किन बलियो हुँदैछ डलरको भाउ ? विश्वभर मच्चिँदैछ खलबली

Posted on: 30 Sep, 2022

असोज १४, बिबिसी । अमेरिकी डलर अन्य मुद्राको तुलनामा पछिल्लो दशकमा सबैभन्दा बलियो स्थितिमा छ । यसको मतलब यो हो कि डलर किन्न धेरै महँगो भएको छ र एक डलरले अब पहिलाभन्दा धेरै पाउन्ड, युरो वा येन किन्न सकिन्छ । यसले विश्वभरका व्यवसाय र घरहरूलाई असर गरिरहेको छ ।

डलर इन्डेक्स अर्थात् डिएक्सवाईले अमेरिकी डलरलाई​ विश्वभरीका ६ मुद्रासँग तुलना गर्छ । यसमा युरो, पाउन्ड र येन समावेश छ ।​ डिएक्सवाई २०२२ मा १५ प्रतिशत बढेको छ । यी तथ्याङ्कले डलरको भाउ विगत २० वर्षयताकै उच्च रहेको देखाउँछ ।

यति बलियो किन छ डलर ?

बढ्दो मूल्यलाई नियन्त्रण गर्न अमेरिकाको केन्द्रीय बैंकले यस वर्ष धेरै पटक ब्याजदर बढाएको छ । यसले डलर प्रयोग गर्ने वित्तीय उत्पादनहरूबाट आम्दानी बढेको छ । यसको एउटा उदाहरण अमेरिकी सरकारी ऋणपत्र हो ।

ऋणपत्र भनेको सरकार र कम्पनीहरूका लागि भविष्यमा ब्याजसहित पैसा फिर्ता गर्ने वाचा गर्दै ऋण लिने माध्यम हो । सरकारी ऋणपत्र सामान्यतया सुरक्षित मानिन्छ । हालका दिनहरूमा, लगानीकर्ताहरूले अमेरिकी ऋणपत्र किन्न लाखौँ डलर खर्च गरिरहेका छन् । उनीहरूले यी बन्डहरू किन्न डलर खर्च गर्नुपरिरहेको छ र बढ्दो मागका कारण डलरको मूल्य बढेको छ ।

जब लगानीकर्ताले डलर किन्न अन्य मुद्राहरू प्रयोग गर्छन्, ती मुद्राको मूल्यमा गिरावट आउँछ । विश्व अर्थतन्त्र संकटमा परेका बेला पनि लगानीकर्ताहरु डलर किन्न चाहन्छन् । अमेरिकी अर्थव्यवस्था निकै ठूलो छ र यसलाई सुरक्षित स्थान मानिन्छ । यसैकारण पनि मूल्य बढ्छ ।

तेलको मूल्य वृद्धिका कारण युरोप र एसियाका धेरै अर्थतन्त्र समस्यामा परेका छन् । अमेरिकामा पछिल्लो ६ महिनामा मूल्यवृद्धिको प्रभाव त्यति देखिएको छैन ।

पछिल्लो तीन महिनामा अमेरिकाको अर्थतन्त्र पनि संकुचित भएको छ तर कम्पनीहरूमा कामदार हायरिङ भइरहेको छ, यसलाई बढ्दो विश्वासका रूपमा हेरिएको छ ।

पाउन्डभन्दा डलर बलियो

सेप्टेम्बर २६ मा, पाउन्ड डलरको तुलनामा रेकर्ड स्तरमा झर्यो, यसको मूल्य १.०३ डलर थियो। त्यसयता केही सुधार आएको छ ।

वर्षको सुरुवातदेखि अहिलेसम्म पाउन्ड २० प्रतिशतले घटेको छ । यसपछि बेलायतका अर्थमन्त्री क्वासी क्वार्टेङले ४५ अर्ब पाउण्डको कर कटौतीसहितको मिनी बजेट ल्याएका थिए । यसका साथै उनले व्यापार र घरमा विद्युत् अनुदान दिने घोषणा पनि गरे ।

उनले थप कर कटौती हुन सक्ने संकेत गरे । धेरै लगानीकर्ताहरूले बेलायतको ऋणपत्र र अन्य सम्पत्तिहरू बेचे किनभने उनीहरूलाई डर छ कि अर्थमन्त्रीको कदमले सरकारी उधारो धेरै बढ्न सक्छ । यसैकारण पाउन्डको भाउ पनि घटेको हो ।


कसरी बलियो डलरले कमजोर मुद्रालाई असर गर्छ ?

पाउन्ड जस्तै, जापानी येन डलरको तुलनामा २० प्रतिशत, र युरो १५ प्रतिशतले घट्यो ।

कमजोर मुद्रा भएका देशहरूले बलियो डलरबाट फाइदा लिन्छन् किनभने यिनिहरूका लागि सामान र सेवाहरू बेच्न सस्तो हुन्छ । यसले निर्यात बढाउँछ ।

तर, यसको अर्थ अमेरिकाबाट निर्यात महँगो हुन्छ भन्नु हो । तेलको मूल्य अमेरिकी डलरमा तय हुने भएकाले धेरै देशमा तेल महँगो भएको छ ।

उदाहरणका लागि, बेलायतमा वर्षको सुरुमा एक लिटर पेट्रोलको औसत मूल्य १.४६ थियो, जुन १५ प्रतिशतले बढेर औसतमा १.६७ प्रतिशत पुगेको छ । जुलाईमा, यो १.९१ डलरसहित यो मूल्य आफ्नो चरममा थियो ।

सरकार र कम्पनीहरूले प्रायः अमेरिकी डलरमा उधारो लिन्छन्, किनभने साधारणतया यसको मूल्य उनीहरुको आफ्नो मुद्राको तुलनामा स्थिर हुन्छ ।

डलरको भाउ बढेमा स्थानीय मुद्रामा ऋण तिर्न गाह्रो हुन्छ ।

बलियो डलरले अर्जेन्टीनाको सरकारमा नराम्रो प्रभाव पारेको छ । उसले अस्थायी रूपमा सामान आयातमा प्रतिबन्ध लगाएको छ । आफ्नो सुरक्षित मुद्रा सञ्चिति बचाउन उसले यो कदम चालेको हो ।

अन्य देशहरूले के कदम चालिरहेका छन् ?

विश्वका धेरै देशले ब्याजदर बढाएर आफ्नो मुद्राको मूल्य बढाउने प्रयास गरिरहेका छन् । बेलायतले हालसम्म २ प्रतिशतले दर बढाएको छ ।

बेलायतको केन्द्रीय बैंक, बैंक अफ इङ्गल्याण्डले ब्याजदर अझै बढ्न सक्ने बताएको छ । धेरै विज्ञहरुले ब्याजदर ६ प्रतिशतसम्म जान सक्ने बताएका छन् ।

युरोपेली केन्द्रीय बैंकले ब्याजदर १.२५ प्रतिशतले बढाएको छ । ब्याजदर वृद्धिले मूल्यवृद्धिलाई कम गर्न मद्दत गर्छ तर सर्वसाधारण र व्यापारीका लागि ऋण लिन महँगो पर्न जान्छ ।

यसले मुद्रास्फीति घटाउन मद्दत गर्छ, तर कम्पनीहरूको नाफा घट्ने डर छ र मानिसहरूले आफ्नो जागिर गुमाउन सक्छन् ।

परिवारले खर्च कटौती गर्न थाल्छन् । जसका कारण मन्दीमा जाने अर्थात् अर्थतन्त्र संकुचित हुने डर हुन्छ ।

तर हालैका दिनहरूमा, बैंक अफ इङ्गल्याण्डले पाउन्डको मूल्य घट्नु अघि बेलायतलाई मन्दीमा जाने चेतावनी दिएको थियो । 

आजको डलर भाउ कति छ ? अन्य देशको पैसाको भाउ थाहा पाउनुहोस् 

यस बिषयमा तपाइको प्रतिक्रिया...!