माघ २३, बाजुरा । बाह्रबिसे–६ का चित्र विष्ट २० वर्षको अवधिमा २२ पटक भारत पुगे । अशोक बिहार, नयाँ दिल्लीलगायतका सहरमा मजदुरी काम गरे । तर उनी कहिल्यै सन्तुष्ट भएनन् र परिवारलाई खुसी पार्न सकेनन् । बत्तीस वर्षीय विष्टको जीवनयात्रा दया लाग्दो छ । असार र मङ्सिरमा घर आउने र खेती लगाएपछि भारत फर्किने उहाँको दिनचर्या थियो ।
“आम्दानी भएको पैसाले परिवारलाई हातमुख जोर्न हम्मेहम्मे थियो र ज्यानलाई कहिल्यै आराम भएन,” विष्टले भने ।
भारतमा मालिकबाट गाली अपमान सहनु पर्दा उनी धेरै दुःखी हुने गर्थे । भारत नफर्किने भनेर घर फर्की आउँथे तर अर्को विकल्प पनि थिएन, विष्टलाई । अघिल्लो कात्तिकमा उनी दशैं मनाउन घर आएका थिए । गाउँमा कृषि विकास सेवा केन्द्र टाँटेबाट प्रविधिज्ञको टोली उहाँको गाउँमा पुगेको थियो ।
तरकारी कृषक डबल रोकायाबाट तीन दिने प्रशिक्षणमा बस्ने अवसर पाए विष्टले । कृषि प्रविधिज्ञ नासु मीनप्रसाद जैशीले बेला–बेलामा तरकारीखेती गर्न दबाब दिने गर्थे । विष्टले जिल्ला कृषि विकास कार्यालय बाजुराबाट तरकारीखेतीका लागि टनेल सहयोग पाए । त्यसैबाट सुरुमै २१ हजार आम्दानी गरे । त्यसलगत्तै उनले तरकारीखेती सुरु गरे । दिल्लीका दिक्दारी सहेर आजित बनेका उनमा परीक्षणस्वरुप गरेको तरकारी खेतीबाट आशा जाग्यो । घरको नजिकै साँफे–मार्तडी सडक पनि छ । बजार पनि गाउँनजिकै छन् । सबै हिसाबले उनले तरकारीखेती गर्न उपयुक्त देखे । अहिले उनी तरकारीखेतीमा व्यस्त छन् ।
“बाइस पटकसम्मको भारत बसाइमा गाली र अपमान मात्र पाइएनन् कुटाइदेखि लुटपाटको चोटसमेत सहनुपर्यो, हाल त्यो तनावबाट मुक्ति मिलेको छ,” विष्टले सुनाए । छ जनाको परिवार विष्टसँग रहेको छ । गएको डेढवर्षदेखि उनले तरकारी खेतीबाटै परिवार धानिरहेका छन् ।
एक याममा मात्र उनले ४८ हजार रुपैयाँ आम्दानी गर्न सफल भए । दुई किलोमिटर लामो पाइपलाइन जोडेर कृषि विकास कार्यालय र विकास परियोजनाले पानी सुविधा सहयोग गरेको छ । सिँचाइ र नयाँ जातको बीउका लागि मानव संशोधन केन्द्रद्वारा सञ्चालित विकास परियोजनाले सहयोग गरेको विष्टले बताए ।
अहिले उनी कृषि फार्म दर्ता गर्ने तयारीमा छन् र त्यसका लागि आठ÷दशजना साझेदारको खोजीमा छन् । व्यवसायमा श्रीमती र घरपरिवारले साथ दिएका छन् । यो याममा धानखेती नगर्ने र तरकारी नै गर्ने सोचमा छन् । जिल्ला कृषि विकास कार्यालयले पनि उनलाई आर्थिक र प्राविधिक सहयोग गरिरहेको वरिष्ठ कृषि विकास अधिकृत डा रामकृष्ण श्रेष्ठले बताए ।
अठार वर्षको उमेरमा उच्च शिक्षा अध्ययन गर्न अर्थाभाव भएपछि भारत जानु उनलाई बाध्यता थियो । बाइस पटकसम्म भारत जाँदा पनि उनको जीवनमा खासै परिवर्तन भएन । उनी भन्छन् – ‘न त ज्यानले सुख पायो, न त परिवारलाई नै खुसी ।’ भारत गएर दिक्क बनेका विष्ट अहिले विदेश जाने युवालाई स्वरोजगारमा लाग्न आग्रह गर्छन् । ।
किरा लाग्ने र वर्षाद्को समयमा उत्पादन भएजति बजारमा बिकाउन नसकिने हो कि भन्ने उनलाई चिन्ता छ ।
जिल्ला कृषि विकास कार्यालयले उनलाई प्राथमिकतामा राखेर सहयोग गर्दैआएको डा श्रेष्ठले बताए । रासस