२७ मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

देश बनाउन दलका नेताहरुले कार्यशैली र सोंच परिवर्तन गर्न सक्नुपर्छ: थकाली

३१ जेष्ठ २०८२, शुक्रबार १४:५१

काठमाडौँ । नेपाली कांग्रेसका युवा नेता योगेश गौचन थकाली प्रतिनिधिसभा सदस्य हुनुहुन्छ । मुस्ताङ जिल्लाबाट निर्वाचित थकाली विसं २०५० वैशाख २७ गते मुस्ताङको थासाङ गाउँपालिका लेतेमा जन्मिनुभएको हो । सांसद थकालीले जिल्लामा नेपाल विद्यार्थी सङ्घबाट राजनीतिक यात्रा सुरु गर्नुभएको हो ।

सांसदका रुपमा अहिलेसम्म तपाईंको अनुभव कस्तो रह्यो ?

मेरो पारिवारिक पृष्ठभूमि राजनीतिक हो । जनताको सार्वभौम सदनमा जुन सोच राखेर आएको थिए, त्यो पूरा भएको जस्तो लागेको छैन । सदनमा जनप्रतिनिधिले जनताका विषयलाई राखिसकेपछि कम्तीमा सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक सरकारले सुन्छ र कार्यान्वयन गर्छ होला भन्ने थियो । तर, मलाई त्यस्तो लागेन । हामी जनताप्रति उत्तरदायी हुनुपर्नेमा तर दलप्रति उत्तरदायी भएका छौँ । दलको ह्वीपअनुसार चेलेका छौँ भन्ने लाग्छ । दलको ह्वीपले सांसदको सामूहिक प्रतिबद्धतामा प्रभाव पारेको छ ।

सदनमा उठेका सवाललाई सरकारले कत्तिको कार्यान्वयन गरेको पाउनुभएको छ ?

मैले नकारात्मक कुरा गर्न खोजेको होइन । तर, नेताले सदनमा उठाएका जनताका सवालको विरलै कार्यान्वयन हुने गरेको पाएको छु । यसको अर्थ केही पनि भएको छैन भन्ने पनि होइन । तर, सरकारले जति गर्नुपर्ने हो, त्यति गर्न सकेको छैन ।

संविधान कार्यान्वयनको अवस्थालाई कसरी विश्लेषण गर्नुभएको छ ?

संविधान कार्यान्वयनमा आएको एक दशक भइसकेको छ । तर, पूर्ण रुपमा कार्यान्वयन हुन सकेको छैन । संविधानअनुसार प्रदेश र स्थानीय तहलाई अधिकार सम्पन्न बनाउनुपर्ने हुन सकेको छैन । त्योअनुसार प्रदेश र स्थानीय तहसम्म सम्बन्धित कानुन बन्न सकेको छैन । प्रहरी समायोजन, निजामती र शिक्षालगायत करिब ५२ वटा कानुन बनाउनुपर्ने अझै हुन सकेको छैन ।

संविधानको पूर्ण कार्यान्वयन हुन नसक्नुका कारण के होला ?

अहिले दुई प्रतिस्पर्धी ठूला दलको सरकार छ । यस प्रकारको गठबन्धन विरलै हुन्छ । यो सरकारलाई कार्यसम्पादनमा सजिलो छ । तर, यस्तो बेलामा पनि वर्तमान सरकारले सही ढङ्गबाट काम गर्न सकेको छैन । संविधानको पुनरावलोकन र सङ्घीयता सवलीकरणका विषयमा सरकारको ध्यान जान सकेको छैन । राज्य सञ्चालनमा मुख्य गरी शीर्ष नेताहरुको केन्द्रिकृत मानसिकता हावी भएको जस्तो लाग्छ ।

संविधान संशोधनका विषयमा तपाईंको धारणा के छ ?

हामीले संविधानमा उल्लेख अधिकारको पूर्ण रुपमा उपयोग गर्न नपाउँदै संविधान संशोधनको विषय आउनु हुँदैन थियो । यद्यपि हामी विकेन्द्रिकृत शासन प्रणालीमा छौँ । अहिले तीन तहको सरकार छ । सोहीअनुरुप हामीले ती सरकारलाई अधिकार सम्पन्न बनाउन सकेका छैनौँ । अभ्यास नै नगरी यसलाई संशोधन गर्नुपर्छ भन्ने पक्षमा म छैन । संविधानको अल्पायुमै संशोधान गर्नुपर्छ भन्नु उपयुक्त हुँदैन । निर्वाचन प्रणाली र शासकीयस्वरुपमा संशोधन गर्नुपर्ने हुनसक्छ, तर अझै संशोधन गर्नेबेला आएको छैन ।

संविधान संशोधन कसरी गर्नुपर्छ होला ?

सबैभन्दा पहिला हामीले सुनिश्चित गरेको संवैधानिक अधिकारको कार्यान्वयन भएको छ कि छैन भन्नेबारेमा हामिले समीक्षा गर्नुपर्छ । कानुनको कार्यान्वयन गर्ने क्रममा देखिएका कमिकमजोरीलाई सच्याउँदै जानुपर्छ । त्यसकारण पहिला भएका कानुनको कार्यान्वयन भए नभएकाबारे समीक्षा गर्नुपर्छ ।

सङ्घीय संरचनालाई अझै बलियो र सुदृढ बनाउन के गर्न सकिन्छ होला ?

संविधानले परिकल्पना गरेअनुसार प्रदेश र स्थानीय तहलाई पूर्ण रुपमा अधिकार सम्पन्न बनाउनुपर्छ । कानुनअनुसार तल्लो तहका सरकारलाई अधिकार सम्पन्न बनाउनुपर्छ । यद्यपि, स्थानीय सरकारलाई केही अधिकार सम्पन्न बनाइएको छ । तर, प्रदेश र स्थाीय सरकारलाई स्रोत सम्पन्न बनाउनुपर्ने छ । हामीले संविधानमै प्रतिनिधिसभा र प्रदेशसभाले चाहेका खण्डमा सभा विघटन गर्न सक्छ ।  तर स्थानीय सरकारको हकमा त्यो हुँदैन । प्रदेश सरकारको हकमा हामीले जुन उद्देश्यलेअनुसार काम गर्नुपर्ने हो, त्योअनुसार काम हुन सकेको छैन ।

देशमा युवाको अवस्थालाई कसरी हेर्नुभएको छ ?

अहिले दैनिक २२ सयको हाराहारीमा नेपालका युवायुवती देश छाडिरहेको तथ्याङ्क छ । यसैलाई आधार मान्ने हो भने नेपालका ७५३ स्थानीय तहमध्ये आठ वटा पालिकाको जनसङ्ख्या आठ हजारभन्दा कम छ । दैनिक दुई हजार २०० जनाले देश छोडेर जाने हो भने मनाङ जिल्ला दुई दिनमै रित्तिन्छ । मेरो मुस्ताङ जिल्ला सात दिनमा रित्तिन्छ । अबका नयाँ पुस्ताले देशमा सम्भावन नदेख्नु भनेको देशका लागि गम्भीर कुरा हो ।

युवा पलायन रोक्न के गर्न सकिन्छ होला ?

यथास्थिति र परम्परागत ढङ्गले युवा पलायन रोकिने अवस्था छैन । अब सरकार र दलका नेताले भाषण मात्रै गरेर नहुने बेला आएको छ । काममै केन्द्रित हुनुपर्ने बेला आएको छ । युवा पलायन रोक्ने हो भने यथास्थितिलाई निरन्तरता दिनेभन्दा पनि सरकारले नयाँ ढङ्गले योजना बनाउनुपर्छ । सरकारको नीति तथा कार्यक्रम र बजेट पनि परम्परागत ढङ्गले ल्याएर हुँदैन । बजेट परिणाममुखी हुन सकेन भने रातो किताबमा कर्णप्रिय शब्द राखेर मात्रै हुँदैन । समग्रमा देशले आर्थिक वृद्धिलाई जोड दिनुपर्छ ।

देशलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउन के गर्नुपर्छ होला ?

अहिले कूल गार्हस्थ उत्पादनको तीन प्रतिशत निर्यात गरेर सरकारले बजेट ल्याएको छ । आगाामी २०८२/८३ मा छप्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य राखिएको छ । तर, यथास्थितिवादी कार्यसम्पादनबाट यो लक्ष्य हासिल हुन्छ जस्तो मलाई लाग्दैन ।   हाम्रो दीर्घकालीन औषत साढे ४ प्रतिशत हासिल गर्न कठिन भइरहेको छ । साढे ६ प्रतिशत हासिल गर्ने कुरा असम्भव कुरा हो । त्यसकारण देशलाई आर्थिक रुपमा बलियो बनाउने हो भने देसलाई विश्व बजारसँग जोड्न सक्नुपर्छ । त्यहीअनुसारको जनशक्ति उत्पादन गर्नुपर्छ । विश्वको अर्थतन्त्रसँग जोडिने अर्थनीति बनाउनुपर्छ । त्यसका लागि एउटा मात्रै उपाय भनेको युवाको क्षमता अभिवृद्धि गर्ने हो ।

नेपालको शिक्षा नीतिलाई अझै सुधार गर्न के गर्न सकिन्छ होला ?

परम्परावादी अहिलेको शिक्षा नीतिले शिक्षामा विकास हुन सक्दैन । हामीलाई रोजागारसँग जोड्ने शिक्षा नीति चाहिएको छ । विज्ञान, प्रविधि, इञ्जिनियरिङका क्षेत्रमा हामीलाई जनशक्ति चाहिएको छ । सोहीअनुसारको शिक्षा प्रणालीको विकास गर्नुपर्छ । अहिलेको शिक्षा नीति भनेको परीक्षा पास गर्नेमै सीमित छ । यदि नेपालको शिक्षा प्रणालीलाई सुधार गर्ने हो भने शिक्षा प्रणालीमा क्रमभङ्गता गर्न सक्नुपर्छ ।

राजनीतिक दललाई तपाईंको सुझाव के छ ?

अब राजनीतिक दलहरु समयानुकूल परिवर्तन हुन सक्नुपर्छ । देश समृद्ध बनाउन दलहरुमा सुधार जरुरी छ । मुलुक बनाउन दलका नेताहरुले आफ्नो कार्यशैली र सोच परिवर्तन गर्न सक्नुपर्छ । अब पुरातन सोचले देश बन्दैन ।

अन्त्यमा, आमजनतालाई तपाईंको सन्देश के छ ?

देशमा केही पनि भएको छैन भन्ने होइन । हामीले केही पनि भएको छैन भन्नेभन्दा पनि केही भएको छ भन्ने सकारात्मक सोचका साथ अगाडि बढ्नुपर्छ । तर, अब युवाले खोजेको भनेको राजनीतिमुक्त शिक्षा क्षेत्र हो । किनभने हामीलाई क्षमता वृद्धिको लागि चाहिने मुख्य कुरा शिक्षाक्षेत्र नै हो । विश्व बजार प्रतिस्पर्धा गर्नसक्ने दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने छ । अझ मुख्ने कुरा भनेको हामीले कृषि क्षेत्रमा ध्यान दिनुपर्छ । देश आत्मनिर्भर हुने भनेको कृषिबाट नै हो । कृषिलाई आधुनिकीकरण गर्दै निर्यातमुखी कृषिमा जोड दिनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत अमेरिकी व्यापार नीतिको असर, जर्मनीको वृद्धि दर घट्ने सङ्केत ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड मन्त्रिपरिषद् विस्तार हुँदै, थपिए चार मन्त्री ‘अण्डा’को लागत मूल्य बढ्यो सुनचाँदीको मूल्य निरन्तर उकालोतिर नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने एनपिएलः अन्तिम खेल शनिबार, उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली