मकवानपुर । चुँडिएर भुइँमा लत्रिएको हाइटेन्सन लाइनको तारबाट करेन्ट लाग्दा मकवानपुरमा एक जना युवकको मृत्यु भएको छ । मकवानपुरको मनहरि गाउँपालिका–८ दारीमबासमा ११ हजार भोल्टको हाइटेन्सन तारमा करेन्ट लागेर स्थानीय ३८ वर्षीय मंगलसिंह प्रजाको मृत्यु भएको हो ।
उनलाई करेन्ट लागेर लडिरहेको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । यही स्थानमा करेन्ट लागेर स्थानीय ४० वर्षीया इन्द्रमाया मगर पनि घाइते भएकी छन् । घरबाट मनहरितर्फ आउने क्रममा उनलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताए ।