एजेन्सी | इजरायल र हमासबीच जारी युद्ध केवल गोला बारुदबाट मात्र लडिएको छैन । युद्धमा मोबाइल फोन, क्यामेरा तथा इन्टरनेटको पनि भरपुर प्रयोग भैरहेको छ । विश्वभर युद्धका भिडियोहरु फैलाउनका लागि दुबै पक्षबाट उल्लेखित प्रविधिको प्रयोग व्यापक ढंगल भैरहेको छ । हमासले यस युद्धमा रकेट, ड्रोन तथा प्याराग्लाइडर्स जस्ता आधुनिक प्रविधिको प्रयोग गरेको छ ।
हमासको यो शक्ति तथा आक्रमण कौशललाई देख्दा एउटा प्रश्न हमेसा उब्जिन्छ कि आखिर यस प्रकारका अतिवादी संगठनहरुसँग पैसा कहाँबाट आउँछ ?
वास्तवमा दुनियाँभरका कैयन् संगठनहरुले यस्ता समूहहरुलाई सहयोग गर्दछन् । तर पछिल्ला केही वर्षहरुमा यी समूहका सदस्यहरुसम्म डिजिटल माध्यमबाट वित्तीय सहयोग पुगिरहेको छ । हो, यसका लागि विकेन्द्रित डिजिटल मुद्राको रुपमा रहेको क्रिप्टोकरेन्सीले भूमिका खेलिरहेको छ ।
क्रिप्टोमा जम्मा हुन्छ रकम
डिसेन्ट्रलाइज्ड मुद्राको अनुगमन गर्ने काम वैश्विक वित्तीय प्रणालीका लागि चुनौतिको विषय बनिरहेको छ । सोही कारणले कैयन् देशहरुले यसलाई मान्यता दिइरहेका छैनन् । कालोबजारमा कहिलेकाहीँ क्रिप्टो करेन्सीको प्रयोग भैरहेको सूचना भने आइरहन्छ । सबैभन्दा डरलाग्दो कुरा त यसको प्रयोग आतंकवादी समूहहरुलाई आर्थिक सहयोग प्रदान गर्नका लागि समेत भैरहेको हुन्छ ।
सन् २०२० को अगष्टमा अमेरिकी सरकारले आतंकवादी संगठनहरुको लाखौं डलर क्रिप्टोकरेन्सी सिज गरेको थियो । ती आतंकवादी संगठनहरुले रकम जुटाउनका लागि क्रिप्टोकरेन्सीको प्रयोग गरिरहेका थिए ।
इलिप्टिक (Elliptic) का अनुसार सन् २०२१ को जुनदेखि सन् २०२३ को अगष्टसम्म प्यालेस्टाइन इस्लामिक जिहाद नामक एक आतंकवादी संगठनले करीब ९ करोड ३० लाख डलर रकम क्रिप्टोकरेन्सीका रुपमा जम्मा गरेको छ । सोही संगठनले नै इजरायलका सर्वसाधारणलाई बन्धक बनाएको छ । त्यस्तै हमासले पनि ४ करोड १० लाख डलर डिजिटल भुक्तानीको सहयोगमा संकलन गरेको छ ।
क्रिप्टो व्यवसायको वित्तीय नियमनमा सहयोग गर्ने संस्था इलिप्टिकका अनुसार सो रकमलाई कुन प्रकारले प्रयोग गरिएको छ भन्ने कुरा चाहिँ जानकारी छैन । सन् २०२२ मा अमेरिकी अधिकारीहरुले हमासको लगानी कार्यालयलाई अनुमति दिएका थिए र हमाससँग ५० करोड डलरको सम्पत्ति रहेको बताएका थिए ।
किन हुन्छ क्रिप्टोकरेन्सीको प्रयोग ?
क्रिप्टोकरेन्सी पटक–पटक विवादमा आउने गरेको छ । यसका विभिन्न कारण छन् । कहिले यसको स्थीरतालाई लिएर त कहिले यसको प्रयोगलाई लिएर । यो एउटा विकेन्द्रित मुद्रा हो । अर्थात् यस्तो खालको मुुद्राको कुनै केन्द्र हुँदैन ।
आम भाषामा भन्नुपर्दा हामीले प्रयोग गर्ने रुपैयाँलाई केन्द्रीय बैंकको रुपमा राष्ट्र बैंकले नियन्त्रण गर्दछ । कति नोट छापियो, त्यसको मूल्य, लेनदेन सबैको व्यहोरा राष्ट्र बैंकसँग हुन्छ । तर विकेन्द्रित मुद्रा यसको ठ्याक्कै उल्टो हुन्छ । यसलाई कुनै पनि सरकार, बैंक वा संस्थाले एक्लै नियन्त्रण गर्न सक्दैन । यसमा ब्लकचेक प्रविधि प्रयोग गरिएको हुन्छ ।
यसको कारोबार गोप्य तथा सुरक्षित हुन्छ । सोही कारणले यो मुद्रा कहाँ प्रयोग गरिएको छ त्यो पत्ता लगाउन कठीन हुन्छ । त्यसको फाइदा चाहिँ आतंकवादी संगठनहरुले उठाउँछन् ।
हमाससँग सम्बन्धित सैन्य शाखा अल कसम ब्रिगेडले सन् २०१९ मा बिटक्वाइन मार्फत् आर्थिक सहयोगको अपिल गरेको थियो । यस्ता समूहहरु अन्य डिजिटल मुद्राबाट पनि जोडिएका हुन्छन् जसमा डोजेक्वाइन, टेथर तथा युएसडिसी लगायतका छन् । यी संगठनहरुले पब्लिक मार्केटबाट पारम्परिक वित्तीय सम्पत्तिहरु सजिलैसँग खरीद गर्न सक्दैनन् । तथापि उनीहरुले स्मार्ट करोबारहरुको फाइदा निश्चित रुपमा उठाउन सक्दछन् ।
इलिप्टिकका अनुसार कतिपय समूहले क्रिप्टो माइनिङ समेत गरेको पाइएको छ जसका कारणबाट उनीहरुलाई क्रिप्टोकरेन्सी नेटवर्कको मेन्टेनेन्सबाट समेत फाइदा प्राप्त हुन्छ । आतंकवादी संगठनहरुलाई क्रिप्टोकरेन्सीको प्रयोग गर्नबाट रोक्नका लागि अमेरिका तथा इजरायलले मिलेर काम गरिरहेका छन् ।
यी मुलुकहरु बाइनान्स जस्ता क्रिप्टो एक्सचेन्ज मार्फत् आतंकवादी समूहहरुसँग सम्बन्धित अकाउन्टको पहुँचलाई रोक्नुपर्ने बताउँछन् । यसका लागि फाइनान्स एक्सन टास्कफोर्स अर्थात् एफएटिएफ गठन पनि गरिएको छ, जसको काम मुद्रा निर्मलीकरणलाई रोक्नु हो ।
इजरायलको मुद्रा निर्मलीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निषेध प्राधिकरणका पूर्वप्रमुख स्लोमिट व्यागम्यान क्रिप्टोकरेन्सी प्रविधि विकसित गरिरहेका कम्पनीहरुले मुद्रा निर्मलीकरण तथा आतंकवादी क्रियाकलामा लगानी रोक्नका लागि काम गर्नुपर्ने बताउँछन् । क्रिप्टोकरेन्सीको गलत प्रयोगको खतरालाई रोक्न नसकिएसम्म यसको असर परिरहने उनको भनाइ छ ।