भारतले ग-यो चिनियाँ नागरिकको पर्यटक भिसा रद्द

Posted on: 24 Apr, 2022

वैशाख ११, काठमाडौँ । भारतले चिनियाँ नागरिकको पर्यटक भिसा रद्द गरेको छ । अंग्रेजी पत्रिका द टाइम्स अफ इन्डियामा छापिएको एक रिपोर्टअनुसार अन्तरराष्ट्रिय एयरलाइन्स संस्था आइएटीएले भारतको तर्फबाट चीनका नागरिकलाई जारी गरेको पर्यटक भिसा अब मान्य नभएको बताएको छ ।

यद्यपि, सरकारका शीर्ष अधिकारीले भारत अहिले पनि चिनियाँ नागरिकलाई व्यापार, रोजगार, कूटनीतिक र आधिकारिक भिसा दिइरहेको जानकारी दिएका छन् ।

चिनियाँ पर्यटकलाई भिसा नदिने भारतको निर्णय पनि चीनले कोभिडका कारण चीन छोडेर २० हजारभन्दा बढी भारतीय विद्यार्थीलाई चीन फर्कन नदिएको चीनको कदमपछि आएको पत्रिकाले लेखेको छ ।

चीनले थाइल्याण्ड, पाकिस्तान र श्रीलङ्काका विद्यार्थीलाई फिर्ता गर्न अनुमति दिएको छ तर भारतीय विद्यार्थीलाई वेटिङमा राखेको छ । विदेशमन्त्री एय जयशंकरले पछिल्लो महिना चिनियाँ विदेशमन्त्री वाङ यीको भारत भ्रमणका बेला यो मुद्दा उठाएका थिए तर बेइजिङले अहिलेसम्म यसले जवाफ दिएको छैन ।

पत्रिका लेख्छ, ‘यूके र क्यानडा ती देशमध्ये हुन् जसका नागरिक ई–पर्यटक भिसामा भारत जान सक्दैनन् तर ती देशहरुमा भारतीय नियोगहरुले जारी गरेको नियमित कागजी भिसामा भारत आउन सक्छन् ।’

जापान र अमेरिकाका नागरिकलाई जारी गरिएको भिसा बाहेक १० वर्षको वैधता हुने भारतीय पर्यटक भिसा पनि अब मान्य छैन ।आइएटीए नियमित रुपमा अपडेट जारी गर्दछ ताकि एयरलाइन्सहरुले कुन देशका नागरिकहरुलाई कुन भिसामा उडान गर्न अनुमति दिइन्छ भनेर थाहा पाउन सकियोस् ।

अप्रिल १९ मा जारी गरिएको नयाँ आइएटीए अपडेट भारतमा केन्द्रित छ। यो ती देशहरूको बारेमा हो जसका नागरिकहरूले ई-टुरिस्ट भिसामा भारत जान सक्दैनन्। दुई वर्षभन्दा बढीको अन्तरालपछि भारतले मार्च २७ मा १५६ देशका लागि विद्युतीय पर्यटक भिसा सुविधा पुनर्स्थापित गरेको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!