काठमाडौँ | राष्ट्रिय प्रजानन्त्र पार्टी (राप्रपा) सहितका राजावादी कार्यकर्ताहरु उश्रृंखल भएका छन् । बिजुलीबजारमा भेला भएका राजावादीहरूले निषेधित क्षेत्र तोड्नका लागि आक्रामक भएका छन् । उनीहरु मर्नदेखि नडराउने भन्दै आक्रामक प्रदर्शन गरिरहेका छन् । उनीहरुले सरकारसँगै पत्रकारलाईसमेत गाली गरिरहेका छन् । उनीहरुले ‘झोले पत्रकारलाई कारबाही गर्नुपर्छ’ भनी सबै पत्रकारलाई गाली गरेका हुन् ।
उनीहरुले आफूहरुको पक्षमा मात्र समाचार लेख्नसमेत पत्रकारलाई भनेका छन् । राजावादीहरुले भ्रष्टाचारको विरोध गर्ने भन्दै भ्रष्टाचारको घेरा तोडेरै छाड्ने दाबीसमेत गरिरहेका छन् । सो क्रममा उनीहरुले प्रहरीलाई पनि गाली गरिरहेका छन् । सरकारलाई नभइ आफूहरुलाई सलाम ठोक्नुपर्नेसमेत भनी प्रहरीको अपमान गरेका हुन् ।
गणतन्त्रवादी सबैलाई उनीहरुले कारबाही गर्नुपर्ने बताए । उश्रृंखल नारा लगाउने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि अपमानजनक शब्दहरुकोसमेत प्रयोग गरिएको छ । उनीहरुले राजतन्त्र पुनःस्थापनाको माग गर्दै प्रदर्शन गरेका हुन् । तर एउटै ठाउँमा धेरै जम्मा हुनुको सट्टा विभिन्न निषेधित क्षेत्रमा भेला भएर निषेधित क्षेत्र तोड्ने प्रयास गरिरहेका हुन् । उनीहरुले आफ्ना पक्राउ परेका नेता रिहाइ गर्न माग गर्ने क्रममा प्रहरीमाथि दुर्व्यवहारसमेत गरिरहेका छन् । प्रहरीले संयमित हुन भन्दै बारम्बार माइकिङ गरिरहेको छ ।