२२ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जेनजी सहिद: नयाँ बानेश्वरमा ढलेको सपना…

१६ मंसिर २०८२, सोमबार १७:०२

काठमाडौँ | काठमाडौँका स्थायी बासिन्दा २७ वर्षे ईश्वतबहादुर अधिकारी हत्तपत्त राजनीतिक विरोध प्रदर्शनमा जानुहुन्नथ्यो । सानैदेखि अध्ययनमा अब्बल उहाँले जेनजी पुस्ताले उठाएका मुद्दालाई भने नजिकबाट नियालिरहनुभएको थियो । मुलुकमा व्याप्त भ्रष्टाचार, अनियमितता, परिवारवाद र मुलुकको बिगँ्रदो अवस्थाले भने ईश्वतलाई पिरोलिरहेको थियो ।

आमनेपाली युवा पुस्ता पनि ईश्वत जस्तै मुलुकको अवस्थाबाट चिन्तित थिए । युवाहरुले जेनजी पुस्ताका नामबाट तत्कालीन सरकारलाई खबरदारी गर्ने उद्देश्यले गत भदौ २३ गते राजधनीमा ‘भद्र’ विरोध आयोजना गरे । ईश्वतलाई पनि सो कार्यक्रमले ध्यान खिच्यो । त्यसदिन बिहानै ९ बजेदेखि नै युवाहरु माइतीघर क्षेत्रमा जम्मा भइरहँदा उहाँ भने घरै हुनुहुन्थो । परिवारसहित टेलिभिजनबाट विरोध प्रदर्शनको प्रत्यक्ष प्रसारण हेरिरहनुभएको थियो ।

आन्दोलनमा सहभागीको सङ्ख्या बढ्दै थियो । नवयुवाहरु आर्थिक समृद्धिमार्फत मुलुकको भविष्य बदल्नुपर्छ भन्ने भावनाका साथ आन्दोलनमा होमिएका थिए । ईश्वतलाई अब टेलिभिजनबाट हेरेर मात्रै पुग्दैन मैदानमा उत्रनुपर्छ भन्ने मनमा लाग्यो । परिवारका सदस्यसँग भन्नुभयो, “अब म आन्दोलनमा जान्छु ।”

बुबा ईश्वरबहादुरले ‘बाबु, कफ्र्यू लागिसक्यो, तँ आन्दोलनमा नजा’ भन्नुभयो । तर उहाँको मन मानेन । आन्दोलनमा सहभागी भएरै छाड्ने जिद्दी गर्नुभयो । सरकारप्रति उहाँ रुष्ट हुनुहुन्थ्यो । नेपालमा केही हँुदैन । जति गरे पनि केही छैन । देशको अवस्था राम्रो छैन । सोझो तालले केही हुन्न । अब विदेश जाने र परिवारको समृद्धि खोज्ने उहाँको सपना थियो ।

छोरा एक्लै आन्दोलनमा जान खोजेपछि बुबाले पनि सँगै जाने भन्नुभयो । मुटुको बिरामी भएकाले छोराले बुबालाई सँगै लान चाहनुभएन । ईश्वत करिब १ बजे ‘पठाओ’ चढेर आन्दोनल भइरहेको क्षेत्रतर्फ जानुभयो ।

अपराह्न करिब २ बजेर १२ मिनेटमा ईश्वतले बुबालाई फोन गर्नुभयो । फोनमा भन्नुभयो, “म नयाँ बानेश्वर चोकमा छु, मेरा अगाडि पाँच÷छ जना गोली लागेर ढलेका छन् । बुबाले छोरालाई ‘तँ बच है’ भन्नुभयो । त्यसपछि छोराको कुनै जवाफ आएन । त्यति नै बेला ईश्वतलाई पनि गोली लागेको हुनसक्ने बुबाको अनुमान छ ।”

बुबालाई टेलिफोनमा छोराको जवाफ नआएपछि मनमा झस्को पस्यो । उहाँको आँखा टेलिभिजनमा भए पनि ध्यान छोरा कहाँ गयो भन्नेमा थियो । टेलिभिजनमा प्रस्तोताले बोलिरहेका थिए–नयाँ बानेश्वर क्षेत्रमा गोली चल्यो, घाइतेलाई सिभिल लगायतका अस्पतालमा लैगिँदैछ ।

आधा घण्टासम्म छोराको फोन नआएपछि बुबाले लगातार छोराको मोबाइलमा फोन गर्नुभयो । निकै पछि अपरिचत व्यक्तिले फोन उठायो । तपाईं को हो ? भनेर सोध्यो । म ईश्वतको बुबा हो भनेपछि तुरुन्त ट्रमा सेन्टरमा आउनुस् भन्ने जवाफ पाउनुभयो । ईश्वरबहादुरले टेलिफोनमै, के गोली लाग्यो भनेर सोध्नुभयो । अस्पतालमा छिटो आउनुस् भन्ने जवाफले उहाँमा शङ्का बढायो ।

ट्रमा सेन्टरमा पुग्दा त्यहाँ छ÷सात जनाको शव थियो । सबैको अनुहार हेर्दै जाँदा शवको भीडमा ईश्वतको पनि शव भेटियो । आन्दोलनका क्रममा मृत्यु भएको पुष्टि भयो । त्यसपछि ईश्वतसँगै अन्य मृतकको शव पनि त्रिवि शिक्षण अस्पतालको शवगृहमा लगियो । शव परीक्षणपश्चात् आठौँ दिनको दिन बल्ल ईश्वतको दाहसंस्कार गरियो ।

शारीरिक रुपमा फुर्तिलो, जिम गरेर शरीर चुस्त–दुरुस्त बनाउने अभ्यासमा रुचि राख्ने अधिकारी फुटबल, बक्सिङ र टेबुलटेनिस खुब खेल्नुहुन्थ्यो । ईश्वत अधिकारी परिवारका कान्छा छोरा हुनुहुन्थ्यो । अधिकारी परिवार पछिल्लो समय बालाजु ढुङ्गेधारा क्षेत्रमा बस्दै आएको थियो । विसं २०५५ साउन ११ गते थापाथली प्रसूति गृहमा जन्मिनुभएका अधिकारी मनोविज्ञान र अङ्ग्रेजीमा स्नात्तकोत्तर तथा व्यवस्थापन सङ्कायमा पनि स्नातकोत्तर गर्दै हुनुहुन्थ्यो ।

ईश्वतले उपयुक्त रोजगारी नदेखेपछि विदेश जानुपर्छ भन्ने सोच बनाउनुभएको थियो । अमेरिका जाने तयारी गर्नुभयो । त्यहाँको सफल नभएपछि तिहारपछि बेलायत जाने तयारी गर्नुभएको भएको थियो ।

उहाँका दाजु पनि ‘इनअफ इज इनअफ’का अभियन्ता नै हुनुहुन्छ । त्यस दिन दाजु मनाङमा हुनुहुन्थ्यो । जेनजीको एउटा समूहले ईश्वतको दाजुलाई विरोधको नेतृत्व गर्न आग्रह गरेका थिए । उहाँ मुलुकको अवस्थाबाट दिग्दार भएर घुम्न निस्केको परिवारको भनाइ छ ।

ईश्वतको परिवारले आइतबार मात्रै प्रधानमन्त्री सुशीला कार्कींसँग भेटेर जेनजी सहिदको भावनालाई सम्बोधन गर्न अनुरोध गर्नुभयो । त्यसमा प्रधानमन्त्री अत्यन्त सकारात्मक हुनुहुन्छ । हामी आशावादी छौँ । हाम्रै छोराछोरीको बलिदानबाट अहिलेको सरकार बनेको हो । सरकारलाई कानुनले अप्ठ्यारो पारेको छ भन्ने बुबा ईश्वरलाई लागेको छ ।

पीडित परिवारका तर्फबाट हामीले शिक्षा, रोजगारी, पहिचान कार्ड, पेन्सन, बिमालगायतको न्यूनतम् माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराएका छौँ । राजनीति अझै अप्ठेरो छ । सत्ताको नेतृत्व गर्नुपर्नेमा सरकार पनि प्रतिपक्ष जस्तो भएको छ । जेनजीमा नेतृत्व गर्ने खालका नेता भएन । सरकारले काम गर्न खोजेको छ, कर्मचारीले रोक्न खोजिरहेको छ । तीन महिना भयो । गृहमन्त्री पनि पक्षमै हुनुहुन्छ । कानुनले अल्झायो । सरकारले बाटो, खेलकुद भवन, रङ्गशाला पनि जेनजी सहिदको नाम राख्नुपर्छ ।

आमा अन्जनाका अनुसार ईश्वतको मनपर्ने परिकार आजभोलि घरमा पाक्न छाडेका छन् । ईश्वतले मःमः र मासुका परिकार खुबै मन पराउनहुन्थ्यो । आमासँग खुलेरै भलाकुसारी गर्ने, सरसल्लाह लिने उहाँको स्वभाव थियो ।

जेनजी सुशासन योद्धा ईश्वतका नजिकका साथी निराजन शाही सजिलो साथी गुमाउनुपर्दा भावविह्वल हुनुहुन्छ । उहाँको नजरमा ईश्वत पढाइमा अब्बल, सरल, मिलनसार र निडर स्वभावको हुनुहुन्थ्यो । जेनजी आन्दोलनको अघिल्लो दिन उहाँहरु दुवै जना गोदाबरी घुम्न जानुभएको थियो । त्यस क्रममा ईश्वतले भोलि आफू आन्दोलनमा जाने बताउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै