अनिल अधिकारी | (काठमाडौँ) | बि.स. २०७३ साल नेपालीहरुको लागि सबैभन्दा समस्याको बिषय मध्ये एक 'लोडसेडीङ्ग' को अन्त्यको लागि एतिहाँसिक बर्ष बन्न सफल बन्यो । २०७३ मा अरु धेरै बिषयलाई सुधारको बर्ष मान्न सकिएपनि लोडसेडीङ्ग अन्त्यको लागि स्वर्ण बर्ष बन्न सफल भयो । बिभिन्न बहानामा कामचोर, भ्रष्ट प्रवृति र कमिसनको खेललाई अन्त्य गर्दै लोडसेडीङ्गमा भएको अचुक प्रयासलाई जनताले खूला हृदयले स्वागत समेत गरेका छन् ।
लोडसेडीङ्ग अन्त्यको प्रयासमा सरकार र प्राधिकरणका अधिकारीहरुले गरेको प्रयत्न निकै उदाहरणीय बनेको छ साथै गर्न चाहेमा तत्काल असम्भव कुरा समेत सम्भव हुने रहेछ भन्ने प्रामाणित भएको छ । २०७३ साललाई फर्केर हेर्दा यो वर्ष पनि अन्य वर्ष जस्तै उत्तारचढावको वर्ष रह्यो । राजनीतिक रुपमा वर्ष २०७३ ले त्यति आशापूर्ण काम गर्न नसके पनि २०७४ मा निर्वाचन गर्न सकिए २०७३ अझै महत्वपूर्ण बर्ष बन्छ । बिशेष गरि राजनीतिक वृत्तमा मधेससँगको तिक्तता र भूकम्प पिडितलाई राहत वितरणमा यो बर्ष व्यतित भयो । पिडितहरुलाई पहिलो किस्ता लगभग पुर्याईसकिएको अवस्थामा सोचेजति भूकम्प पिडितहरुले आफुलाई नयाँ आवासमा बस्ने वातावरण भने पाउन सकेनन । अघिल्लो सरकारले बिकासको राजनीति सुरु गरेपनि उसले आफुलाई बिकासमा भाषणले मात्र प्रमाणित गर्न सक्यो । उसले गरेको भाषणलाई माओवादी/कांग्रेस लगायत अन्य दल सहितको संयुक्त सरकारले धेरै हदसम्म ब्यबहारिक रुपमा पुरा गर्ने प्रयास गरे भन्न सकिन्छ । त्यस्तै अब भविष्यमा बन्ने सरकारले समेत यस्तै खालका बिकासको राजनीति गर्नुपर्ने बाध्यता आईलागेको छ, जसको श्रेय भने केपी ओली नेतृत्वमा रहेको एमाले/माओवादी सरकारलाईनै जान्छ ।
सरकार परिवर्तनमा एमाले/माओवादी समीकरण एकाएक परिवर्तन भई कांग्रेस/माओवादी समीकरण पनि २०६३ कै सुरुवातसँगै भयो । त्यस्तै अख्तियार प्रमुख लोकमान सिंह कार्कीलाई महाभियोग लागेको बर्षको रुपमा पनि यो बर्ष परिचित बन्यो त्यस्तै मधेसको आन्दोलन र नाकाबन्दीको सामना गर्दा अघिल्लो एमाले नेतृत्वको सरकारले गरेको काम र त्यसको कारण मधेसमा परेको नकारात्मक प्रभावको सामनामै २०७३ बित्यो । मधेस समस्या समाधान भन्दा पनि राष्ट्रियताको नाममा एमालेले गरेको बिबिध कार्यक्रमका कारण मधेसमा तिक्तता अझै मौलाउन पुग्यो जुन बिषय अझै सेलाउन सक्केको छैन । मधेसी पनि नेपाली हुन्, उनीहरुमा पनि राष्ट्रियता छ भन्ने ब्यबहार प्रस्तुत नगर्दासम्म यो समस्या अझै बल्झिने स्थिति छ । अझै मधेसी दलहरुले आफ्नो लोकप्रियता र राजनीतिक स्वार्थको लागि समेत केपी ओली सरकारको ब्यबहार र त्यसपछिको बिबिध घटनाक्रमलाई नकारात्मक रुपमा टिप्पणी गर्दै मधेसीलाई आन्दोलनमा सहभागी गराउंदै आएको छ । जुन कुराले भावी दिनहरुमा पनि काँडाको रुपमा नेपाललाई बिझाईरहने निश्चित छ । मधेसीवादी दलले नाकाबन्दी गर्दै आफ्नै देशका जनतालाई न्युनतम आवाश्यकताको लागि बन्दि बनायो । जसमा मधेसी नेताहरुले आफुलाई राजनीतिमा उत्रिने गतिलो हतियार बनाए जसको कारण मधेस र पहाड-हिमाल प्रति फाटोमा टेवा दियो त्यसैले पनि २०७३ लाई निकै तनावपूर्ण बनायो । यस्तै पछिल्लो समय नेकपा एमालेको मेची महाकाली अभियानको क्रममा सप्तरीमा भएको गोलीकाण्डमा परि ५ जनाको मृत्युले नेपालको राजनीतिमा निकै ठूलो हलचल ल्यायो । यो बिषयले एमालेप्रति मधेस दृष्टिकोणमा समेत प्रभाव पारेको छ । एमालेले भन्ने गरेको राष्ट्रवादले मधेसलाई निषेध गर्छ भन्ने सोचमा थप बल पुग्ने गरि एमालेले आफुलाई खरो ब्यबहारमा उतार्दै आयो जसलाई मधेसी दलले निकै फाइदाजनक रुपमा उपयोग गरे ।
त्यस्तै राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा भारतीय राष्ट्रपति प्रणव मुखर्जीले गत कातिक १७ देखि १९ (नोभेम्वर २ देखि ४) सम्म नेपालको औपचारिक भ्रमणमा आए । जो १८ वर्षपछि नेपाल भ्रमणमा आएका भारतकै ठुला व्यक्तित्व हुन् । यस अघि सन् १९९८ मा भारतका तत्कालीन राष्ट्रपति केआर नारायण नेपाल भ्रमणमा आएका थिए ।
त्यस्तै नेपालको तर्फबाट भएको उच्चस्तरीय भ्रमण, राजदुत नियुक्तीको विषय तथा आइजीपी नियुक्तीको विषयले राजनीतिक मोड लिएर पनि छुट्टै चर्चा पायो । अर्को महत्वपूर्ण घटना जो देश र अर्को देशसंग सम्बन्धित छ, कञ्चनपुर जिल्लाको आनन्द बजारमा भारतीय सशस्त्र प्रहरी बलले दसगजासम्बन्धी विवादमा ताकी-ताकी एक नेपालीलाई मारे । भारतीय एसएसबिको गोलीले स्थानीय गोविन्द गौतमको निधन भयो । जो नेपालको लागि सहिद स्विकारिए । यो घटनाले नेपाल-भारत सम्बन्धमा अझै दरार पैदा गर्यो ।
त्यस्तै चर्चित र्याप गायक यम बुद्धको लन्डनमा आत्महत्याको बिषय पनि २०७३ मा बिर्सन नसक्ने बिषय मध्ये एक हो । मोरङ घर भएका अधिकारी २०७३ माघ १ गते लण्डन स्थति साउथ हयारोस्थित आफ्नै घरको बाथरुममा मृत अवस्थामा फेला परेका थिए ।
त्यस्तै २०७३ मा अत्यन्त हावादारी रातो नम्बरको आतंकले पनि निकै चर्चा कमायो । सामाजिक सञ्जालमा ‘रातो नम्बर’ बाट फोन आएको भन्दै अफवाह फैलाएको आरोपमा गायिका प्रश्न्ना पाण्डे र गायक दीपक बराईलीलाई प्रहरीले गत पुस २० गते पक्राउ समेत गर्यो । तर उनीहरुनै रातो नम्बर प्रकरणको सुरुवात कर्ता भने होइनन् । मोबाइल प्रयोगकर्तालाई रातो नम्बरबाट फोन आउने र त्यसले स्वास्थ्यमा गम्भीर जोखिम हुने भन्दै फेसबुक र ट्वीटरमा हावादारी पोष्टहरुलाई पत्यार मान्दै प्रचार गरिए जसले धेरैलाई आतंकित समेत बनायो ।
समग्रमा भन्नु पर्दा २०७३ नेपालीको लागि फलदायी बर्ष रह्यो । केहि तिक्तता केहि राजनीतिक अस्थिरता र केहि नकारात्मक कुरा संगै देशमा बिकासको राजनीति सुरु भएको बर्ष र धेरै बिकास आयोजनाको बन्द फाइलहरु यही बर्ष खुले । लोडसेडीङ्गको साथै स्वास्थ्य क्षेत्रमा पनि निकै सुधारको काम भए । बिशेषगरि मृगौला पिडितलाई निशुल्क सेवा र २०७४ लगत्तै निशुल्क मृगौला प्रत्यारोपणको लागि समेत सबै प्रक्रिया पुरा भई बजेट समेत निकाशा भईसकेको अवस्थामा जनताको स्वास्थ्यप्रति पनि केहि हदसम्म सफल काम भए । बिशेष गरि उर्जा क्षेत्रमा मन्त्री जनार्दन शर्मा, प्राधिकरण हाक्ने कुलमान घिसिङ्ग र उनको टिम साथै जनताको लगानीको लागि अनलाइन सर्वेक्षण निकै राम्रा प्रयास हुन् । त्यस्तै नेपालका सबै सरकारी कामकाजलाई अनलाइन गर्नुपर्ने बिषयमा पनि अन्य बर्षको तुलना धेरै कामहरु भए भने कतिपय कामहरु अनलाइनबाटै सुरु भईसकेका छन् ।
अब २०७३ हामी माझ छैन, नयाँ बर्षको सुरुवातसंगै बिगतका सकारात्मक सिकाईलाई अवलम्बन गर्दै थप नयाँ बिकासको कामलाई पछ्याउंदै जानुपर्नेछ । बिशेष गरि मधेस समस्या निराकरण, तीनै तहको निर्वाचन, संबिधान कार्यान्वयन, रुष्ट राजनीतिक दलसँग सहमति, बैदेशिक सम्बन्ध सुधार, तत्काल बैदेशिक रोजगारीमा भएका बेथितिलाई हल गर्दै देशमै रोजगारीको वातावरण र पारदर्शीता तथा शुसासनको काममा अघि बढ्नु आवश्यकता छ । २०७४ नेपालको लागि अझै फलदायी बनोस् शुभकामना !!