जेठ २७, काठमाडौँ | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छली ल्याएको सुनसहित ४ जना पक्राउ परेका छन् ।
भन्सार छलीको सुन संकलन गरेर लैजान लागेको अवस्थामा उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेहरूमा मोरङ केराबारी गाउँपालिका–९ बस्ने ३१ वर्षीय सरोज कोइराला, रौतहट कटहरिया नगरपालिका–६ बस्ने २४ वर्षीय मोहम्मद इन्तेयाज आलम, सप्तरी सुरुङ्गा नगरपालिका–५ बस्ने २१ वर्षीय मोहमद अरमान र सप्तरी खडक गरपालिका–६ बस्ने ३७ वर्षीय ज्याउदिन मिया रहेका छन ।
भन्सार छली अवैध रूपमा संकलन गरी ल्याएको करिब २५ ग्राम सुनको सिक्री, करिब ६९ ग्राम ९९ मिलिग्राम सुनको काँचो डल्लोसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । यस्तै ५० ग्राम सुनको सिक्रीसहित अन्य दुईलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
कतार एयर उडानद्वारा नेपाल आएका सरोजले भन्सार छली ल्याएको सुन मोहम्मद इन्तेयाजलाई सुनको सिक्री र काँचो सुन करिब ६९ ग्राम ९९ मिलिग्राम सुन दिइरहेका बेला पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
कतार एयर उडानद्वारा नेपाल आएका कोइरालाले भन्सार छली ल्याएको उक्त धातु आलमलाई दिने क्रममा विमानस्थलको पार्किङ एरियाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । चारै जनालाई बरामद सुनसहित भन्सार कार्यालय पठाइएको विमानस्थलका सुरक्षा प्रमुखले जानकारी दिए ।