2026-07-27 11:32 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

विश्वकपमा आज : न्युजिल्यान्डलाई चुनौती दिँदै नेदरल्यान्ड्स

असोज २२, काठमाडौँ | आईसीसी एकदिवसीय विश्वकपमा सोमबारबाट दोस्रो चरणको खेल सुरु हुँदैछ । प्रतियोगितामा सहभागी १० वटै टोलीले एक—एक खेल खेलिसकेका छन् । सोमबारको खेलमा ‘लिग लिडर’ न्युजिल्यान्डले तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्द्वी नेदरल्यान्ड्सको सामना गर्दैछ ।

उक्त खेल हैदराबादस्थित राजिव गान्धी स्टेडियममा खेलिने छ । खेल नेपाली समयअनुसार, दिउँसो २ः१५ बजे सुरु हुनेछ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) द्वारा जारी पछिल्लो एकदिवसीय वरीयतामा टेस्ट राष्ट्र न्युजिल्यान्ड पाँचौँ स्थानमा छ ।

आईसीसीको एसोसिएट सदस्य नेदरल्यान्ड्स भने एकदिवसीय वरीयताको १४औँ स्थानमा छ । जारी विश्वकपमा उपाधिको दाबेदारमध्ये एक मानिएको न्युजिल्यान्डले आफ्नो पहिलो खेलमा साविक विजेता इङ्ल्यान्डलाई नौ विकेटको फराकिलो अन्तरले हराएको थियो । इङ्ल्यान्डले दिएको दुई सय ८३ रनको लक्ष्य न्युजिल्यान्डले ३६.२ ओभरमै केवल एक विकेट गुमाएर पुरा गरेको थियो । एकदिवसीय विश्वकपको साविक उपविजेता समेत रहेको न्युजिल्यान्डले आफ्नो पहिलो खेलमा उत्कृष्ट प्रदर्शन गरेको थियो ।

ओपनर ब्याट्सम्यान डेभोन कनवेले एक सय २१ बलमा तीन छक्का र १९ चौकाको मद्दतले अविजित एक सय ५२ रन बनाएका थिए । तेस्रो नम्बरमा क्रिज समाल्न आएका रचिन रविन्द्रले पनि केवल ९६ बलमा पाँच छक्का र ११ चौकाको मद्दतले अविजित एक सय २३ रन बनाएका थिए । जारी विश्वकपमा न्युजिल्यान्डको टोली निकै सन्तुलित देखिएको छ । न्युजिल्यान्डको बलिङ आक्रमण पनि धारिलो देखिएको छ । इङ्ल्यान्डविरुद्धको खेलमा किविज बलर म्याट हेनरीले तीन तथा मिचेल सान्टनर र ग्लेन फिलिप्सले दुई—दुई विकेट लिएका थिए । 

पहिलो संस्करणदेखि नै एकदिवसीय विश्वकप खेल्दै आएको न्युजिल्यान्डको यो १३ औँ सहभागिता हो । तर, न्युजिल्यान्डले हालसम्म विश्वकपको उपाधि भने जित्न सकेको छैन । सन् २०१५ को विश्वकपको फाइनलमा अस्ट्रेलियाले न्युजिल्यान्डलाई सात विकेटले हराएको थियो ।

त्यसलगत्तै न्युजिल्यान्ड सन् २०१९ को विश्वकपमा पनि फाइनलसम्म पुगेको थियो । त्यो विश्वकपको फाइनलमा इङ्ल्यान्डले न्युजिल्यान्डलाई ‘बाउन्ड्री काउन्ट ब्याक’ नियमका आधारमा पराजित गरेको थियो । यसपटक पनि न्युजिल्यान्डको सन्तुलित टोलीलाई उपाधिको दाबेदारका रुपमा हेरिएको छ ।

नेदरल्यान्ड्स भने आफ्नो पहिलो खेलमा पाकिस्तानसँग ८१ रनले पराजित भएको थियो । पाकिस्तानले दिएको दुई सय ८७ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्स ४१ ओभरमा दुई सय पाँच रन बनाउँदै अलआउट भएको थियो । 

तर, नेदरल्यान्ड्सले विश्वकपको पूर्वविजेता समेत रहेको पाकिस्तानलाई ब्याटिङ र बलिङ दुबैमा गतिलो चुनौति दिएको थियो । नेदरल्यान्ड्सका बास डी लिड्स, कोलिन एकरम्यान, आर्यन दत्त, लोगन भान बिक, पल भान मिकेरनजस्ता प्रभावशाली बलरहरुको लगातारको आक्रमणका कारण पाकिस्तान ४९ ओभरमै अलआउट भएको थियो ।

यसैगरी ब्याटिङमा पनि बास डी लिड्स, बिक्रमजित सिंह, लोगन भान बिकजस्ता क्षमतावान खेलाडीले अन्तिम समयसम्म पाकिस्तानलाई चुनौती दिएका थिए । त्यसैले नेदरल्यान्ड्स यो विश्वकपमा बलिया टोलीहरुको लागि निकै ठूलो टाउको दुःखाई बनेको छ ।  एकदिवसीय विश्वकपमा नेदरल्यान्ड्सको यो पाँचौँ सहभागिता हो । नेदरल्यान्ड्सले सन् १९९६ को विश्वकपमा पहिलो पटक सहभागिता जनाएको थियो । अन्तर्राष्ट्रिय क्रिकेटमा अनुभवका आधारमा भने नेदरल्यान्ड्सभन्दा न्युजिल्यान्ड निकै बलियो देखिन्छ । 

यसका अतिरिक्त तथ्याङ्कमा पनि न्युजिल्यान्डभन्दा नेदरल्यान्ड्स कमजोर देखिन्छ । हालसम्म न्युजिल्यान्ड र नेदरल्यान्ड्सबीच चारवटा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलिएको छ । ती चारवटै खेलमा न्युजिल्यान्ड विजयी भएको छ । 

न्युजिल्यान्डले नेदरल्यान्ड्सविरुद्धको तीनवटा घरेलु मैदानमा जितेको हो । एउटा खेलमा भने न्युजिल्यान्डले नेदरल्यान्ड्सलाई ‘न्यूट्रल भेन्यू’ मा हराएको थियो । पछिल्लो पटक सन् २०२२ को अप्रिल ४ मा यी दुई राष्ट्र आपसमा भिडेका थिए । त्यो खेल न्युजिल्यान्डले एक सय १५ रनले जितेको थियो । 

विश्वकपमा लागि घोषित न्युजिल्यान्डको टोलीमा केन विलियम्सन (कप्तान), मार्क च्यापम्यान, डेभोन कोनवे, ट्रेन्ट बोल्ट, म्याट हेनरी, टम लाथम, लोकी फर्गुसन, जेम्स निसाम, ग्लेन फिलिप्स, ड्यारल मिचेल, मिचेल सान्टनर, इश सोढी, राचिन रविभन्द्र, टिम साउथी र विल योङ रहेका छन् ।  घाइते भएका कारण नेदरल्यान्ड्सविरुद्घको खेलमा न्युजिल्यान्डका अनुभवी खेलाडी एवं कप्तान केन विलियम्सन उपस्थित हुने सम्भावना निकै कम देखिन्छ । टिम साउथी र लोकी फर्गुसन भने सोमबारको खेलमा मैदानमा ओर्लने सम्भावना छ ।  

यसैगरी नेदरल्यान्ड्सको टोलीमा स्कट एडवार्डस (कप्तान), कोलिन एकरम्यान, सारिज अहमद, वेस्ली बारेसी, लोगन भान बीक, आर्यन दत्त, साइब्रान्ड एङ्गलब्रेच्ट, रायन क्लेइन, बास डे लिडे, पल भान मिकेरन, रोएलोफ भान डेर, तेजा निदामानुरु, म्याक्स ओ’डड, विक्रम सिंह र साक्विब जुल्फिकर रहेका छन् ।

न्युजिल्यान्ड र नेदरल्यान्ड्सबीच सोमबारको खेल हुने हैदराबादस्थित रंगशाला ब्याट्सम्यानहरुलाई साथ दिने चरित्रको छ । त्यो रंगशालामा पहिलो ब्याटिङ गर्ने टोलीले औसतमा दुई सय ८८ रन बनाउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सभामुख अर्यालले बोलाए प्रमुख सचेतक र सचेतकको बैठक सांसदलाई स्वकीय सचिव दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा पोखरामा एक जना अमेरिकी नागरिकको मृत्यु ३३.२८ अंकले घट्यो सेयर बजार झडपमा परी घाइते भएका ९ जनाकै शरीरमा गोली जगेडा ग्यास नराख्न उद्योगीको आग्रह काठमाडौँ उपत्यकासहित २३ जिल्लामा आकस्मिक बाढीको जोखिम नागढुंगा सुरुङमार्ग उद्घाटन गरिँदै सुन–चाँदीको मूल्य बढ्यो दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीको गोली लागेर १ युवाको मृत्यु मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ