अन्ततः निर्माण हुने भो गौतम बुद्ध क्रिकेट रंगशाला

Posted on: 07 Nov, 2023

कार्तिक २१, काठमाडौँ | अलपत्र परेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला अन्ततः निर्माण हुने भएको छ । मंगलबार बागतमी प्रदेश मुख्यमन्त्री कार्यालयमा भरतपुर महानगर र बागमती प्रदेश सरकारबीच रंगशाला निर्माणका लागि लगानी गर्ने सहमति जुटेको हो। 

यसअघि कलाकार सीताराम कट्टेलको धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण सुरु गरे पनि रकम अभावका कारण रोकिएको चितवनस्थित गौतम बुद्ध क्रिकेट रंगशाला निर्माणका लागि बागतमी प्रदेश सरकार र भरतपुर महानगरले लगानी गर्ने भएका हुन्।


भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी, प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र कुमार रानासहितको टोलीले वागमती प्रदेश सरकारसँग गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको अधुरो कार्य अगाडि बढाउने विषयमा छलफल गरेको छ ।

वागमती प्रदेश सरकार तथा मुख्यमन्त्री कार्यालय हेटौडाँमा मंगलबार मुख्यमन्त्री शालिकराम जमरकट्टेल, सामाजिक विकास मन्त्री कुमारी मोक्तान तथा आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिंह लामासहितको टोलीसँग छलफल गरेको हो ।

भरतपुर भ्रमण वर्ष २०२४, समग्र भरतपुरको विकासका बारेमा छलफल गर्न महानगर प्रमुख दाहालको नेतृत्वको टोली हेटौडाँ पुगेको हो । नयाँ सहमति अनुसार अब निर्माण गर्दा लाग्ने खर्चको ७० प्रतिशत बागमति प्रदेश सरकारले व्यहोर्ने र ३० प्रतिशत खर्च भरतपर महानगरपालिकाले व्यहोर्ने समझदारी पत्रमा हस्ताक्षर  भएको छ । तर, यसअघि रंगशालाको नाउँमा रहेको ऋणका बारेमा केन्द्र सरकारले नै निर्णय गर्ने पनि सहमति भएको छ ।

प्रदेश सरकारले चालू आर्थिक वर्षमा उक्त रंगशाला निर्माणको लागि ५ करोड बजेट आर्थिक मामिलामन्त्री बहादुरसिंह लामाले बताए। रंगशाला निर्माणका लागि ५७ करोड रुपैयाँ बराबरको काम सम्पन्न भइसकेको छ। रंगशाला निर्माणमा करिब ७५ करोड रुपैयाँ लाग्ने अनुमान महानगरको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!