जापानी प्रधानमन्त्रीले थप १४० रुसी नागरिकको सम्पत्ति रोक्का गर्ने घोषणा

Posted on: 06 May, 2022

वैशाख २३, काठमाडौँ | जापानी प्रधानमन्त्री फुमियो किशिदाले थप १४० रुसी नागरिकको सम्पत्ति रोक्का गर्ने बताएका छन्।

यसअघि नै जापानले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका दुई छोरी काटेरिना टिखोनोभा र मारिया भोरोन्टोभालगायत ३९८ रुसी नागरिकको सम्पत्ति रोक्का गरेको छ।

लण्डन पुगेका जापानका प्रधानमन्त्रीले बेलायती प्रधानमन्त्री बोरिस जोन्सनसँगको भेटपछि यस्तो घोषणा गरेका हुन्।

पत्रकारहरूसँग कुरा गर्दै किशिदाले रुसले हिंसाको परिणाम भोग्नुपर्ने बताएका छन्। यसका साथै उनले रुसको आक्रामकता युरोपका लागि मात्र समस्या नभएको बताए।

युरोपमा रुसको आक्रामकता र इन्डो–प्यासिफिक क्षेत्रमा चीनको बढ्दो वर्चस्वमा के समानता छ भनेर पत्रकारहरुले सोध्दा उनले भने,‘युक्रेनमा जे भयो भोलि पूर्वी एसियामा पनि हुन सक्छ।’

जापान र यसका सहयोगीहरूले इण्डो–प्यासिफिक क्षेत्रमा बल प्रयोग गरेर यथास्थिति परिवर्तन गर्ने एकपक्षीय प्रयासलाई कहिल्यै सहन नहुने पनि उनले बताए।

यस बिषयमा तपाइको प्रतिक्रिया...!