वैशाख १५, काठमाडौँ | चीनले पाकिस्तानको कराँची शहरमा तीन चिनियाँ नागरिकको हत्यामा कडा प्रतिक्रिया दिँदै यसका लागि जिम्मेवार व्यक्तिहरुलाई कडा सजाय दिनुपर्ने धारणा व्यक्त गरेको छ ।
पाकिस्तानको कराँची युनिभर्सिटी कनफ्युशियस सेन्टरमा गत मंगलबार भएको आत्मघाती हमलामा तीन चिनियाँ शिक्षकको मृत्यु भएको छ । यो बिस्फोटमा एक पाकिस्तानी ड्राइभरको पनि मृत्यु भएको र अन्य घाइते भएका छन् ।
पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले चिनियाँ दूतावास पुगेर यो हमलामा मृत्यु हुने चिनियाा नागरिकप्रति समवेदना जताएको छ ।
यसअघि उनले ट्वीट गरेका थिए, ‘कराँचीमा चिनियाँ नागरिक र अन्यको मृत्युले मलाई गहिरो पीडा दिएको छ । पीडित परिवारप्रति मेरो हार्दिक समवेदना । म आतंकवादको यो कायरतापूर्ण कारवाहीको निन्दा गर्छु । दोषीलाई निश्चित रुपमा न्यायको कठघरामा ल्याइनेछ ।’हमलापछि पाकिस्तान स्थित चिनियाँ दूतावासले पाकिस्तान सरकारले चिनियाँ नागरिकमाथि पुनः यस्तो व्यवहार नहोस् भनेर सुनिश्चित गर्नुपर्ने बताएको छ ।
तर पाकिस्तानमा चिनियाँ नागरिकलाई निशाना बनाइएको यो पहिलो घटना भने होइन ।
– २६ अप्रिल, २०२२ मा कराँची आत्मघाती बम बिस्फोटमा तीन चिनियाँ नागरिकको मृत्यु
– १४ जुलाई, २०२१ मा खैबर पख्तुनख्वामा बम बिस्फोटमा १० चिनियाँ नागरिकको मृत्यु
– १४ जुलाई, २०२१ मा खैबर पख्तुनख्वामा बम बिस्फोटमा २६ चिनियाँ नागरिक घाइते भए ।
– २८ जुलाई, २०२१ मा कराँचीमा चिनियाँ नागरिकको गाडीमाथि गोली बर्साइयो ।
– ११ मे, २०१९ मा ग्वादरको पाँचतारे होटलमा चरमपन्थी हमला भयो जसमा चिनियाँ जनता बसेका थिए ।
– २३ नोभेम्बर, २०१८ मा चिनियाँ वाणिज्य दूतावासमा हमला, चार जनाको मृत्यु
– ११ अगस्ट, २०१८ मा दालबन्दिन, बलुचिस्तानमा भएको आत्मघातीमा तीन चिनियाँ इन्जिनियर घाइते भए
– फेब्रुअरी, २०१८ मा कराँचीमा दुई चिनियाँ नागरिकमाथि गोली चलाइयो, एक चिनियाँ नागरिकको टाउनकोमा गोली हानी हत्या
– मे, २०१७ मा क्वेटाबाट अपहरण गरेपछि चिनियाँ दम्पत्तिको हत्या
– जुलाई – २००७ मा पेशावरमा तीन चिनियाँ नागरिकको हत्या
कराँचीमा बम बिस्फोट कसरी भयो ?
पाकिस्तानमा चिनियाँ नागरिकलाई निशाना बनाइएका घटना पछिल्ला केही वर्षमा बढेको छ ।
मंगलबार कराँची विश्वविद्यालयको कन्फ्यूशियस सेन्टर बाहिर जुन आत्मघाती बम बिस्फोट गराइयो, त्यसमा तीन चिनियाँ शिक्षकको मृत्यु भएको छ ।
शिक्षकलाई लिएर जाँदै गरेको बस कन्फ्यूशियस सेन्टरतर्फ मोडिरहेको बेला उक्त हमला गरिएको हो ।
आत्मघाती बिस्फोटको सिसिटिभी फुटेज देखेपछि आत्मघाती हमलाकर्ता घटनास्थलमा पहिलेदेखि नै भएको र बस सेन्टरतर्फ मोड्नै लाग्दा महिलाले आफूलाई बिस्फोट गराइन् ।
यो बिस्फोटमा सेन्टरका नवनियुक्त निर्देशक एवं दुई शिक्षकको मृत्यु भएको छ । यसका साथै, भ्यानका पाकिस्तानी ड्राइभरको पनि बिस्फोटमा मृत्यु भयो ।
शारी बलोच उर्फ बरमशलाई बलोच लिबरेशन आर्मीकी आत्मघाती हमलाकर्ता बताइँदैछ ।
पाकिस्तानको पृथकतावादी संगठन बलूच लिबरेशन आर्मीकी मजिद ब्रिगेडले यो हमलाको जिम्मेवारी लिएको छ ।
संगठनका अनुसार यो हमलालाई शारी बलोच नामकी महिलाले गराएकी थिएन् र संगठनको तर्फबाट आत्मघाती बम बिस्फोट गराउने उनी नै पहिलो महिला थिइन् । बिबिसिबाट