काठमाडौँ | जिल्ला कारागार मोरङको महिला जेलभित्रको शौचालयमा एक महिला कैदी मृत फेला परेकी छन् । बुधवार बिहान सुनसरीको बराहक्षेत्र नगरपालिका-६ की ३२ वर्षीया राधा भट्टराई झुण्डिएको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहरमा आफ्ना दुई छोरा र छोरीसहित हाम फालेकी महिलालाई प्रहरीले पक्राउ गरेको छ। २०८० साल माघ महिनाको पहिलो साता घटेको यस घटनामा ६ वर्षीया छोरीको ज्यान गएको थियो भने आमा र एक छोरा सकुशल उद्धार भएका थिए। स्थानीय प्रत्यक्षदर्शीका अनुसार, नहरमा हाम फालेकी भट्टराई थरकी ती महिलालाई र एक छोरालाई तत्काल उद्धार गरिएको थियो। तर अर्की छोरी भने बगेर बेपत्ता भएकी थिइन् । पछि खोजी गर्दा छोरी मृत अवस्थामा फेला परेकी थिइन्।
घटनापछि अनुसन्धान थालिएको थियो र सोही क्रममा प्रहरीले माघ ५ गते ती महिलालाई नियन्त्रणमा लिएको हो। प्रारम्भिक अनुसन्धान अनुसार घटना आत्महत्या प्रयासको संज्ञामा आएको भए पनि त्यसको पछाडि रहेको कारण र मनोवैज्ञानिक अवस्थाबारे थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ।