माल्दिभ्सबाट भारतीय सैनिक फिर्ता लैजान राष्ट्रपति मोहम्मद मुइज्जुको आग्रह

Posted on: 23 Oct, 2023

कात्तिक ६, काठमाडौं । गत महिना मात्र माल्दिभ्सको राष्ट्रपति पदमा निर्वाचित मोहम्मद मुइज्जुले भारतलाई आफ्नो सेना फिर्ता गर्न आग्रह गरेका छन् ।

नवनिर्वाचित राष्ट्रपति मुइज्जुले नोभेम्बरमा पदभार ग्रहण गर्नुअघि बीबीसीसँगको एक अन्तर्वार्तामा आफूले केही दिनअघि भारतीय राजदूतलाई भेटेको उल्लेख गर्दै भने, ‘मैले उनीहरूलाई स्पष्ट रूपमा भनेको छु कि माल्दिभ्समा तैनाथ प्रत्येक भारतीय सैनिकलाई यहाँबाट हटाउनु पर्छ ।’

लामो समयदेखि भारतको प्रभावमा रहेको माल्दिभ्सका नवनिर्वाचित राष्ट्रपतिले आफूले चुनावमा जनतासँग गरेको प्रतिबद्धताअनुसार काम सुरु गरेको संकेत गरेका छन् ।

गत राष्ट्रपतीय चुनावमा चीन निकट भनेर चिनिने मुइज्जुले भारतसँग निकटताको सम्बन्ध बनाएका निवर्तमान राष्ट्रपति इब्राहिम सोलिहलाई पराजित गरेका थिए । सोलिह सन् २०१८ मा राष्ट्रपतिमा निर्वाचित भएका थिए ।

मुइज्जुको जितसंगै भारतका लागि झट्का मानिएको थियो । भारतसँग निकटता बढाएका सोलिहले ‘भारत पहिला’को नीति अख्तियार गरेका थिए । उनको रणनीतिले माल्दिभ्सको सुरक्षा र सार्वभौमसत्ता खतरामा परेको नारासहित मुइज्जु चुनावी मैदानमा उत्रिएका थिए ।

बीबीसीका अनुसार हिन्द महासागरको ठूलो भागको निगरानीका लागि रणनीतिक रूपमा महत्त्वपूर्ण रहेको माल्दिभ्समा भारत पनि पकड बलियो बनाउन चाहन्छ र यही रणनीति अन्तर्गत भारतले पनि माल्दिभ्सको विकासका लागि करिब दुई अर्ब डलर लगानी गरेको छ ।

भारतले माल्दिभ्सलाई सन् २०१० र २०१३ मा दुईवटा हेलिकप्टर र २०२० मा एउटा सानो विमान उपहार दिएपछि त्यसलाई लिएर विवाद सिर्जना भएको थियो । पछिल्लो चुनावमा ‘इन्डिया आउट’को नारा दिने माल्दिभ्सको चुनावी गठबन्धनले त्यसको फाइदा उठाएको थियो ।

भारतले ती विमानहरूलाई राहत र उद्धार एवं चिकित्सा क्षेत्रमा आपतकालीन काममा प्रयोग गर्ने बताएको थियो। तर सन् २०२१ मा माल्दिभ्सको सुरक्षा बलले यी हेलिकप्टर र विमान सञ्चालन गर्न माल्दिभ्समा करिब ७५ भारतीय सैनिक रहेको बताएको थियो ।

यो सूचना बाहिरिएसँगै माल्दिभ्समा तर‌ङ्ग पैदा भएको थियो भने राष्ट्रवादी भावना बलियो बनेको थियो । यी भारतीय सेनाको उपस्थितिले खासगरी भारत र चीनको सीमामा केही तनाव बढ्दा माल्दिभ्सको सुरक्षालाई खतरामा पार्न सक्छ भन्ने मुइज्जुको भनाइ रहँदै आएको छ । ‘माल्दिभ्स यस विश्वव्यापी शक्ति संघर्षमा फस्न निकै सानो छ’ उनले बीबीसीसँग भने, ‘हामी यसमा संलग्न हुने छैनौं।’

निवर्तमान राष्ट्रपति इब्राहिम सोलिह भने भारतीय सेनाको उपस्थितिबारे आशंकालाई बढाइचढाइ गरिएको उल्लेख गर्दै यसलाई अस्वीकार गर्दै आएका छन् । ‘अहिले माल्दिभ्समा कुनै विदेशी सैनिक तैनाथ गरिएको छैन’ उनले भनेका थिए, ‘यहाँ उपस्थित भारतीय सैनिकहरू माल्दिभ्स राष्ट्रिय रक्षा बलको कमाण्डमा काम गर्छन्।’

नवनिर्वाचित राष्ट्रपति मुइज्जु भने यो विवादलाई पछिल्लो समय भारतसँग भएका सम्झौतासँग पनि जोड्न चाहन्छन् र उनी ती सम्झौताहरूको पुनरावलोकन चाहन्छन् ।

‘यी सम्झौतामा के छ हामीलाई थाहा छैन । संसदमा समेत केही सांसदले बहसका क्रममा आफूलाई के छ थाहा नभएको बताएका थिए । म पत्ता लगाउन जारी राख्छु,’ उनले भने ।

मालीका लागि चिनियाँ राजदूतले मुइज्जुलाई उनको विजय पछि बधाई दिएका थिए। चिनियाँ राष्ट्रपति सी चिनफिङले पनि भनेका थिए, ‘हामी द्विपक्षीय सम्बन्धको विकासलाई ठूलो महत्त्व दिन्छौं र हाम्रो परम्परागत मित्रतालाई अझ अगाडि बढाउन र व्यावहारिक सहयोगलाई अझ प्रगाढ बनाउन राष्ट्रपति मुइज्जुसँग मिलेर काम गर्न इच्छुक छौं।’

मुइज्जुले माल्दिभ्समा चीनको विकास कार्यक्रमको खुलेर प्रशंसा गर्दै यो लगानीले माले सहरको रुपान्तरण भएको र यहाँका जनतालाई फाइदा पुगेको बताए ।

तर, उनले आफूलाई ‘चीन समर्थक’ उम्मेदवार भनिन अस्वीकार गर्दै आएका छन् । उनले भने, ‘म माल्दिभ्स समर्थक हुँ । मेरो लागि, माल्दिभ्स पहिलो आउँछ। हाम्रो स्वतन्त्रता पहिले आउँछ। म न कसैको पक्षमा छु न कसैको विरुद्धमा ।’

यद्यपि उनको दाबीका बाबजुद पनि उनको गठबन्धनमा पूर्व राष्ट्रपति अब्दुल्ला यामिनको पार्टी पनि समावेश छ जसले माल्दिभ्सलाई चीनसँग नजिक ल्याउन महत्वपूर्ण भूमिका खेलेको थियो।

मानवअधिकार उल्लङ्घनको आरोपका कारण भारत र पश्चिमी देशहरूले यामिन सरकारलाई ऋण दिन नचाहेपछि उनी चीन गएका थिए। चीनले उनीहरुलाई विना शर्त पैसा दिएको थियो । यामिन अहिले भ्रष्टाचारको आरोपमा ११ वर्षको जेल सजाय काटिरहेका छन् ।

त्यसपछि उनी राष्ट्रपति सी जिनपिङको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) मा सामेल भए। यस परियोजनाको उद्देश्य चीनलाई सडक, रेल र जलमार्गबाट बाँकी विश्वसँग जोड्ने हो।

यामिनलाई चुनाव लड्न प्रतिबन्ध लगाइएको अवस्थामा मुइज्जुलाई यामिनको निकटस्थको रूपमा हेरिएको थियो।

चुनाव जितेको केही दिनपछि मुइज्जुले सरकारलाई यामिनलाई उच्च सुरक्षाको जेलबाट घरमै नजरबन्दमा सार्न आग्रह गरेका थिए ।

तर भारतसँग यामीनको तनावपूर्ण र असहज सम्बन्धका कारण मुइज्जुका लागि भारतसँग सन्तुलित सम्बन्ध कायम राख्नु पनि चुनौती हुन सक्छ।


-बीबीसी हिन्दीको सहयोगमा

यस बिषयमा तपाइको प्रतिक्रिया...!