काठमाडौँ | शिक्षा ऐन जारी गर्न माग गर्दै काठमाडौँ केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरूले दिउँसै टर्च बालेर सरकारको सांकेतिक विरोध गरेका छन् ।बानेश्वर–बबरमहल सडक खण्डमा भेला भएका शिक्षकहरूले मोबाइलको टर्च बालेर प्रदर्शन गरेका हुन् । उनीहरूले छिटो शिक्षा ऐन जारी गर्न माग गर्दै नाराबाजीसमेत गरेका थिए ।
सुरक्षाका लागि बाक्लो संख्यामा प्रहरीहरू परिचालन गरिएको छ । उनीहरूको प्रदर्शनका कारण बानेश्वर–बबरमहल खण्डमा सवारी आवागमन प्रभावित भएको छ ।गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै महासंघको नेतृत्वमा देशभरका शिक्षकहरू आन्दोलनमा छन् । यसैक्रममा उनीहरूले चैत २० गतेदेखि काठमाडौंमा प्रदर्शन गर्दै आएका छन् । उनीहरूले यसलाई शिक्षा ऐन जारी गराउने सवालमा ‘अन्तिम र निर्णायक आन्दोलन’ भनेका छन् ।
काठमाडौँ केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरूले चैत २५ गतेदेखि आम शैक्षिक हड्ताल घोषणा गरेका छन् ।शिक्षकहरूको आन्दोलनले एसइई परीक्षाको उत्तर पुस्तीका परीक्षण समेत प्रभावित हुँदा नतिजा प्रकाशनमा ढिलाइ हुने चिन्ता छ ।
शिक्षकहरूले यसअघि कालो पट्टी बाँधेर, सिट्ठी फुकेर, मौन भएर, सडकमै सुतेर पनि प्रदर्शन गरेका थिए । आज उनीहरूले मोबाइल र हेड ल्याम्प प्रयोग गरेर सरकारको ध्यानाकर्षण गराउने प्रयास गरेका छन् ।