२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

माछा बेचेर वार्षिक डेढ करोड आम्दानी

२०८२, १२ जेष्ठ आईतवार १२:४६

काठमाडौँ | चितवनको खैरहनी नगरपालिका–१२ चिसाहानीका हरि अर्यालले १३ वर्षअघि माछापालन सुरु गर्नुभयो । साथीभाइले माछापालन गरेको देखेर उहाँले पाँच कठ्ठा जमिनमा पोखरी खनेर माछापालन सुरु गर्नुभएको हो ।

सुरुआती कठिनाइका बाबजुद, अर्यालले माछापालनलाई व्यावसायिक रुपमा विस्तार गर्नुभयो । पछि राम्रो हुँदै गएपछि उहाँले २०७३ सालमा चार बिघा जमिन थपेर ६ प्रजातिका माछापालन गर्न थाल्नुभयो । अहिले, चार बिघा जमिनको जलासयमा माछा छन् । उहाँले वार्षिक रु एक करोड ५० लाखको माछा बिक्री गर्नुहुन्छ । खर्च कटाएर रु ७० लाख बढी नाफा हुने गरेको अर्यालले बताउनुभयो ।

“वार्षिक रु ६० लाख जति दानामा खर्च हुन्छ, विद्युत् लगायतका अन्य क्षेत्रमा खर्च हुन्छ”, उहाँले भन्नुभयो, “रु वार्षिक ७० लाख त कम्तीमा बचत हुन्छ ।” उहाँको फर्ममा वार्षिक दुई सय टनभन्दा बढी माछा उत्पादन हुन्छ । यतिखेर १० टन माछा बजार लैजाने तयारी छ ।

अर्यालले माछापालनमा आधुनिक प्रविधिको प्रयोग गर्दै उत्पादन र बिक्रीमा ध्यान दिनुभएको छ । उहाँले उत्पादन गरेका माछा चितवनसहित काठमाडौँ, पोखरा, बुटवललगायत सहरमा बिक्रीका लागि लैजाने गरिन्छ । माछापालनले अर्यालको जीवनस्तरमा महत्वपूर्ण सुधार ल्याएको छ । उहाँले आफ्नो आम्दानीबाट थप जमिन किनेर, घर बनाउनुभएको छ भने गाडी किन्ने योजनामा हुनुहुन्छ ।

माछापालन व्यवसायबाट नै अर्यालले तीन छोराछोरीलाई चितवनको प्रतिष्ठित बोर्डिङ स्कुलमा पढाइरहनुभएको छ । उहाँले आफ्नो फर्ममा ६ जनालाई रोजगारी दिनुभएको छ । आगामी दिनमा माछापालन व्यवसायलाई एग्रो टुरिजममा विस्तार गर्ने योजना रहेको उहाँ बताउनुहुन्छ । “पोल्ट्री क्षेत्रमा हात हालेको छु । त्यसबाट राम्रो आम्दानी हुन सकेन”, अर्यालले भन्नुभयो, “यतिबेला कागती खेतीमा पनि लगानी गरेको छु, यसलाई एग्रो टुरिजममा लैजाने योजना छ ।”

श्रीमान्–श्रीमती नै माछापालनमा खटिनुहुन्छ । उहाँले माछापालनमा रुची राख्ने अन्य कृषकलाई प्रशिक्षण र सल्लाह प्रदान गर्दै आउनुभएको छ । ४५ वर्षीय अर्याल माछापालनमा त्यतिकै लाग्नुभएको होइन । पैसा कमाउन सन् २००५ मा मलेसिया पुग्नुभएका उहाँ २४ महिना बस्नुभयो । त्यतिखेर नेपालमै केही गर्ने सोचका साथ राम्रै पैसा कमाएर स्वदेश फर्किनुभएका अर्याल यहाँ भने जस्तो नभएपछि फेरि सन् २००८ मा फेरि युनाइटेड अरब इमिरेट्स (युएई) को दुबई जानुभयो ।

दुई वर्ष दुबई बसेर फर्किनुभएका अर्याल परम्परागत खेतीपाती मै लाग्नुभएको थियो । पछि भरतपुरको बजार क्षेत्रमा माछापालन गरेको देख्नुभयो । यसबाट फाइदा हुने पाएपछि माछापालन गर्न थाल्नुभएको हो । माछापालन गर्दा सुरुवाती दिनमा धेरै दुःख पाएको उहाँसँग अनुभव छ ।

“एक कठ्ठामा माछा कति राख्ने, कसरी राख्ने केही ज्ञान थिएन, अन्धाधुन्ध नै माछापालन गर्न थालियो”, उहाँले भन्नुभयो, “सुरुमा व्यापारीले ठगे । दुई तीन वर्ष घाटा नै भयो ।” पछि माछापालनसम्बन्धी बुझ्दै गएपछि सहज भएको उहाँको भनाइ छ । सुरुआती दिनमा अर्यालले बङ्गलादेशबाट माछाका भुरा ल्याएर माछापालन गर्न थाल्नुभएको थियो । त्यतिखेर भारतिय बाटो हुँदै लुकाइछिपाइ गरेर भुरा ल्याउनुपर्ने बाध्यता रहेको उहाँले सुनाउनुभयो । अहिले भने चितवनमै सरकारीस्तरबाट माछाका भुरा उत्पादन हुँदा माछापालन गर्न सहज भएको उहाँले बताउनुभयो । अर्याल पछिल्लो अधिकांश किसानका लागि प्रेणाका स्रोत बनिरहनुभएको छ ।

माछापोखरीमा आर्यालले रु दुई करोड लगानी गर्नुभएको छ । सात पोखरीमा माछा छन् । सुरुमा पोखरी खन्दा नै रु एक करोड खर्च लागेको उहाँले बताउनुभयो । जग्गा भाडामा लिएर माछापालन गर्नुभएका अर्यालको २८ कठ्ठा जमिन आफ्नै हो । अहिले चितवनमा पन्ध्र सयभन्दा बढी किसान माछापालनमा लागेका छन् । नेपालमा माछापालनमा राम्रो सम्भावना रहेको उहाँको भनाइ छ ।

“विदेश जानुभन्दा, यहाँ नै उत्पादनमूलक काम गरेर राम्रो आम्दानी गर्न सकिन्छ”, उहाँले भन्नुभयो ।

राज्यले दाना र बिजुलीमा छुट दिएमा नेपाली माछापालन किसान अगाडि बढ्न सक्ने उहाँले बताउनुभयो । “माछापालनमा राम्रो आम्दानी छ तर राज्यले हेर्ने नजर गलत छ”, अर्यालले भन्नुभयो, “देश धनी बनाउने हो भने युवालाई रोकेर कृषिमा लगानी गर्न जरुरी छ ।”

उहाँले भारतबाट अवैध रुपमा माछाको आयात नरोकिदा नेपाली किसान मारमा पर्दै आएको गुनासो गर्नुभयो । “भारतका माछालाई व्यवस्थापन गर्न सके नेपालमा उत्पादन भएका माछाले सहजै बजार पाउँछन्”, उहाँले भन्नुभयो, “राज्यले ठोस योजना बनाएर अवैध कारोबार रोक्नुपर्छ ।’ माछा व्यवसायी सङ्घ चितवनका उपाध्यक्षसमेत रहनुभएका अर्यालले सङ्घकै नेतृत्वमा अवैध माछा नियन्त्रण गरेर नष्ट गर्ने अभियान चलाए पनि सार्थकता पाउन नसकेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने