२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नेपाल–चीनबीच मित्रताको नमुनाः नीलकण्ठ माविको पुनःसंरचना

२२ असार २०८२, आईतवार १३:१२

काठमाडौँ | नेपाल र जनवादी गणतन्त्र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्ष पुगेको उपलक्ष्यमा हिमाली जिल्ला रसुवाको पुरानो एक विद्यालयले सुविधासम्पन्न भवन पाउने भएको छ ।

छिमेकी मित्रराष्ट्र चीन सरकारले कालिका गाउँपालिका–५ जिबजिबेस्थित नीलकण्ठ नमुना माध्यमिक विद्यालयलाई अत्यधुनिक एवं सुविधासम्पन्न भवन निर्माण गरी हस्तान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरी अहिले भवन निर्माणको कामलाई तीव्र बनाएको छ ।

दु्रततर गतिमा काम भइरहेको सो भवनको निर्माण कार्य करिब ५० प्रतिशत पूरा भएको चाइना जिआङ्सु इन्टरनेशनल इकोनोमिक एण्ड टेक्निकल को–अपरेसन ग्रुपले जनाएको छ । भवन निर्माणमा संलग्न अधिकारीहरूका अनुसार सबै रकम चीन सरकारले व्यहोर्ने गरी निर्माण भएको सो भवनको लागत मूल्य रु ८४ करोड रहेको छ ।

चाइना जिआङ्सुका देशीय निर्देशक ‘मा युहाङ’ले निर्माण प्रक्रियाअन्तर्गत स्थानीय सरकार र जनताबाट आवश्यक सहयोग प्राप्त भएकाले तोकिएको समयसीमा दुई वर्षभित्र विद्यालय भवन हस्तान्तरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

“निर्माणका क्रममा गुणस्तर सुनिश्चित होस् भनी सिमेन्ट, फलामका रडलगायत सामग्री चिनियाँ उत्पादनलाई प्राथमिकता दिइएको छ । ससाना प्रकृतिका निर्माण सामग्री भने यहीँको प्रयोग गरिएको छ”, कम्पनीका देशीय निर्देशक युहाङले भन्नुभयो, “भवन निर्माणका लागि १८ जना चिनियाँ प्राविधिक खटिएका छन् । एक सय भन्दाबढी नेपाली कामदारले दैनिक आठ घण्टाका दरले तीन सिफ्टमा चौबिसै घण्टा काम गरिरहेका छन् ।”

उहाँले भवन निर्माणका लागि दुई वर्षको समयसीमा भएको जानकारी दिँदै काम सुरु भएको छ महिनामै चारतले भवनको संरचना उठाउने काम पूरा भइसकेकाले छिट्टै काम सम्पन्न भइ भवन हस्तान्तरण गर्ने बताउनुभयो ।

कालिका गाउँपालिकाका प्रवक्ता एवं वडा नं ५ का अध्यक्ष सन्दीप पौडेलका अनुसार रसुवाबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसद मोहन आचार्यले शिलान्यास गर्नुभएको सो भवन दुई वर्षभित्र निर्माण सम्पन्न गरी हस्तान्तरण गर्ने समझदारी भएको छ ।

“चीन सरकारले सीमा जोडिएका जिल्लामा १० वटा नमुना विद्यालय निर्माण गर्न १२ वर्षअघि प्रतिबद्धता व्यक्त गरेको थियो । तर विविध कारणले गर्दा शिलान्यासको काम नै ढिलो हुन गयो । अहिले भइरहेको काममा कुनै समस्या नहोस् भनेर चनाखो भएका छौँ”, विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका पौडेलले भन्नुभयो, “भवन निर्माणमा संलग्न चिनियाँ पक्षलाई बासस्थान, सडकको पहुँचमार्ग, पानी, विद्युत्, निर्माण सामग्री गोदाम घरलगायत आवश्यकता स्थानीय सरकारले पूरा गरिदिएको छ ।”

चीन सरकारको प्राविधिक तथा आर्थिक सहयोगमा अत्याधुनिक एवं सुविधायुक्त भवन निर्माणले रसुवाका विद्यार्थीको शैक्षिक भविष्य उज्ज्वल मात्र होइन नेपाल र चीनबीच मित्रताको प्रतीक बन्ने नीलकण्ठ माविका प्रधानाध्यापक नारायणप्रसाद देवकोटाले बताउनुभयो ।

चीनसँग सीमा जोडिएका जिल्लामा १० वटा नमुना विद्यालय बन्ने क्रममा रसुवाको नीलकण्ठ मावि पनि समावेश भएसँगै स्थानीयवासीमा खुसीको सीमा नरहेको उल्लेख गर्दै अहिलेकै गतिमा काम भए दुई वर्षअघि नै भवन हस्तान्तरण हुने स्थिति रहेको उहाँ बताउनुहुन्छ ।

“विद्यालयको यसअघिको संरचनालाई ‘गोरखा भूकम्प’ले क्षति पु¥यायो । छिमेकी विद्यालयलगत्तै ठडिए । लामो समयदेखि टहरामा कष्टसाथ पढाउनुपरेको पीडा सम्झनामा सीमित गराउनुछ”, उहाँले भन्नुभयो, “सुविधायुक्त र आधुनिक संरचनासहितको भवन प्राप्ति भएपछि विद्यार्थीलाई सुरक्षित, व्यवस्थित र बालमैत्री वातावरणमा शिक्षण सिकाइमा जोड्न सकिन्छ । भवनले शैक्षिक पूर्वाधारको सुधार मात्र होइन, टहरामा बिताएका कठिन दिनको अन्त्य पनि गराउने छ ।”

अत्यधुनिक र सुविधायुक्त चारतले दुई वटा भवनमा सफा कक्षाकोठा, चिनियाँ ढाँचाका फर्निचर, आवश्यकताअनुसारका प्रयोगशाला, पुस्तकालय, शौचालयलगायत आधारभूत पूर्वाधारले शिक्षाको गुणस्तरमा धेरै सुधार ल्याउने स्थानीय अभिभावको अपेक्षा छ ।

रसुवा जिल्लाको कालिका र नौकुण्ड गाउँपालिकाका करिब ४०० विद्यार्थी हाल सो विद्यालयमा अध्ययनरत छन् । एकसय ५० जना विद्यार्थी क्षमताको आवासीय भवनसहितको संरचना विद्यालयले पाएसँगै जिल्ला बाहिरका विद्यार्थीलाई आकर्षित गर्ने योजना बनाएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पौडेलले बताउनुभयो । “प्राविधिक शिक्षा र अङ्ग्रेजी माध्यमको पढाइ सञ्चालनमा ल्याइसकेका छौँ । चीन सरकारसँगको सहकार्यमा चिनियाँ भाषा अध्ययन, सीप विकास र प्रविधिसँग अनुकूल शिक्षण प्रणालीमार्फत उत्कृष्ट शिक्षा प्रदान गर्ने लक्ष्य लिएका छौँ”, उहाँले भन्नुभयो ।

विद्यालयले विशेषगरी विपन्न, गरिब र दुर्गम क्षेत्रका विद्यार्थीलाई निःशुल्क आवासीय सुविधा दिने नीति लिएको छ । यही कारण टाढाटाढाबाट विद्यार्थी भित्र्याउने खाका अहिले नै तयार विद्यालयले तय गरेको स्पष्ट गरेको छ ।

अध्यक्ष पौडेल अबको १८ महिनाभित्र निर्माण सम्पन्न भई हस्तान्तरण हुने सो भवन नेपाल र चीनबीचको सम्बन्ध सुधारको प्रतीकका रुपमा चीरकालसम्म रहिरहने र दुई देशबीच जनस्तरसम्मको सम्बन्ध विस्तारमा कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्नुहुन्छ ।

निर्माण पक्षबाट प्राप्त प्राविधिक प्रतिवेदनअनुसार ११ हजार अभिभावकका सन्ततिले अध्ययन गर्न पुग्ने कक्षाकोठा, १५० क्षमताको छात्राबास, शिक्षक–कर्मचारी कोठा, सभाकक्ष, पुस्तकालय कोठा, कम्युटर र विज्ञान प्रयोगशाला, बास्केटबल मैदानलगायत संरचना हुनेछ ।

प्रधानाध्यापक देवकोटाका अनुसार रसुवा जिल्लामा अहिले करिब १४ हजार घरधुरी रहेको तथ्याङ्कसहित नयाँ बन्ने सो विद्यालयको क्षमतालाई विश्लेषण गर्दा विद्यालय हस्तान्तरण भएपछि गुणस्तरीय शिक्षाका लागि कुनै पनि अभिभावकले आफ्ना सन्ततिलाई जिल्ला बाहिर पठाउन पर्दैन ।

विसं २०२१ मा स्थापना भएको नीलकण्ठ नमुना माविको नयाँ भवन चिनियाँ वास्तुकलामा आधारित सुविधासम्पन्न, फूलैफूलले सजिएको बगैँचासहित आकर्षक र विद्यालय शिक्षामैत्री हुने निर्माण कम्पनीले जनाएको छ । काठमाडौँबाट ८० किमी दूरीमा रहेको सो नमुना मावि चीनको केरुङबाट ७२ किमीको दूरीमा पर्दछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै ‘नागरिकको सुझाव माग्न घरदैलोमा सरकार’ घोषित मितिमै निर्वाचन गर्ने लक्ष्यसहित सरकार अघि बढ्दैछ : प्रधानमन्त्री कार्की रूसबाट युक्रेनी बालबालिका फिर्ता गर्न राष्ट्रसङ्घको माग मलामी गएका युवक महाकालीमा बेपत्ता एमालेले महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने गाजाका सबै बन्धकको शव पहिचान गरिएको इजरायली सेनाको दावी एनपिएलः काठमाडौंद्वारा पोखरालाई १६६ रनको लक्ष्य एनपिएल : अर्धशतकको सङ्ख्या २८ पुग्यो अबदेखि रत्नपार्कमा निःशुल्क इन्टरनेट चलाउन पाइने लामो दूरीका रात्रि तथा दिवा सेवाका गाडी बसपार्कबाट मात्रै छुट्ने