विश्वको कूल सैन्य खर्च २० खर्ब डलर, यी हुन् बढी खर्च गर्ने पाँच देश

Posted on: 25 Apr, 2022

वैशाख १२, किभ | गत वर्ष विश्वको सैन्य खर्च २११३ अर्ब डलर पुगेको छ । स्टकहोम इन्टरनेसनल पिस रिसर्च इन्स्टिच्युट, एसआइपीआरआई (सिप्री) नामक थिंक ट्यांकले यस्तो जानाकारी दिएको हो । 

अमेरिका, चीन, भारत, बेलायत र रुस गत वर्ष सबैभन्दा बढी खर्च गर्ने पाँच देश हुन् । सिप्रीका अनुसार कुल सैन्य खर्च ०.७ प्रतिशतले बढेको हो । अमेरिका, चीन, भारत, बेलायत र रुसले कूल खर्चको ६२ प्रतिशत हिस्सा ओगटेको छ । 

‘कोभिड–१९ महामारीको समयमा पनि विश्व सैन्य खर्च रेकर्ड तहमा पुगेको छ’, सिप्रीका डा. डिएगो लोपेज दा सिल्भाले भने । 

सन् २०२१ मा अमेरिकी सेनाले ८०१ अर्ब डलर खर्च गरेको जनाएको छ, जुन अघिल्लो वर्षको तुलनामा १.४ प्रतिशतले कम हो । तर, सन् २०१२ र २०२१ बीचमा यसको सैन्य अनुसन्धान र विकास २४ प्रतिशतले बढेको कारण अमेरिकाले ‘भावी पुस्ताको प्रविधि’ मा जोड दिएको छ । 

हाल युक्रेनसँग युद्धरत रुसले गत वर्ष आफ्नो सैन्य खर्च २.९ प्रतिशतले बढाएर ६५.९ अर्ब डलर पुर्‍याएको थियो । सिप्रीले रुसको सैन्य खर्चमा वृद्धि भएको यो लगातार तेस्रो वर्ष भएको जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!