2026-10-03 04:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्यटन

नयाँ वर्षमा घुम्न पाँचथरका ‘तीन गन्तब्य’

चैत २९, पाँचथर (रासस) | तपार्इं नयाँ वर्षमा घुम्न जाने ठाउँ खोज्दै हुनुहुन्छ भने तपाईंका लागि पाँचथरका तीन ठाउँ उपयुक्त गन्तव्य हुन सक्छ । 

गुराँस र चाँपको फूलले रङ्गीन डाँडामा तपाईंले नयाँ वर्षलाई भरपुर आनन्ददायक बनाउन सक्नुहुन्छ । जसका लागि तपाईंलाई धेरै खर्च लाग्ने वा कसैको माध्यम खोजिरहनुपर्ने बाध्यता हँुदैन । नयाँ गन्तव्यमा पुग्ने तपाईंलाई प्रकृतिको उपहार र स्थानीयवासीको व्यवहारले घुमिरहौँ लाग्नेछ ।

पूर्वका पर्यटकीय क्षेत्र भन्ने वित्तिकै सबैको नजर पर्ने इलाम र ताप्लेजुङको बीचमा खुम्चिएको पाँचथरमा पर्यटक रमाउने त्यति धेरै गन्तव्य छैनन् । भएका गन्तव्यमा पूर्वाधार बनिनसकेको तथा प्रचारको अवस्थाको कमी छ । तर वसन्त ऋतुको आगमनसँगै उच्च पहाडको रुप बदलिन्छ । एकै ठाउँबाट हिमाल र तराई देखिने डाँडाकाँडा गुराँसको फूलमाथि पाइला चाल्दै पुग्नुपर्छ । चिसो सिरेटोसँगै कोइलीको कुहुकुहुदेखि चौँरी र भेडाका घण्टीको ‘टिङटिङ’ आवाजले आनन्दको चरमोत्कर्षमा पुर्याउँछ । त्यसैले नयाँ वर्षमा यहाँले पाँचथरका तीन गन्तव्यमा घुमघामको चाँजोपाजो मिलाउन सक्नुहुन्छ ।

पहिलोः लब्रेकुटीदेखि लोहाकिलसम्म

झापाको विर्तामोडबाट ट्याक्सी चढेर करिब चार घण्टाको यात्रापछि आठ हजार २०० फिट उचाइमा रहेको पौवाभञ्ज्याङ बजार आइपुगिन्छ । मौसमअनुसारका स्थानीय उत्पादनको स्वाद लिन पाइने पौवाभञ्ज्याङमा अडिएर स्थानीयवासीसँग कुरा गरेपछि तपाईंलाई पहिले कता जाऔँ भन्ने हुटहुटी हुन्छ । किनकी वरिपरि सबै घुम्ने ठाउँ मात्रै भेटिन्छन् । मेची राजमार्गमै पर्ने कान्छीदोकान बजार पुगेर घुमघामको शुरुआत गर्नु सहज हुन्छ । 

त्यहाँबाट करिब दुई किलोमिटर यात्रापछि लब्रेकुटी पुगिन्छ । किराँत धर्मगुरु फाल्गुनन्दले साधना र ध्यानबाटै पानी उमारेको विश्वास गरिने यो पवित्रस्थलमा किराँत धर्मावलम्बीका मौलिकतासँगै अध्यात्म र रमणीय प्रकृतिको सुगन्ध भेटिन्छ । लब्रेकुटी माङहिम (मन्दिर) र माङहिममाथि रहेको गुराँसको जङ्गल घुम्दा दिन बितेको पत्तो हुँदैन । गुराँसका स–साना बोटले बनेको स्वागतद्वारले पर्यटकलाई सधैँ कुरिरहेको छ । 

समय रहेमा फाँटिलो चौरबाट निर्माणाधीन सिंढीमार्ग हुँदै तपाईं सिलौटी लाग्नुहोस् । सिलौटी महागुरु फाल्गुनन्दको समाधि भएको अग्लो डाँडो हो । किराँतीहरुले कुम्भकर्ण (फक्ताङलुङ) लाई मोक्षस्थल मान्दछन् । तर फक्ताङलुङ पुग्न नसक्नेहरु सिलौटीबाटै फक्ताङलुङ दर्शन गरी मोक्ष प्राप्त गर्ने विश्वास गरिन्छ । त्यही कारण यहाँ फाल्गुनन्दको समाधि रहन गएको हो । लब्रेकुटी वा सिलौटी घुमेपछि कान्छीदोकान बजार हुँदै केही किलोमिटर यात्रा गरेर लालीखर्क पुग्न सकिन्छ । जहाँ घरबास (होमस्टे) मा स्थानीय उत्पादनका मिठा परिकार खान पाइन्छ । त्यहाँबाट फर्केर पौवाभञ्ज्याङ पुग्न सकिन्छ । जहाँबाट उत्तर लागे साधुटार पुगिन्छ, पूर्व लागे लोहकिल, अनि दक्षिणपूर्व लागे सिलौटी । 

साधुटारको सानो पोखरी अहिले सबैको रोजाइँमा पर्न थालेको गन्तव्य हो । कुम्भकर्ण र कञ्चनजङ्घा हिमालको छायाँ डाँडामा रहेको सानो पोखरीमा पर्दा देखिने दृश्यमा मोहित नहुने शायदै कोही होलान् । छोटो समयमा धेरै आनन्द लिन सकिने साधुटारबाट बचेको समय लिएर लोहाकिलतर्फ घम्न जान सकिन्छ ।  काखमा रहेको सुकेपोखरी र आसपासका घरबासमा विश्राम गरेपछि सूर्योदय र सूर्यास्त हेर्ने, गुराँसै–गुराँसको जङ्गलमा लुकामारी खेल्ने, इलामपट्टिको पाटेनागी र कुहिभीरमा पिकनिक खाएर सेरोफेरो घुम्न सकिन्छ । इच्छानुसारको रमाइलो लोहाकिलले दिन सक्छ र यहाँ एक दिनभन्दा बढी समय घुम्न पुग्ने ठाउँ छन् । 

दोस्रोः लामपोखरीको सेरोफेरो

फिदिम झरेर अलि टाढा जाने र अझै धेरै रमाइलो गर्ने मन भए तपाईं पुग्न सक्नुहुन्छ लामपोखरी । फिदिमबाट जोरपोखरी–थर्पू–च्याङथापू हुँदै कच्ची सडकबाट लामपोखरी पुग्न झण्डै पाँच घण्टा लाग्छ । तर एक दर्जनभन्दा बढी प्रजातिका गुराँस पाइने लामपोखरीमा साना र ठूला गरी आधा दर्जन पोखरी छन् । लामपोखरीमा खाने बस्ने सुविधा छैन । करिब एक घण्टा तल झरेर बस्तीमा वा नजिकैको च्याङथापू बजारमा बस्न सकिन्छ । वरपरका भेडा र गाई गोठकोसमेत अवलोकन गर्न सकिन्छ ।  

हरियो घना जङ्गलको बीचमा डाँडामाथि फाँटिलो क्षेत्र अनि पोखरी नै पोखरी । गुराँस र चाँपको फूलको सुगन्ध । लामपोखरी एकछिन घुमेर सकिने ठाउँ छैन् । यहाँ गत वर्षमात्रै सडक पुगेको हो । बाहिरका पर्यटक आउन थालेका छैनन् । स्थानीयवासी लामपोखरी क्षेत्र गुराँसको राजधानी तीनजुरे मिल्के जलजले जत्तिकै अब्बल रहेपनि पूर्वाधार र प्रचारको अभावले ओझेलमा परेको ठान्छन् । 

तेस्रोः फालोट

नयाँ वर्षमा नेपाल–भारत सीमावर्ती क्षेत्र फालोट पनि घुम्न उपयुक्त स्थान हो । यो मौसममा सफा मौसम र चिसो मध्यम मात्रै हुन्छ । नयाँ वर्षकै अवसरमा यहाँ चौँरी महोत्सव आयोजना गरिएको छ । नेपाल, भारत र भुटानका हिमालको दृश्यावलोकन गर्न सकिने फालोट क्षेत्रबाट तल डाँडा गुराँसले राताम्य देखिन्छन् । गोठबासको आनन्दले घर फर्कौँ भन्ने नलाग्न सक्छ । फालोटका चारराते, तीन सिमाना, गोर्खेपानीलगायत स्थान पुग्न फिदिमबाट कच्ची बाटोको यात्रा गर्नुपर्छ । सडक केही असहज भए पनि गन्तव्यमा पुगेपछि प्राप्त हुने आनन्दले सबै पीडा भुलाउन सहयोग गर्छ । फालोटबाट पदयात्रा गर्दै इलाममा पर्ने चर्चित पर्यटकीय गन्तव्य सन्दकपुर पुग्न सकिन्छ । 

फालोटमा चौँरी र भेडाका गोठहरु छन् । यी नै गोठमा बसोबासको प्रवन्ध मिलाइएको छ । दीप ज्योति युवा क्लबसहित विभिन्न निकायले गोठलाई पर्यटकको बासस्थान बनाउन गोठवासको अवधारणा ल्याएका हुन् । फालोट पुगेपछि एकै दिनमा सबै ठाउँ घुमेर नसकिने हुँदा बास बस्नुपर्ने बाध्यता हुन्छ । गोठवासमा चौँरीको दूधका विभिन्न परिकारदेखि रैथाने खानेकुराको स्वाद चाख्न पाइन्छ । कोरोना भाइरस सङ्क्रमणको महामारी तथा पश्चिम बङ्गालको दार्जिलिङ क्षेत्रमा चुनाव रहेकाले यसपटक नयाँ वर्षमा फालोटमा भारतीय पर्यटकको सङ्ख्या कम हुनेछ जसकाकारण नेपाली पर्यटकले विना भीडभाड घुम्ने मौका पाउन सक्छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर साताको अन्तिम कारोबार दिन नेप्से ओरालो, ११ उपसमूहमा गिरावट ग्यास अभाव हुन नदिन सुरक्षा निकायलाई एलपीजी बिक्रीको अनुमति दिने तयारी राष्ट्रिय सभामा विभिन्न मन्त्रालयका प्रश्नको जवाफ, तीन निकायका वार्षिक प्रतिवेदन पेस आर्थिक सुधारका लागि चालु वर्ष २७ नयाँ कानुन ल्याउँछौँ : अर्थमन्त्री वाग्ले महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह झापामा हात्ती आतंक र सुकुम्वासी समस्याबारे इन्दिरा राना मगरको सरकारको ध्यानाकर्षण दशैंमा पशुबलिका नाममा हुने क्रूरता रोक्न आशिका तामाङको माग बालिकामाथिको जघन्य अपराधको मुद्दा प्राथमिकताबाट नहराओस् : सांसद श्रेष्ठ अर्को अधिवेशनसम्म सरकार नढलोस् : ध्रुवराज राई इतर समूहको वडा अधिवेशनबाट देउवा क्षेत्रीय प्रतिनिधिमा चयन प्रतिनिधिसभा बैठक सुरु सुनचाँदीको मूल्य बढ्यो गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने