इजरायली हमलामा मारिएकी महिलाको गर्भबाट जीवित बच्चा निकालियो

Posted on: 22 Apr, 2024

बैशाख १०, काठमाडौँ | गाजाको रफाह सहरमा आइतबार इजरायली हमलामा मारिएकी एक महिलाको गर्भबाट बच्चा जिउँदै निकालिएको छ । प्यालेस्टाइनी स्वास्थ्य अधिकारीहरूले ती महिला ३० हप्ताको गर्भवती भएको बताएका छन् ।

चिकित्सकले आकस्मिक सी–सेक्शन प्रसूति मार्फत शिशुको उद्धार गरेका थिए । जन्मदा बच्चाको तौल १.४ किलोग्राम (३.०९ पाउण्ड) थियो। उनको अवस्था स्थिर रहेको छ । बिस्तारै उनको स्वास्थ्यमा सुधार भइरहेको छ ।

महिलाको पहिचान सबरीन अल-सकानीको रूपमा गरिएको छ। दुई घरमा इजरायली हवाई आक्रमणमा बालिकाकी आमा, बुबा र बहिनीसहित १९ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। जसमा एकै परिवारका १३ बालबालिका रहेका छन् ।

नवजात बालिकाका काका रामी अल शेखले आफ्नी जेठी बहिनी मलाक आफ्नो जन्ममा निकै खुसी भएको बताए । उनी आफ्नी कान्छी बहिनीको नाम रुह राख्न चाहन्थिन्, जसको अर्थ अरबीमा आत्मा हो। तर, कान्छी बहिनी संसारमा आउनुअघि नै मलाकको हवाई आक्रमणमा मृत्यु भयो ।

रफाहको अस्पतालमा शिशुको हेरचाह गरिरहेका डाक्टर मोहम्मद सलामाले नवजात शिशुलाई अर्को बच्चासँगै इन्क्युबेटरमा राखिएको बताए। उनलाई तीनदेखि चार सातासम्म अस्पतालमा राखिनेछ । बालिका बाँचे तर अनाथ भएर जन्मिनु सबैभन्दा ठूलो दुःखद कुरा डाक्टरले बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!