काठमाडौँ | राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री धवलशमशेर राणाले परिवर्तन पक्षधरहरू एक ठाउँमा उभिनुपर्ने बताएका छन्। २४ दिनको हिरासत बसाइपछि आइतबार छुटेका उनले बुधबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै परिवर्तन पक्षधरहरू एक ठाउँमा उभिनुपर्ने बताएका हुन्।
चैत्र १५ गते तीनकुने घटनापछि उनी पक्राउ परेका थिए। उनलाई राज्यविरुद्धको कसुर लगाइएको छ। उनको स्वास्थ्य अवस्थालाई मध्येनजर गर्दै हाजिरी जवानीमा सरकारले छाडेको थियो। राणाले उपचारका लागि आफू बुधबार नै भारत जान लागेको र उपचार गरेर फर्किएपछि गर्नुपर्ने धेरै काम रहेको बताएका छन्।
‘उपचारको क्रममा फ्लोअपको निमित्त आज भारततर्फ प्रस्थान गर्दैछु। उपचार सकि फर्किएपछि गर्नुपर्ने धेरै कामहरु छन्, त्यो निश्चय पनि अघि बढ्नेछ’, उनले भनेका छन्, ‘अहिले यति मात्र भन्छु, राष्ट्रियताको संरक्षण, प्रजातन्त्रको सुदृढीकरण, सुशासन, धर्म, संस्कृति पहिचानको रक्षा, आर्थिक समृद्धिको निमित्त अब सम्पूर्ण राष्ट्रवादी, हिन्दुवादी ,राजावादी, प्रजातन्त्रवादी र परिवर्तन पक्षधरहरु एक ठाउँमा उभिनु पर्दछ।’राणाले राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलगायतलाई बिनाशर्त अबिलम्ब रिहाइका लागि माग गरेका छन्।