2026-10-07 12:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कर्णाली प्रदेश

अभावभित्र सुन्दर भविष्य खोज्दै सुष्मा

काठमाडौँ । उमेरका हिसाबले सुष्मा हमाल भर्खर १७ वर्षकी हुनुहुन्छ । सानो उमेर भए पनि क्षमता र विश्वासका दृष्टिले एउटा परिपक्व युवाभन्दा कम हुनुहुन्न उहाँ । हिमाली जिल्ला जुम्ला तिला गाउँपालिका–४ जुम्लास्थित साँपुल्ली गाउँ निवासी उहाँ अहिले सरस्वती प्राविधिक माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत हुनुहुन्छ ।

अलि चञ्चले र खुला स्वभावकी सुष्माको पारिवारिक, आर्थिक एवं शैक्षिक हिसाबले अवस्था निकै कमजोर छ । प्रौढ शिक्षा पढेर सामान्य आफ्नो नाम लेख्न बाहेक अरु खासै आउँदैन सुष्माको आमा कमला शाहीलाई । मेलापात र नानीहरुलाई दैनिक खानाको जोहो गर्ने दिनचर्याले माथि उठ्न नदिदा उहाँलाई सरकारी विद्यालयमा पढ्ने उनीहरुको प्रगति र दुर्गति दुवैका बारेमा बुझ्ने समय हुँदैन ।

मजदुरीका लागि बर्सेनि कालापहाड जाने सुष्माका बुबा खड्गबहादुर हमालको पनि सामान्य लेखपढभन्दा बढी छैन । घरमा तीन महिना पुग्ने अन्न उब्जिदैन । गिट्टी कुटेर वा बालुवा बोकेर कमाएको पैसाले हातमुख जोड्नुपर्ने बाध्यता छ, उहाँको परिवालाई । बुबा मजदुरीका लागि कालापहाड (भारत) र आमा सुष्मालगायत उहाँका भाइबहिनीको स्याहार गर्दै आउनुभएको छ । खड्गबहादुर कालापहाड गएको करिब वर्ष दिन पुग्न थाल्यो, अहिलेसम्म घर फर्कनुभएको छैन ।

निम्नवर्गीय परिवारकी सन्तानका रुपमा जन्मेकी सुष्माको सोच र सपना भने उच्च कोटीको छ तथापि कहिले कापी, किताब र कलम किन्न पैसाको निकै अभाव खट्किन्छ । विद्यालयमा आफ्नै साथीहरुबीच उहाँ फरक धारणा र प्रस्ताव प्रस्तुत गर्नुहुन्छ । अलि खरो स्वभाव भएकी सुष्मा यतिबेला सामाजिक सञ्जालमा चर्चाको विषय बन्दै आउनुभएको छ । यसमा श्री ज्योति फाउण्डेसनद्वारा यही बैशाख २७ देखि २९ गतेसम्म सुर्खेत वीरेन्द्रनगरमा आयोजित ‘कर्णाली छोरी सम्मेलन’ महत्वपूर्ण अवसर बन्यो ।

सम्मेलनमा उहाँले खस भाषामा आफ्नो एकल नाटक प्रस्तुत गर्नुभयो । कुनै तयारी बिना नै पहिलोपटक मञ्चमा उक्लेकी उहाँले एकल नाटकबाट दर्शकलाई क्षणभरमै प्रभावित बनाउनुभयो । दर्शकदीर्घामा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेल, मन्त्रीहरु, प्रदेशसभा सदस्यहरुसहित विशेष व्यक्तिहरुको उल्लेख्य सहभागिता थियो ।

मञ्चमा पुगेर खस भाषामै उहाँले भन्नुभयो, “आइगइ कर्णालीकी छोरी खस भाषा लिएर, गरिबहरुका कुडा सुन्दिने आखिर को थिए र ? हाम्रा कुडा सुन्दिने कोइनाइ, नापा नापा (थोरै) सुन्दिया पुनि भुन्दिन्या कोही नाई । यसबाट उदेक मात्र होइन, कर्णाली अनि आफ्नै अवस्था हेरेर रुने मन लाग्यो ।” तथापि सम्मेलनका सहभागीहरुलाई उहाँले सके उड, उड्न सक्दैनौँ दौड, दौड्न सक्दैनौँ हिँड, हिँड्न सक्दैनौँ घिस्र, जीवनमा कहिले नहार तर प्रयास गर एकदिन अवश्यक लक्ष्यबिन्दुमा पुग्नेछौँ भन्ने ऊर्जा पनि दिनुभयो ।

मञ्चमा सुष्माले नेपालको संविधानले व्यवस्था गरेका मौलिक हकलगायतका विभिन्न अधिकार, सङ्घीय संरचनाअनुरुप गठित तीनै तहका सरकारमा रहेर काम गर्ने जनप्रतिनिधिको कार्यक्षमता र शैली, शिक्षक शिक्षिकहरुको भूमिका र सिङ्गो नेपालको राजनीतिक प्रणालीमाथि व्यङ्ग्य गर्नुभयो । न्यायिक समितिको संयोजकमा रहेर काम गर्दै आएका पालिकाका उपाध्यक्षहरुको न्याय सम्पादन कमजोर रहेको र कति त आफँै अन्यायमा परेको सवाल समेत उहाँले उठान गर्नुभयो ।

सुष्माको अभिव्यक्तिको आशय थियो, सरकार प्रमुखहरुको जिम्मेवारी र उत्तरदायित्व, विभिन्न निकायमा काम गर्नेहरुको कार्यशैलीकै कारण आज समाजका बालबालिका, महिला, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र सिङ्गो नागरिकले दुःख पाउँदै आएका छन् । गाउँबाट राजधानी सुर्खेत वीरेन्द्रनगरमा पहिलोपटक पुगेकी बालिकाको उक्त प्रस्तुतिले सबैलाई आश्चर्यचकित पारेको थियो ।

मञ्चमा उभिएकी सुष्माले निर्धक्कका साथ भन्दै हुनुहुन्थ्यो, “भाषणले देश बन्दैन, असल नियत राखेर काम गर्नुपर्दछ । जातीय विभेद आजसम्म पनि अन्त्य भएको छैन । कुर्सीमा बस्नेहरुले नै नागरिकलाई अपमान गर्दै आएका छन् । कृषि क्षेत्रलाई नीति, कार्यक्रम र बजेटमा राखे पनि कार्यान्वयन प्रभावकारी छैन ।”

उहाँको अभिव्यक्ति र अभिनय राष्ट्रियस्तरमा आफ्नो क्षमता देखाई पर्याप्त अनुभव लिइसकेका कलाकारहरुभन्दा कम थिएन । सुष्माको कलात्मक प्रस्तुतिले कुनै पनि क्षमता र प्रतिभावान व्यक्तिहरुको गतिशीलतालाई गरिबी र विकटताले छेक्न सक्दैन भन्ने उक्तिलाई चरितार्थ पार्दै सूचना, सञ्चार र प्रविधिको युगमा हरेकले आफूलाई सिर्जनशील र सकारात्मक बनाउँदै लैजानुमा नै ठूलो हित हुन्छ भन्ने सन्देश प्रवाह गरेको थियो ।

दलहरुका घोषणा, सङ्कल्प, प्रतिबद्धता जप्ने मन्त्रजस्तै भएकाले अब प्रतिफल र कार्यान्वयनमुखी विकासमा जोड दिनुपर्ने उहाँको सुझाव थियो । सुष्माका अनुसार अधिकार खोज्नेले पनि कर्तव्य पालना गर्नुपर्दछ । स्वर नभए पनि भविश्यमा गीत रेकर्ड गर्ने र देउडा गायिका बन्ने धोको राखेकी उहाँले गरिब, निमुखाहरुको हितमा काम गर्ने र समाजमा व्याप्त भ्रष्टाचार, बेथिति, विकृति एवं कुरीतिविरुद्ध बोलिरहने बताउनुभएको छ ।

सरस्वती प्राविधिक माध्यमिक विद्यालयका प्रधानाध्यापक मानबहादुर सिंह हमाल अन्य विद्यार्थीभन्दा फरक भएको बताउनुभयो । उहाँले भन्नुभयो, “सुष्मा अत्यन्तै उत्सुक र जिज्ञासु छन् । समाजका विभिन्न खाले विषयमा विशेष सरोकार राख्छिन् । समाज बुझ्ने र बोल्ने कला उनीमा राम्रो छ । गीत, कविता रचना गर्ने र देउडा गाउनेतर्फ उनको बढी रुचि देखिन्छ । यसलाई निरन्तरता दिँदै अगाडि बढे उनी राष्ट्रको एउटा राम्रो कलाकार बन्ने सम्भावना छ ।”

सुष्माले आर्थिकरुपले परिवारिक अवस्था कमजोर भएकाले आफूले चाहेजस्तो गर्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “बाबा धेरैजसो समय घरमा नहुँदा आमालाई बढी दुःख छ । हामीलाई खाना, लत्ताकपडा, कपी, किताब, कलमलगायतका आधारभूत आवश्यकता पूरा गर्न आर्थिक अभाव धेरै छ । त्यही दुःख एवं सङ्घर्ष गरेर अभावभित्रै मेरो सुन्दर भविष्य निर्माण गर्ने यात्रामा लाग्नेछु ।”
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको ‘हामी आउँदैछौं’ अभियान धादिङबेसीबाट सुरु पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरेको आरोपमा दम्पती पक्राउ सुनचाँदीको मूल्य बढ्यो बडादशैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे कांग्रेस महाधिवेशनको बन्द सत्रमा आज चारवटै प्रतिवेदन पारित गरिँदै कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता रमेश धमलाले दिए कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी कांग्रेस महाधिवेशन : गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराए तातोपानी र रसुवागढी नाका खुलाउन चीनसँग संवाद भइरहेको छ : मन्त्री लम्साल जलवायु सङ्कटलाई संसद्को नियमित एजेन्डा बनाउन सभामुख अर्यालको आग्रह दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न अदालतको आदेश दशैं नजिकिँदै गर्दा मौसममा बदली, आज–भोलि वर्षासँगै चट्याङ र असिनाको सम्भावना कांग्रेस महाधिवेशन : विश्वप्रकाश शर्माले वरिष्ठ उपसभापतिमा उम्मेदवारी दिए विपद्मा बेपत्ता भएकाको मृत्यु घोषणा र दर्तासम्बन्धी कानुन छिट्टै संशोधन गर्छौं : मन्त्री गौतम कांग्रेस महामन्त्रीमा प्रदीप पाैडेलले गरे उम्मेदवारी दर्ता कांग्रेसमा उम्मेदवारी दर्ताको समय थपियो, अब साँझ ६ बजेसम्म गृहमन्त्री गुरुङ असोज २६ गते भारत जाँदै ग्यासको खुद्रा बिक्री रोक्न आयल निगमलाई बिक्रेता महासंघको आग्रह कुलमान घिसिङको दाबी : आगामी प्रदेशसभा निर्वाचनपछि बागमतीमा उज्यालो नेपालको सरकार बन्छ विश्वप्रकाश शर्माले भने– ‘ढुक्क हुनुहोस्, यसपालि प्यानल बन्दैन’