2026-08-23 07:26 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

बुबाले अधियाँ कमाएर हुर्काएका क्रिकेटर ‘भीम’

असोज १३, कञ्चनपुर | क्रिकेटर भीम सार्कीका बुबा वीरभानले कञ्चनपुरको भीमदत्त नगरपालिका–४ गोवरीयामा साहुजनको जमिन अधियाँमा लिएर साढे तीन दशक कमाए । 

दलित परिवार, त्यसमाथि जहान परिवारको जीविका चलाउन साढे तीन दशक अधियाँमा जमिन लिएका ५५ वर्षीय वीरभानले पछिल्लो दुई वर्षयता भने १५ कट्ठा जमिन भाडामा लिएर खेती गर्दै छन् । चार छोरा र एक छोरी अन्यको खेत कमाएर हुर्काएका वीरभानलाई अहिले माइला छोरा २२ वर्षीय भीम सार्कीले क्रिकेट खेलबाट नामसँगै दामसमेत दिलाएपछि सार्की परिवारको दैनिकी नै फेरिएको छ ।

‘क्रिकेट टिममा महत्वपूर्ण खेलाडी भए पनि हाम्रो परिवारको त उ (भीम) खम्बा नै हो ।’ बुबा वीरभानले खुसी व्यक्ति गर्दै भने, ‘खेलमा उसको प्रगति देखेर हामी परिवार नै खुसी छौँ ।’ तर परिवार पाल्न भाडामा जमिन लिएर छाक टार्नुपर्ने अवस्था यथावत रहेको उनको भनाइ छ ।

‘ऋण तिर्नदेखि जीविका चलाउनसम्म सङ्घर्ष त छ नै’, उनले भने, ‘तर क्रिकेटबाट छोराले दिएको खुसीले हाम्रो दुःख नै ओझेलमा प¥यो ।’ महेन्द्रनगरमा ऋण लिएर छ वर्ष अघि रिक्साको ‘डिलर’ सञ्चालनमा ल्याएका वीरभानलाई अहिले सोही व्यापारको ऋणले छोडेको छैन ।

‘अटो, ई–रिक्सा आएपछि साइकल रिक्सा विस्थापित हुँदा १५–२० लाख ऋणमा डुबे’, उनले भने, ‘ ९–१० लाख छोरा भीमले क्रिकेटबाट ल्याएको आम्दानीबाट तिर्‍याैँ ।’ 

कक्षा ५ पढ्दादेखि नै महेन्द्रनगरमा क्रिकेट पछ्याउन लागेका भीमले थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली टिमबाट खेलिसकेका छन् । यस पटक भने १९ औँ एसियन खेलकुदमा उनी टिममा परेनन् । थुप्रै अन्तर्राष्ट्रियस्तरमा समेत उत्कृष्ट प्रदर्शन गरिसकेका भीमले पाएका पदक र प्रमाणपत्र बुबा वीरभानले कोठाभरि सजाएर राखेका छन् ।

‘क्रिकेटमै राम्रो गरेकाले होला मलाई पनि अहिले पहिलो एसिया कप छनोट हुँदा काठमाडौँ बोलाएर क्रिकेट हेर्न विशिष्ट कक्षको टिकट दिएर मैदानसम्म पुर्‍यायाे’, उनले भने, ‘अझ पनि राम्रो गर्दै जाने छ भन्ने विश्वास छ, बाँकी भगवानको कृपा ।’ कक्षा ८ सम्म यहाँस्थित भृकुटी मावि पढेका भीमले प्रवेशिका परीक्षा (एसएलसी) सनराइज हाइयर सेकेण्ड्री स्कुलबाट गरे ।

‘सनराइजबाट भीम क्रिकेटमा राइज भयो’, बुबा वीरभानले भने, ‘स्कुल पढ्दै धेरै ठाउँमा खेल्न जान थालिसकेको थियो ।’ एउटा सामान्य दलित परिवारमा जन्मिएका भीमले क्रिकेटबाट भएको आम्दानीबाट दाजु विनोदलाई वैदेशिक रोजगारीका लागि मलेसिया र भाइ करनलाई दुवई पठाएका छन् ।

‘जमिन घरबासका लागि डेढ कट्ठा मात्रै छ’, उनेले भने, ‘क्रिकेटबाट भीमले परिवारकै ठूलो परिचय बनाइदियो ।’ परिवारको नेतृत्व गर्नसक्ने क्षमता पाएपछि भीमलाई नै परिवारले मुलीको जिम्मेवारी दिएर अघि बढेको छ । ‘ऋणदानदेखि आर्थिक हरहिसाब सबै भीमले नै सम्हालेको छ’, उनले भने, ‘काठमाडौँबाट प्रवीणता प्रमाणपत्र तह पास गरेपछि उतै नेपाली सेनाको त्रिभुवन आर्मी क्लबमा जागिरसमेत खान थाल्यो ।’

भीमले क्रिकेट सुरु गर्दा मैदान छेउमा उभिएर हेर्दा त्यो बेलाको सिनियर खेलाडी चन्द्र साउदले क्रिकेटमा भित्र्याएको वीरभानले बताए । ‘क्रिकेट हेर्न गएकाले बेला भीमलाई बाहिर गएको बल ल्याउन चन्द्रले भनेछन्, उनले भने, ‘त्यसपछि चन्द्रले क्रिकेट खेल्न आउन आग्रह गरेपछि भीमले भोलीपल्टैबाट क्रिकेटमा जोडिन थाले ।’

त्यसअघि भीमका दाजु विनाेद पनि क्रिकेट खेलाडी थिए । तर सल्लाहमै विनोद वैदेशिक रोजगारमा गएपछि भीम खेलतिर लागेका हुन् । ‘भीमले खेलमा गरेको मेहेनतले परिवारमा पनि सुखद्  परिवर्तन ल्याइदियो’, उनले भने, ‘कहिलेकाहीँ उसको टेलिभिजनमा खेल हेर्दा सपना जस्तै लाग्छ ।’

यसैगरी भीमका प्रशिक्षक वीरेन्द्र शाहीले आर्थिक स्थिति कमजोर अवस्थामा पनि भीमले क्रिकेटमा निकै मेहनत गरेको सम्झिन्छन् । ‘बुबाले रिक्साको डिलर सञ्चालनमा ल्याउँदा भीम दिनभर पसलमा बसेर साँझ क्रिकेट प्रशिक्षणमा आउथ्यो’, उनले भने, ‘अहिले क्रिकेटमा अवसर पाएसँगै आफ्नो प्रतिभा पनि देखायो ।’

बुबाको घाटाको व्यापारमा समेत क्रिकेटलाई निरन्तरता दिएका भीमलाई सनराइज स्कुले निकै सहयोग गरेको शाहीको भनाइ छ । दीपेन्द्रसिंह ऐरी, भीम सार्की, विनोद भण्डारी, सन्दीप जोराजस्ता खेलाडी भएका कञ्चनपुरको क्रिकेट पूर्वाधारको अवस्था नाजुक रहेको क्रिकेट सङ्घका केन्द्रीय सदस्य वीरेन्द्रबहादुर चन्दको भनाइ छ ।

‘सरकारले क्रिकेटका लागि यहाँ लगानी गरि दिन्न अरु कहाँबाट सहयोग मिल्ने हो खै’, उनले भने, ‘खेलाडी उत्पादनको उर्वरभूमि भए पनि राज्यले यहाँको खेलकुद क्षेत्रको विकासमा ध्यान दिएन ।’

पछिल्लो केही वर्षयता कवर्डहल परिसरमा क्रिकेट मैदान निर्माणका लागि केन्द्रबाट बजेट आइरहेको भए पनि आवश्यक बजेट नआउँदा काम कछुवा गतिमा छ ।

‘हरेक समय विभिन्नस्तरमा क्रिकेटका गतिविधि निरन्तर सञ्चालन भइरहेकै छन्’, उनले भने, ‘संरचना निर्माणमा सरकारले पनि जागरुकता देखाए प्रतिभावान् खेलाडी तयार गर्न कञ्चनपुर अग्रसर छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन गरिमा चौधरीलाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : केपी ओली पहिरो खसेपछि पासाङल्हामु सडक पूर्ण रूपमा अवरुद्ध अनुदानको मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ गरिमाको हत्यामा गृहमन्त्रीको स्पष्ट सन्देश: ‘दोषी उम्कनु हुँदैन, निर्दोष फस्नु हुँदैन’ मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध राष्ट्रियसभाबाट ‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’सर्वसम्मतिले स्वीकृत रास्वपामा तीन पदाधिकारीसहित ४२ केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनीत हुने साताको अन्तिम दिन घट्यो नेप्से शंखमुलको होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु गरिमालाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन प्रधानमन्त्री शाह काठमाडौँबाट पोखरातर्फ प्रस्थान राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ: प्रदीप पौडेल जाजरकोटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते सुनको मूल्य एकैदिन तोलामा ३ हजार ३०० रुपैयाँले बढ्यो