‘हामी त्यो स्थानमा पुगेका छौं, जहाँ हामी त्यस अगाडि कहिले पनि पुगेका थिएनौँ । र यसमा टिमले राम्रो प्रदर्शन पनि गरेको छ । हामी अझ अगाडि जान सक्छौँ भन्ने विश्वास टिममा बएको छ’, स्पेनी प्रशिक्षक जोर्गे भिल्डाले भने, ‘हामीले सेमिफाइनलमा जुन विपक्षीको सामना गर्नेछौं, त्यो महिला फुटबलमा विश्वकै उत्कृष्ट टिममध्ये एक हो ।’

स्पेन र स्वीडेन अहिलेसम्म विश्वकपमा भेट भएका छैनन् । स्पेन सुरुको ६ विश्वकपमा छनोट नै भएको थिएन । तर गत अक्टोबरमा भएको स्वीडेनसँगको मैत्रीपूर्ण खेलमा स्पेनले १-१ को बराबरी खेलेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!