काठमाडौँ | नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पूर्वराष्ट्रपति वा उपराष्ट्रपति राजनीतिमा पुनः फर्किने कार्य उपयुक्त नभएको बताएका छन्। माओवादी केन्द्रले दुई पटक पूर्वउपराष्ट्रपति भइसकेका नन्दकिशोर पुन ‘पासाङ’लाई उपाध्यक्ष पदमा मनोनीत गरेपछि मंगलबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले त्यसको विरोध गरेका हुन्।
माओवादी केन्द्रको पदाधिकारी बैठकले पुनलाई केन्द्रीय सदस्य, स्थायी कमिटी हुँदै उपाध्यक्ष पदमा मनोनीत गरेको थियो। उनी माओवादी केन्द्रको बैठकमा सहभागी हुन थालेपछि नै पार्टीभित्र र बाहिर आलोचना चलिरहेको छ। राष्ट्रपति वा उपराष्ट्रपतिको पद सक्रिय राजनीति भन्दा बाहिर हुने भएकाले यसलाई सम्मान गर्नुपर्ने नेपालले बताए। पूर्वराष्ट्रपति वा उपराष्ट्रपति राजनीतिमा पुनः फर्किए राज्यले दिने सुविधा कटौती गर्नुपर्ने उनको भनाई छ। उनले राष्ट्रपति भएपछि राजनीतिबाट बिदा हुनुपर्ने भएकाले आफूले यसअघि पद स्वीकार नगरेको जिकिर गरे।
उनले भारतले राजसंस्था पुनर्स्थापनामा आफ्नो कुनै संलग्नता नभएको बताएको उल्लेख गर्दै उत्तर प्रदेशका मुख्यमन्त्रीले पनि खण्डन गर्नुपर्ने बताए। अध्यक्ष नेपालले हराएर गएको राजतन्त्र कुनै हालतमा नफर्किने भन्दै राणा शासन पनि फर्किन्छ र ? भन्दै प्रश्न गरे। अध्यक्ष नेपालले विगत १० वर्षको संविधान कार्यान्वयनको समीक्षा गर्दै आवश्यक संशोधन गर्दा उपयुक्त हुने समेत उल्लेख गरे।