वैशाख २९, काठमाडौँ | सिङ्गापुर पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिबाट लाखौं ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा झापाको बाह्रदशी गाउँपालिका–६ घर भई काठमाडौं महानगरपालिका–१० नयाँ बानेश्वर बस्ने २० वर्षीय सृजन निरौला छन्।
निरौलासहितले १२ जनालाई वैदेशिक रोजगारका लागि सिङ्गापुरमा प्रतिष्ठित होटलमा काम लगाइदिन्छु भन्दै पटकपटक गरी ९५ लाख ठगेको आरोप छ।
वैदेशिक रोजगार विभागको पत्रपछि उपत्यका अपराध अनुसन्धान कार्यालयले निरौलालाई बुधबार राती काठमाडौंको सिनामंगलबाट पक्राउ गरेको हो।
उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको प्रहरीले जानकारी दिएको छ।