रुसद्वरा युक्रेनको ओडेसा शहरमा हाइपरसोनिक क्षेप्यास्त्र प्रहार

Posted on: 10 May, 2022

वैशाख २७, काठमाडौँ | युक्रेनको ओडेसा शहरमा रुसले हाइपरसोनिक क्षेप्यास्त्र प्रहार गरेको बताइएको छ । 

मे ९ को भिक्ट्री डे सकिएलगत्तै रुसले यो आक्रमण गरेको हो । ओडेसामा लगातार क्षेप्यास्त्र प्रहार गर्ने क्रममा हाइपरसोनिक क्षेप्यास्त्र पनि उपयोग गरिएको बताइएको छ । 

त्यसबाहेक युक्रेनको इज्युममा धराशायी भएको एक भवनबाट ४४ जना नागरिकको शव बरामद गरिएको एक युक्रेनी अधिकारीले बताए । 

गत मार्च महिनामा उक्त पाँचतल्ले भवनमा प्रहार हुँदा त्यसमा सर्वसाधारण रहेको खार्किभ क्षेत्रीय प्रशासन प्रमुख ओलेह सिनेहुबोभले जानकारी दिए । 

पूर्वी युक्रेनमा रहेको इज्युम शहरमा रुसले नियन्त्रण कायम गरेको छ । यो अग्रमोर्चामा रहेको रणनीतिक शहर हो । 

मंगलवार रुसी सैनिकहरूले आकाशबाट ओडेसामा सातवटा क्षेप्यास्त्र प्रहार गरेको युक्रेनी सेनाले बतायो । त्यसक्रममा एक शपिङ सेन्टर र गोदाममा क्षति पुगेको छ । घटनामा एकजनाको मृत्यु भएको र पाँचजना घाइते भएको युक्रेनी सेनाले जनाएको छ । 

युक्रेनी थिंकट्यांक सेन्टर फर डिफेन्स स्ट्राटेजीजका अनुसार, रुसको सुपरसोनिक बम्बरले तीनवटा हाइपरसोनिक क्षेप्यास्त्र प्रहार गरेको थियो । आकाशबाट जमीनमा प्रहार गर्ने किन्जाल क्षेप्यास्त्र रुसले प्रहार गरेको हो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!