काठमाडौँ | काङ्ग्रेस सभापति शेरबहादुर देउवा सपरिवार बैंकक प्रस्थान गरेका छन् । नियमति स्वास्थ्योपचारका लागि देउवा बैंकक गएका हुन् । सभापति देउवासँग परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा, छोरा जयवीर देउवा, बुहारी शिवना श्रेष्ठ र प्रमुख स्वकीय सचिव भानुवा देउवा पनि रहेका छन् । काङ्ग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले सभापति देउवा उपचारको क्रममा सपरिवार बैंकक प्रस्थान गरेको बताए । ‘सभापतिजी, परराष्ट्रमन्त्री आरजु, स्वकीय सचिव भानु देउवा, छोरा-बुहारीसहित परिवार नै जानुभएको हो,’ पौडेलले भने, ‘यस अघि पनि उहाँको स्वास्थ्य परीक्षण बैंककमा भएको थियो । ’
परराष्ट्रमन्त्री राणा भने संयुक्त राष्ट्रसंघीय एशिया तथा प्रशान्त क्षेत्री आर्थिक तथा सामाजिक आयोग युएनस्केपको बैठकमा सहभागी हुने बताइएको छ । नेपाल हाल युएनस्केपको अध्यक्ष रहेकाले मन्त्री डा राणाले उक्त आयोगको ८१औँ सत्रको अध्यक्षता गर्नेछिन् । सत्रलाई मन्त्री राणाले नेपालका तर्फबाट सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
एसिया तथा प्रशान्त क्षेत्रमा दिगो सहरी विकासका लागि क्षेत्रीय सहयोग विषयमा उनले बोल्ने बताइएको छ । सो सत्रमा मन्त्री राणाको नेतृत्वमा परराष्ट्र मन्त्रालय, राष्ट्रिय योजना आयोग र थाइल्याण्डस्थित नेपाली दूतावासका अधिकारीहरू सम्मिलित नेपाली प्रतिनिधिमण्डल सहभागी हुनेछन् ।