२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

दक्षिण कोरियामा डढेलो, १८ जनाको मृत्यु र २७ हजार विस्थापित

१३ चैत्र २०८१, बुधबार १४:१४

एजेन्सी | दक्षिण कोरियामा तीव्र हावाका कारण फैलिएको डढेलोले देशको दक्षिणी क्षेत्रहरूमा ठूलो क्षति पुर्‍याएको छ। आगलागीबाट हालसम्म १८ जनाको ज्यान गएको छ भने २७ हजार मानिसहरू विस्थापित भएका छन्। दुई सयभन्दा बढी संरचनाहरू नष्ट भएका छन्, जसमा घरहरू, कारखाना, सवारी साधनहरू र एक प्राचीन बौद्ध मन्दिरसमेत रहेका छन्।

सबैभन्दा प्रभावित क्षेत्रहरू मध्ये दक्षिणपूर्वी उइसेङ जङ्गलमा डढेलो निभाउने क्रममा एउटा हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ। अधिकारीहरूका अनुसार हेलिकप्टरमा एक पाइलट मात्र थिए।

आगलागीले ४३ हजार तीन सय ३० एकड जमिन जलेको छ भने १९ जना घाइते भएका छन्। सरकारी आपत्कालीन प्रतिक्रिया केन्द्रका अनुसार उद्धार कार्य तीव्र रूपमा जारी छ।

दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपति हान डक-सुले टेलिभिजन सम्बोधनमा यो डढेलोले विगतका अन्य धेरै डढेलोको तुलनामा बढी क्षति पुर्‍याएको बताएका छन्। उनले भने, “क्षतिहरू बढ्दै छन्। हामीले सबै डढेलो निभाउन हाम्रो सम्पूर्ण क्षमता प्रयोग गर्नुपर्छ।”

करिब चार हजार छ सय ५० अग्नि नियन्त्रक, सैनिक, र अन्य कर्मचारीहरू एक सय ३० हेलिकप्टरको सहयोगमा आगलागी नियन्त्रणमा जुटेका छन्। बिहीबार ५-१० मिलिमिटर पानी पर्ने सम्भावना रहे पनि, तीव्र हावा र सुक्खा अवस्थाले डढेलो नियन्त्रणमा कठिनाइ थपेको छ।

उइसेङमा रहेको गाउन्सा मन्दिरमा पनि ठूलो क्षति पुगेको छ। सातौँ शताब्दीमा निर्मित मन्दिरका ३० मध्ये करिब आधा संरचनाहरू नष्ट भएका छन्। नष्ट भएका संरचनामा दुई राज्य-निर्दिष्ट ‘खजाना’ पनि परेका छन्, जसमा सन् १६६८ मा बनेको मण्डप र सन् १९०४ मा जोसेओन राजवंशकालीन संरचना समावेश छन्।

अर्को ऐतिहासिक ‘खजाना’ आठौँ शताब्दीमा निर्मित ढुङ्गाको बुद्ध मूर्तिलाई सुरक्षित स्थानमा सारिएको छ।

कोरिया वन सेवाले डढेलोको चेतावनी उच्च ‘गम्भीर’ स्तरमा बढाएको छ। स्थानीय सरकारहरूलाई थप कामदार परिचालन गर्न, वन तथा पार्क प्रवेशमा प्रतिबन्ध लगाउन, र सैन्य अभ्यास रोक्न सिफारिस गरिएको छ।

मृतकमध्ये चार जना अग्नि नियन्त्रक तथा सरकारी कर्मचारी हुन्, जसले डढेलो नियन्त्रणको प्रयासमा ज्यान गुमाएका छन्। प्रारम्भिक अनुसन्धानले मानवीय त्रुटि —जस्तै चिहान सफाइका क्रममा आगोको प्रयोग वा वेल्डिङको स्पार्क— आगलागीको मुख्य कारण हुनसक्ने देखाएको छ।

डढेलो अझै पूर्ण रूपमा नियन्त्रणमा आइसकेको छैन, र अधिकारीहरूले स्थानीय बासिन्दाहरूलाई सुरक्षित स्थानतर्फ जान आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह