आफ्ना विदेशमन्त्रीको अभिव्यक्तिप्रति पुटिनले मागे माफी

Posted on: 06 May, 2022
वैशाख २३, काठमाडौं | रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना विदेशमन्त्रीले एउटा अन्तर्वार्तामा नाजी नेता हिटलरको पनि यहूदी रगत थियो भनेको विषयलाई लिएर माफी मागेको इजरायलले जनाएको छ । पुटिनले इजरायली प्रधानमन्त्री नाफ्ताली बेनेटसँगको फोनवार्तामा माफी मागेको बेनेटको कार्यालयले जारी गरेको वक्तव्यमा उल्लेख छ ।
यद्यपि उक्त टेलिफोन वार्ताबारे रुसले जारी गरेको विवरणमा माफीबारे उल्लेख गरिएको छैन । रुसी विदेशमन्त्री सेर्गेई लाभ्रोफले युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्की यहूदी हुँदाहुँदै पनि युक्रेनलाई नाजी राष्ट्रका रूपमा चित्रण गरेको औचित्य पुष्टि गर्ने प्रयासस्वरूप उक्त टिप्पणी गरेका थिए ।
लाभ्रोभले गत आइतवार इटलीको एउटा टेलिभिजनसँगको कुराकानीमा त्यस्तो बताएका हुन् । इजरायलले यहुदीहरूको आम नरसंहार अर्थात् होलोकस्ट भनिने घटनाको स्मरण दिवस मनाएको भोलिपल्ट उनको भनाइ आएको थियो।
उक्त दिनलाई इजरायलको पात्रोको सबैभन्दा गम्भीर दिनहरूमध्येको एक मानिन्छ । टेलिभिजनले युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्की स्वयम् यहुदी हुँदाहुँदै रुसले कसरी त्यहाँ नाजीकरणबाट मुक्त गर्न लडिरहेको भन्ने दाबी गर्न सक्छ ? भनेर सोधिएको थियो ।
त्यसको जवाफमा लाभ्रोफले भनेका थिए, ‘म गलत पनि हुनसक्छु तर हिटलरमा पनि यहुदीकै रगत थियो। त्यसैगरी जेलेन्स्की पनि यहुदी हुन् । त्यसको अर्थ केही पनि पूर्णरूपको हुँदैन। विद्वान् यहुदीहरू नै भन्छन् सबैभन्दा बढी यहुदी विरोधी प्रायः यहुदी नै हुने गर्छन्।’ रुसी विदेशमन्त्रीको उक्त भनाइले इजरायलमा आक्रोश पैदा गरेको थियो । दोस्रो विश्वयुद्धका बेला नाजी जर्मनीले ६० लाख यहुदीहरूको नरसंहार गरेको थियो।

यस बिषयमा तपाइको प्रतिक्रिया...!