जिल्ला समन्वय समिति निर्वाचनको तयारीमा जुट्दै दल

Posted on: 01 Jun, 2022

जेठ १८, उदयपुर | जिल्ला समन्वय समिति उदयपुरको नेतृत्व चयन गर्न जिल्लाका राजनीतिक दलले आन्तरिक रूपमा तयारी थालेका छन् । २०७४ मा तत्कालीन नेकपा एमालेले जिल्ला समन्वय समितिको सम्पूर्ण बोर्ड नै चयन गरेको थियो । 

जिल्ला समन्वय समिति प्रमुख, उपप्रमुखसहित चारवटा प्रदेशसभा निर्वाचन क्षेत्रबाट ३/३ जनाका दरले सदस्य निर्वाचित गर्ने प्रावधान रहेको छ ।

स्थानीय तहमा निर्वाचित भएका जनप्रतिनिधिमध्येबाट समन्वय समितिको उम्मेदवार बनाउनुपर्ने कानुनी व्यवस्था छ । निर्वाचित वडा सदस्यमध्येबाट समन्वय समितिको उम्मेदवार बनाउने गरिन्छ । ती उम्मेदवारलाई गाउँपालिका/नगरपालिका प्रमुख र उपप्रमुखले मात्र मतदान गर्न पाउँछन् ।  

कुल आठवटा स्थानीय तह रहेको उदयपुरमा समन्वय समितिको निर्वाचनमा प्रमुख र उपप्रमुखसहित १६ जना मतदाता रहेका छन् ।

यस पटक समन्वय समिति निर्वाचनमा कांग्रेसका सात जना, नेकपा एमालेका पाँच र नेकपा (माओवादी केन्द्र)का तीन र नेकपा एकीकृत समाजवादीका एक  जनाले मतदान गर्दैछन् । कांग्रेसले बेलका, त्रियुगा, कटारी नगरपालिकामा प्रमुख तथा ताप्ली, रौतामाई, लिम्चुङबुङ र उदयपुरगढीमा उपाध्यक्ष जितेको छ ।

नेकपा एमालेले चौदण्डीगढी नगरपालिकाको नगर प्रमख/उप्रमुख, त्रियुगा नगरपालिकाको उपप्रमुख, बेलका नगरपालिकाको उपप्रमुख र कटारी नगरपालिकाको उपप्रमुख जितेको छ ।

त्यसैगरी माओवादी केन्द्रले ताप्ली, रौतामाई र लिम्चुङबुङ गाउँपालिकाको प्रमुख र एकीकृत समाजवादीले उदयपुरगढी गाउँपालिकाको प्रमुख जितेको जिल्ला निर्वाचन कार्यालय उदयपुरले जनाएको छ ।

जिल्लाका अधिकांश स्थानीय तहको कार्यपालिका (बोर्ड) सदस्य पदको परिणाम सार्वजनिक भइसकेको छ । कार्यपालिका सदस्यको निर्वाचनपछि दलहरूको ध्यान जिल्ला समन्वय समितिको निर्वाचनतर्फ केन्द्रित हुन पुगेको हो ।

समन्वय समितिको नेतृत्व गर्न दलहरूबीच आन्तरिक तयारी भएको हो । तर, कुनै दलको स्पष्ट बहुमत पुग्ने अवस्था छैन ।  

समन्वय समितिको निर्वाचन मिति यकिन नभए पनि पार्टीले आन्तरिक रूपमा तयारी सुरु गरेको एक नेताले बताए । पार्टीभित्र अनौपचारिक रूपमा  छलफल भए पनि उम्मेदवारको टुंगो लगाउने विषयमा अझै प्रवेश नगरेको बताए ।

गठबन्धनबिना पुग्दैन बहुमत

गत वैशाखमा ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा, नेकपा एकीकृत समाजवादी र जनमोर्चाबीच केन्द्रमा गठबन्धन बनेको थियो ।

तर, जिल्लामा भने केन्द्रको अनुरुप गठबन्धन हुन सकेन।

उदयपुरमा काग्रेसको सात मत रहेको छ । काग्रेसबाहेकका दलहरू एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादी मिले सुविधाजनक बहुमत हुने देखिन्छ । 

अर्थात् कांग्रेस–माओवादी गठबन्धन भए पनि बहुमत पुग्ने देखिएको छ । तर, कुन–कुन दलहरूबीच गठबन्धन हुन्छ भन्ने निश्चित भएको छैन । 

सोमबार भने गठबन्धनका दलहरूको बैठकले जिल्ला समन्वय समिति र बाँकी रहेका गाउँ/नगर कार्यपालिकाको गठनमा तालमेल गर्न निर्देशनि दिइसकेको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!