२०८२, ११ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्वतन्त्र र निष्पक्ष पत्रकारिता बिना लोकतन्त्रको कल्पना गर्न सकिन्नः राष्ट्रपति

२०८२, २४ बैशाख बुधबार १७:५१

काठमाडौँ | राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको राजनीतिक, सामाजिक, सांस्कृतिकलगायतका हरेक परिवर्तनहरूमा नेपाली पत्रकारिता जगत्को भूमिका उल्लेखनीय रहेको बताउनुभएको छ ।

राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले आज आयोजना गरेको वरिष्ठ पत्रकार सम्मान तथा राष्ट्रिय पत्रकारिता पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पत्रकारिता परिवर्तनको वाहक र राष्ट्र निर्माणको सशक्त तथा प्रभावकारी माध्यम भएको बताउनुभयो ।

राष्ट्रपति पौडेलले स्वतन्त्र, निष्पक्ष र तटस्थ पत्रकारिताका लागि लोकतन्त्र अनिवार्य शर्त भएकाले पत्रकारिता विना लोकतन्त्रको कल्पना गर्न नसकिने स्पष्ट पार्नुभयो ।

“त्यही भएर हाम्रो संविधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूत गरेको हो, संविधानको यो मर्म र भावनाअनुसार पत्रकारलाई निर्भय र स्वतन्त्रतापूर्वक समाचार सम्प्रेषण गर्ने वातावरण निर्माण गर्नु राज्यको दायित्व हो”, उहाँले भन्नुभयो, “त्यसैगरी सत्यतथ्य समाचार सम्प्रेषण गरेर जनतालाई सुसूचित गर्ने जिम्मेवार प्रेसको धर्म हो, यसतर्फ नेपाली प्रेस सदैव सजग र चनाखो हुनेनै छ भन्ने मैले विश्वास लिएको छु ।”

राष्ट्रपति पौडेलले समाचार लेखेकै आधारमा पत्रकार असुरक्षित हुनुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताउँदै सुरक्षित र जोखिममुक्त वातावरणमा समाचार सङ्कलन र सम्प्रेषण गर्ने अवस्थाको सुनिश्चितातर्फ सबैको ध्यान जान आवश्यक रहेको बताउनुभयो ।

उहाँले सूचना प्रविधिको विकाससँगै बढ्दो सामाजिक सञ्जाल र नागरिक पत्रकारिताको प्रयोगले आधारहीन र मिथ्या सूचना सम्प्रेषणबाट जनतालाई दिग्भ्रमित पार्नसक्ने खतराको सामना गर्नु वर्तमान आम सञ्चारमाध्यमको चुनौती भएकाले यस्ता चुनौतीको सामना गर्न नेपाली प्रेस सक्षम हुने विश्वास व्यक्त गर्नुभयो ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई अझै बलियो बनाउँदै जनताले अपेक्षा गरेको सुशासन, विकास र आर्थिक समृद्धिको युगानुकूल चाहनालाई पूरा गर्ने अभियानमा नेपाली प्रेसले अझ प्रभावकारी ढङ्गले काम गर्नेमा आफू विश्वस्त रहेको राष्ट्रपति पौडेलको भनाइ थियो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले पत्रकारितालाई व्यवस्थित र मर्यादित बनाउन आवश्यक कानुन बनाउने र परिमार्जन गर्ने कार्य सरकारबाट भइरहेको जानकारी दिनुभयो । “कानुनी हिसाबले पनि सङ्क्रमणकालीन अवस्था नै छ, कानुन बनाउने क्रम जारी छ”, मन्त्री गुरुङले भन्नुभयो, “पत्रकारिता पेसालाई थप व्यवस्थित र मर्यादित बनाउन जरुरी छ ।”

नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले पत्रकारिता क्षेत्रमा आर्थिक सङ्कटका साथै व्यावसायिक चुनौती बढ्दै गएको र पत्रकारको पेसागत तथा भौतिक सुरक्षामा राज्यले ध्यान दिनुपर्ने बताउनुभयो ।

नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष विपुल पोखरेलले नेपाली प्रेसले संसारकै सक्षम र दक्ष पत्रकार उत्पादन गर्नुपर्ने, त्यसका लागि सूचना प्रविधिको प्रयोगसँगै पत्रकारितालाई अझ व्यवस्थित र मर्यादित बनाउनुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा पत्रकार महासङ्घका पूर्वअध्यक्ष विपुल पोखरेल र प्रेस चौतारी नेपालका पूर्व अध्यक्ष गणेश बस्नेतलाई वरिष्ठ पत्रकार सम्मान–२०८१ प्रदान गरियो । राष्ट्रिय पत्रकारिता पुरस्कार २०८१ विमल गौतम (बाग्लुङ), दीपेन्द्र श्रेष्ठ (कास्की), लोग्शरी कुँवर (कैलाली), दीपेन्द्र बान्तवा (सङ्खुवासभा), डिल्लीराम खतिवडा (उदयपुर) र सागर पण्डित (तनहुँ) लाई प्रदान गरिएको थियो ।

राष्ट्रपति रामचन्द्र पौडेलले उक्त पुरस्कार प्रदान गर्नुभएको थियो । वरिष्ठ पत्रकार सम्मान–२०८१ को राशि रु दुई लाख र राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८१ रु एक लाख राशि रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
१०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर