2026-08-05 09:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

धुलिखेल–खावा सडक स्तरोन्नतिको काम समयमै नहुँदा यात्रुलाई सास्ती

2025-06-24
काठमाडौँ । अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित निर्माणाधीन धुलिखेल–खावा सडकखण्डको स्तरोन्नति कार्य अलपत्र अवस्थामा रहँदा यो वर्षायाममा यात्रुले सास्ती खेप्नु परेको छ । करिब चार वर्षसम्म सडक नबनेको र निर्माणले गति नलिएपछि ठेक्का रद्द गरेको डिभिजन कार्यालय भक्तपुरले स्पष्ट गरेको छ ।
निर्माण सम्झौता रद्द भएको सो सडकखण्डको स्तरोन्नतिका लागि स्रोत सुनिश्चित भए पनि नयाँ ठकेकेदारमार्फत काम थाल्न अझै केही समय लाग्ने डिभिजन कार्यालयले जनाएको छ ।
उक्त सडकखण्डको स्तरोन्नतिको काम तोकिएको समयसीमाभित्र पूरा नभएपछि  नियमानुसार ठेक्का रद्द भएसँगै सम्बद्ध निर्माण व्यवसायीले उच्च अदालत पाटनमा मुद्दा हालेका थिए । जिल्ला सदरमुकाम धुलिखेलदेखि–खावासम्मको सडक विस्तारको काम उक्त कम्पनीले २०७९ जेठ २० गते २२ महिनाभित्र बनाइसक्नुपर्ने गरी रु २० करोड १९ लाख ४६ हजार ठेक्का लिएको थियो ।
ठेकेदार कम्पनीले निर्माणमा आलटाल गर्दै आएका कारण समयसीमा सकिएको ११ महिना बितिसक्दा पनि २५ प्रतिशत निर्माण कार्य भएको थिएन । सम्झौता अनुसारको समयसीमा सकिएको ११ महिनापछि कार्यालयले गत साल फागुन १५ गते स्तरोन्नतिको जिम्मा लिएको ‘गौरी–पार्वती निर्माण सेवा’सँगको ठेक्का रद्द गरेको थियो ।
उक्त सडकखण्डको ठेक्का रद्द गरेपछि अदालत गएका व्यवसायीको मुद्दामा केही दिनपछि अदालतले ‘निर्माण कम्पनीलाई कालो सूचीमा राख्ने, धरौटी रकम जफतलगायत कारबाही नगर्न तथा हाल जुन अवस्थामा रहेको छ, सोही अवस्थामा राख्न’ अन्तरिम आदेश जारी गरेपछि सडकखण्ड निर्माणका काम अवरुद्ध भएको हो ।
स्रोत सुनिश्चित भए पनि नयाँ ठेक्कामा जाँदा अझै केही महिना लाग्ने भएकाले सवारीसाधन र यात्रुलाई सहज बनाउन खाल्डाखुल्डी पुर्ने काम गरिएको सडक डिभिजन कार्यालयले जनाएको छ ।
कार्यालय प्रमुख सिडिई सुमन योगेशले केही दिनमै नयाँ ‘स्टिमेट’ तयार गरी नयाँ ठेक्का प्रक्रिया अघि बढाउने जानकारी दिनुभयो । “नयाँ ठेक्काका लागि दुईदेखि साढे दुई महिना लाग्छ, भदौ अन्तिम साता वा असोजदेखि काम सुरु गर्नेगरी तयारी हुन्छ,” उहाँले भन्नुभयो । सो सडक स्तरोन्नतिका लागि नयाँ ठेक्का खोल्न रु ४२ करोड स्रोत सुनिश्चित भएको कार्यालयले जनाएको छ ।
कार्यालयका प्रमुख सुमन योगेशका अनुसार अदालतको आदेशबाट पुनः ठेक्का प्रक्रिया अघि बढाउन कुनै बाधा पर्दैन । यसअघि लिखित स्पष्टीकरण दिए पनि सन्तोषजनक र  विश्वसनीय जवाफ नआएकाले बाध्य भई ठेक्का रद्द गर्नु परेको हो ।
सो सडक निर्माण कार्यअन्तर्गत अहिलेसम्म धुलिखेल बसपार्कदेखि जिपलाइनसम्म डाँडा काट्ने काम मात्रै भएको छभने केही स्थानमा नाली तथा ‘ड्रेन–वाल’ लगाउने काम पनि भएको छ । जिपलाइनदेखि तल खावासम्म सडक मात्रै भत्काइएको तर एक किलोमिटर भागमा ‘कटिङ’ गर्न बाँकी रहेको छ । अघिल्लो जेठमा धुलिखेलतर्फबाट बेस, सब–बेस हाल्ने काम सुरु गरिए पनि पटकपटकको वर्षाले बगाएर खण्डहरझैँ बनाएको थियो ।
समयमै निर्माणसम्पन्न नहुँदा यस राजमार्ग भएर गुड्ने सवारीसाधनका यात्रुले दुई वर्षदेखि निकै सास्ती खेप्दै आउनुपरेको छ । सडक निर्माणको काम समयमा नसकिदा पुनःनिर्माणका लागि भत्काइएको सडकमा सवारीसाधन दुर्घटना परी कैयौँ यात्रु घाइते हुनाका साथै उनीहरूले सास्ती व्यहोर्नु परेको छ । केही वर्षदेखि जीर्ण बन्दै आएको धुलिखेल–खावा सडकखण्डको राजमार्ग १२ मिटरको फराकिलो बनाई कालोपत्रे गर्न लागिएको थियो ।
उक्त सडकमा गुड्ने मालवाहक सवारीको भारवहन क्षमतालाई मध्यनजर गर्दै बलियो बनाउन सो कार्यालयले नेपालमै पहिलोपटक ग्राभेलमाथि २० सेन्टिमिटर बाक्लो सिमेन्ट मिसाइएको बेस हाल्ने तथा दुई चरणको ‘डिबिएम र आस्फाल’ कालोपत्रे गर्ने योजना बनाएको थियो । अरनिको राजमार्ग हुँदै छिमेकी मित्रराष्ट्र चीनसँगको उत्तरी नाका  सिन्धुपाल्चोकको तातोपानीसहित दोलखा, रामेछाप जिल्ला पुग्ने यो सडकखण्डको निर्माण कार्यलाई उच्च प्राथमिकता दिएको कार्यालय प्रमुख एवं सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले जानकारी दिनुभयो ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अनावश्यक ग्यास भण्डारण नगर्न निगमको आग्रह, दुई साताभित्र अभाव अन्त्य हुने दाबी आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा फ्री भिसा–फ्री टिकटको नीति १० वर्षदेखि कागजमै सीमित छ: श्रममन्त्री यादव वैदेशिक रोजगारीमा जान श्रमिकले एउटा निश्चित शुल्क तिरेर जानु पर्नेछ : डिकबहादुर खत्री धार्मिक तनाव र विवादको समाधानका लागि हिन्दु राष्ट्र पुन:स्थापना आवश्यक: राजेन्द्र लिङ्देन मुलुकलाई सबैभन्दा बढी आवश्यक परेको कुरा नीतिगत आत्मविश्वास हो: अर्थमन्त्री वाग्ले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक तरकारी बोकेको ट्रक दुर्घटना हुँदा ट्रकमा सवार एक जनाको मृत्यु सुनचाँदीको मूल्यमा भारी वृद्धि यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर विदेशबाट नेपाल फर्किने नेपालीलाई सुन तस्कर तथा दलालको प्रलोभनमा नपर्न आग्रह नक्कली सुकुम्वासी वास्तवमा असली सुकुम्वासीका दुस्मन हुन्: राजीव खत्री सरकार आर्थिक समृद्धिको लक्ष्यमा छ : परराष्ट्रमन्त्री खनाल सुनसरी घटनाको जिम्मा सरकारले लिनुपर्छ: भीष्मराज आङदेम्बे नेप्से परिसूचक २१.१५ अंकले घट्यो हिमाल आरोही निर्मल पुर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न माग बाढी र पहिरोले पाँच सडकखण्ड अवरुद्ध मधेसमा जहिले पनि गोली मात्रै किन चल्छ, लाठी र टियर ग्यास किन चल्दैन? : सांसद सिंह नेपालमा एउटै मात्र सेना छ, त्यो हो नेपाली सेना: हर्कराज राई सुनसरी लगायतका घटनाको निष्पक्ष अनुसन्धान गर्न कांग्रेसको माग