२०८२, २७ माघ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कोशी प्रदेश

पर्यटन प्रवर्द्धनको पर्खाइमा होङ्मा पोखरी

२०८२, ११ असार बुधबार १५:१५
काठमाडौँ । जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीस्थित पर्यटकीय सम्भावना बोकेको होङ्मा पोखरी पर्यटन प्रवर्द्धनको पर्खाइमा छ । सम्भावना बोकेर पनि ओझेलमा परेको यो पोखरीको संरक्षण र प्रचारप्रसार गर्न सके आन्तरिक पर्यटन प्रवर्द्धन हुने स्थानीय बताउँछन् ।
वरिपरि हुर्कंदै गरेका गुराँस, चिमाल, इन्द्रकमलका साथै अनार, नास्पाती, स्याउलगायत विभिन्न प्रजातिका फलफूलका बिरुवाले पोखरीलाई आकर्षक बनाएका छन् ।
सौन्दर्यकरणका लागि बगैँचा बनाउने उद्देश्यले रोपिएका फलफूलका बीचमा बाह्रै महिना पानी जम्ने पोखरी र पोखरीभरि पानी रातो देखिने राता माछा देखिन्छन् । करिब एक हजार ५०० मिटर उचाइमा यो पोखरी अवस्थित छ । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने जन्तेढुङ्गा गाउँपालिकाको ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थलका रूपमा अवस्थित होङ्मा पोखरी पर्यटन प्रवर्द्धनको पर्खाइ छ ।
पौराणिक धार्मिक ग्रन्थ हिमवतखण्डको पुराण र किरात मिथकमा समेत उल्लेख भएको यो पोखरीको संरक्षणका लागि जन्तेढुङ्गा–५ को वडा कार्यालयले रु १० लाख, कोशी प्रदेश सरकारले चार वर्षअघि रु १० लाख र दुई वर्षअघि रु पाँच लाख बजेट विनियोजन गरेर स्तरोन्नति गरिएको गाउँपालिकाका उपाध्यक्ष खेमबहादुर खड्काले जानकारी दिनुभयो ।
वडा कार्यालय र प्रदेश सरकारबाट विनियोजन गरिएको उक्त रकमले पोखरीको तल्लोभागमा तारजालीसहित ढुङ्गाको बाँध बाँधिएको छ भने वरिपरि तारजालीको घेराबार, विभिन्न प्रजातिका फलफूलका बिरुवा रोप्ने तथा सरसफाइसहित सुन्दर बनाइएको छ ।
करिब १२ रोपनी क्षेत्रफल सरकारी जमिनमा फैलिएको यो पोखरी हिन्दू र किरात धर्मावलम्बीको आस्थाको केन्द्रका रूपमा रहेको स्थानीय विज्ञान राईले बताउनुभयो । उहाँका अनुसार चारैतिर हरियाली डाँडापाखा रहेको यो ऐतिहासिकस्थल नजिकबाट अर्को पर्यटकीयस्थल भञ्ज्याङखर्क हुँदै छिमेकी जिल्ला भोजपुर जोड्ने ग्रामीण सडक निर्माण गरिएको छ ।
आर्थिक वर्ष २०७९/८० देखि सङ्घ र प्रदेश सरकारबाट समपुरक, समानीकरण, विशेष शीर्षकबाहेक अन्य कुनै निकायबाट आर्थिक सहयोग उपलब्ध नहुँदा स्तरोन्नतिमा समस्या भएको गाउँपालिकाका उपाध्यक्ष खड्काले बताउनुभयो ।
“आवश्यक बजेट उपलब्ध नहुँदा पोखरीको पर्यटन प्रवर्द्धन गर्न सकिएको छैन । वर्षायाममा पोखरीको पानी धमिलो हुन्छ । यसले यहाँ पाइने राता माछा लोप हुने अवस्थामा पुगेका छन्”, उहाँले भन्नुभयो, “स्थानीय तहको स्रोतले यसको संरक्षण तथा प्रवर्द्धन गर्न सकिँदैन । सम्बन्धित मन्त्रालय (संस्कृति, पर्यटन तथा नागरिक उड्डयन)मा आवश्यक बजेट उपलब्ध गराइदिन माग गरिए पनि अहिलेसम्म सम्बोधन भएको छैन ।”
पौराणिक ग्रन्थ हिमवतखण्डको पुराणमा छोरी भानुमतीलाई भेट्न आउँदा विष्णुले बराहपोखरीमा नुहाउनुभएको भन्ने उल्लेख छ । होङ्मा पोखरी र बराहापोखरी बीचको धार्मिक सम्बन्धसमेत भएकाले यसलाई संरक्षण तथा प्रवर्द्धन गर्न सुरु गरिएको उपप्रमुख खड्काको भनाइ छ ।
बालाचतुर्दशीको अवसर पारेर बराहपोखरीमा लाग्ने मेलाको भोलिपल्ट होङ्मा पोखरीमा ठूलो मेला लाग्ने स्थानीयले बताएका छन् । प्राकृतिक रूपमा बनेको यो पोखरीलाई स्थानीय तह स्थापनासँगै कार्यान्वयनमा आएपछि संरक्षण तथा प्रवर्द्धन सुरु गरिएसँगै आन्तरिक तथा बाह्य पर्यटकको आवागमन वृद्धि हुँदै गएको स्थानीय वीरबल किरातीले बताउनुभयो ।
सिकारी युगमा यो पोखरीमा पानी खान आउने जीवजन्तुलाई स्थानीय किरात समुदायले ढुकेर÷पर्खेर सिकार गर्ने चलन रहेकाले यसलाई होङ्मा पोखरी भन्ने गरिएको उहाँले जानकारी दिनुभयो । “किरात राई बान्तवा भाषामा होङ्मा भनेको ढुक्नु÷पर्खनु हो । सिकारी युगमा यो पोखरीमा पानी खान आउने जीवजन्तुलाई स्थानीय किरात समुदायले पर्खेर सिकार गर्ने चलन भएकाले यसलाई होङ्मा पोखरी भनिएको हो”, उहाँले भन्नुभयो, “पोखरीको दक्षिणी भेगमा होङ्मा थान छ । यहाँ हरेक वर्षको वैशाखे पूर्णिमामा पूजाआराधना गरिन्छ ।”
पोखरीसँगै रहेको होङ्मा थानमा पूजाआराधना गरेमा मानव तथा जीवजन्तुलाई शुभ हुने जनविश्वास रहिआएको छ । होङ्मा पोखरीमा परापूर्वकालमा बूढापाकाहरू भेला भएर दुःखसुखका कुरा साटासाट गर्ने प्रचलन रहेको स्थानीय ज्येष्ठ नागरिक बताउँछन् ।
धार्मिक तथा पर्यटकीयस्थल होङ्मा पोखरीप्रति स्थानीयमा रहेको जनविश्वासलाई सम्बोधन गर्न गाउँपालिकाको तर्फबाट संरक्षण तथा प्रवर्द्धन गर्न सुरु गरिएको गाउँपालिकाका अध्यक्ष अरुणादेवी राईले बताउनुभयो । “यो ऐतिहासिक पोखरी हो । यसको संरक्षण, विकास र पर्यटन प्रवर्द्धनमा पालिकाले पहल गरिरहेको छ”, उहाँले भन्नुभयो, “किरात मिथकमा उल्लेख भएको यो पोखरीलाई स्तरोन्नति गर्दै संरक्षण तथा प्रवर्द्धनमार्फत पर्यटकीय गन्तव्य बनाउने योजनामा छौँ ।”
होङ्मा पोखरीको स्तरोन्नति तथा सौन्दर्यकरणका लागि निजी क्षेत्रलाई लगानी गर्न खुला गरिएको गाउँपालिकाले जनाएको छ । निजी क्षेत्रका लागि गाउँपालिकाको तर्फबाट नीति बनाएर एउटै किसिमको फलैँचा निर्माण तथा फलफूलका बिरुवा रोप्ने वातावरण सिर्जना गरिएको गाउँपालिकाका अध्यक्ष राईले जानकारी दिनुभयो ।
यस पोखरीमा वैशाख पूर्णिमादेखि गुरु पूर्णिमासम्म हिन्दु धर्मावलम्बीले परेवा र बाख्राको पाठी तथा किरात समुदायले कुखुराको भालेको बलि दिएर पूजाआराधना गर्ने परम्परा रहिआएको छ । हिन्दू र किरात धर्मावलम्बीको सङ्गमस्थल होङ्मा पोखरीसम्म पुग्नका लागि स्थानीय सरकारको लगानीमा सडकमार्ग निर्माण गरेर सञ्चालनमा ल्याएकाले आवतजावतमा सहज भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु दुर्गा प्रसाईंलाई तत्काल रिहा गर्न राप्रपाको माग निर्वाचनका लागि सुरक्षा सुदृढ बनाउन सरकार प्रतिवद्ध छ: गृहमन्त्री अर्याल चुनाव पछाडि फेरि कहीँ कतै आगो लाग्नु हुँदैन: गगन थापा यसपटक चितवन मात्र जितेर हुँदैन, देशैभरि जित्नुपर्ने अवस्था छ: रवि लामिछाने प्रधानमन्त्री कार्कीबाट अभिनेता सुनिल थापाको निधनप्रति दुख व्यक्त एघार हतियार बुझाइयो मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु वरिष्ठ कलाकार सुनिल थापाको निधन काठमाडौँमा चर्को आवाज निकाल्ने मोटरसाइकलमाथि कडा निगरानी मोटरसाइकल पार्किङको विषयमा झगडा हुँदा एक जनाको मृत्यु स्रोत नखुलेको रकमसहित एक जना पक्राउ भिड्न आउँछु भन्नेलाई म स्वागत गर्छु: केपी शर्मा ओली नेपाल–भारत सीमामा हतियारसहित एकजना पक्राउ नेपालको सबैभन्दा पुरानो पार्टी पनि कांग्रेस हो र सबैभन्दा नयाँ पार्टी पनि कांग्रेस नै हो: सभापति थापा सिरिन्ज आक्रमणबाट एक जनाको मृत्यु सामाजिक सञ्जाल विधेयक फिर्तासम्बन्धी प्रस्ताव राष्ट्रियसभामा प्रस्तुत हुँदै सुनचाँदीको मूल्य घट्यो कांग्रेसले कसैसँग चुनावी गठबन्धन गर्दैन: देवराज चालिसे