जेठ ११, काठमाडौं | सहकारी ठगि प्रकरणको छानबिन गर्न गठन गर्ने संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको आज पनि बस्दैछ।
कार्यदलको बैठक बिहान ८ बजेलाई तय गरिएको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद जीवन परियारले जानकारी दिए। हिजो निष्कर्षविहीन भएको बैठक आजका लागि बोलाइएको हो।
उनले बैठकमा कार्यादेश रवि लामिछानेको नाम उल्लेख गर्ने विषयमा आफूहरुको अडान कायम रहेको बताएका छन्।
पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिमलगायत सहकारीको बचत अपचलनमा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको भन्दै कांग्रेसले क्षेत्राधिकारमा उनको नाम उल्लेख गर्नुपर्ने बताउँदै आएको छ।
सत्तापक्ष भने ती सहकारीका नामलाई अनुसूचीमा राखेर क्षेत्राधिकार तय गर्न सकिने बताएको छ। यसैमा कुरा मिल्न सकेको छैन।
यस अघि आइतबार भएको कार्यदलको बैठकमा सहमतिमा नपुगे पनि अर्को बैठकमा सत्ता पक्षले परिमार्जित प्रस्ताव पेश गर्ने सहमति भएको थियो।
तर आजको बैठकमा सहमती हुन सक्ने अवस्था नरहेको परियारको भनाइ छ। सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै सदनमा अवरोध गर्दै आएको कांग्रेसले सडकबाट पनि यो मुद्दालाई उठाउने भएको छ।