काठमाडौँ | प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संसद र सरकारले काम गर्दा निरन्तरता होइन, क्रमभंगता गर्दै अघि बढ्नुपर्ने बताउनुभएको छ। अन्तरव्यवस्थापिका सम्मेलन २०८३ को शनिबार टीकापुरमा उद्घाटन गर्दै सभामुख अर्यालले यस्तो बताउनुभएको हो। उहाँले भन्नुभयो, “हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ। असफल कामलाई निरन्तरता होइन, क्रमभंगतामा जानुपर्छ।”
सभामुख अर्यालले सङ्घीय संसदमा सबै प्रदेशका सभामुख र उपसभामुख सहभागी हुने यस प्रकारका कार्यक्रमले नतिजामूलक उपलब्धि दिनुपर्ने र त्यसको प्रतिफल नागरिकले स्पष्ट रूपमा थाहा पाउनुपर्ने बताउनुभयो। उहाँले संविधानले तीन तहका सरकारबिच समन्वय, सहकार्य र सहअस्तित्वको परिकल्पना गरेको उल्लेख गर्दै राष्ट्रलाई अघि बढाउन अघिल्लो पुस्ताको अनुभव र बलिदानको सम्मान गर्दै जेनजी पुस्ताको भावना समेटेर अघि बढ्नु आजको आवश्यकता भएको बताउनुभयो।
कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले यसअघिका सम्मेलनमा गरिएका घोषणाहरूको कार्यान्वयन अवस्था र सङ्घीय तथा प्रदेश व्यवस्थापिकाले गर्न नसकेका काम तथा स्थानीय तहको भूमिका छुटेको विषयमा समीक्षा हुनुपर्ने बताउनुभयो। संसदका सभामुख, उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष, मधेश प्रदेशबाहेकका प्रदेश सभाका सभामुख तथा उपसभामुखहरू, सुदूरपश्चिम प्रदेश सभाका सदस्यहरू, सङ्घ र प्रदेश व्यवस्थापिकाका सचिव तथा सहसचिवहरू र सुदूरपश्चिम प्रदेशस्थित सुरक्षा संयन्त्रका प्रमुखहरू सहभागी हुनुहुन्छ।
सङ्घीयता कार्यान्वयनका लागि सङ्घीय संसद र प्रदेश सभाबीच प्रभावकारी समन्वय, सहयोग, सहकार्य र सहअस्तित्व सुदृढ गर्ने उद्देश्यसहित सुरु भएको सम्मेलन दुई दिनसम्म चल्ने सुदूरपश्चिम प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारीले जानकारी दिनुभयो। सुदूरपश्चिम प्रदेश सभा सचिवालयको व्यवस्थापन तथा अन्तरव्यवस्थापिका मञ्चको आयोजनामा सम्मेलन गरिएको हो।