राम प्रसाद लामिछाने
हाम्रो यात्रा कार्तिक १ गते बिहान ५ बजे गुलरियाबाट आरम्भ हुन्छ ।
बिहानको द्मयासमिसे उज्याल"/>
राम प्रसाद लामिछाने
हाम्रो यात्रा कार्तिक १ गते बिहान ५ बजे गुलरियाबाट आरम्भ हुन्छ ।
बिहानको द्मयासमिसे उज्याल"/>
राम प्रसाद लामिछाने /
हाम्रो यात्रा कार्तिक १ गते बिहान ५ बजे गुलरियाबाट आरम्भ हुन्छ ।
बिहानको द्मयासमिसे उज्यालोमा लालपुर फाँटको बाटोमा चराहरू (कौवाहरू) को झुण्डले बाटै भरी लस्करका साथ हाम्रै स्वागत गर्दै हाम्रो नजिकै उडिरहँदा लाग्थ्यो कुनै शुभ सन्देश दिइ रहेका र भनि रहेका छन् । कि “तिमीहरूको यात्रा फलदायी हुनेछ ।” मन्द मन्द कुहिरो लाग्न सुरु गरेको अवस्था । मौसमले पनि शरद ऋतुलाई स्वागत गरी रहेको अवस्था । हाम्रो यात्रा गुलरिया देखि मैनापोखर, बाँसगढी, सम्झना बजार बाँके हुँदै बर्दिया जिल्लाको पूर्वि चिसापानी आर्मी ब्यारेक भएर सुर्खेत तर्फ बढ्दछ । चिसापानीमा इन्ट्री गरी अघि बढेपछि केही पर उकालो लाग्ने घुम्तिमा म झुक्किएर पल्टन पुग्छु । तर सँगै यात्रामा रहेका साथी १–२ कलिोमिटर पर पुगी सकेकाले उहाँलाई पत्तै हुँदैन । विपरित दिशाबाट कुनै मोटर नआएका हुँदा मलाई केही भएन साथै चोट पटक केही लागेन । बरु विपरित दिशा तर्फबाट आएका मोटरसाइकलका सहयोगी हातहरूले मलाईसहयोग गरेपछि म निरन्तर यात्रामा अगि बढी रहेँ । यात्रा अघि बढ्दै गर्दा करिब बिहानीको ६:३० बजे बबई चेपाङ पुगेर थकाई पनि नमारी हामी हर्रे पुग्नु अघि भञ्ज्याङ नजिकैको चौतारीमा केही पल विश्राम गर्न पुग्यौं । बिहानीको उदाउँदो सुर्यको रमणीय दृष्य मोबाइल तथा क्यामरामा कैद गरी हाम्रो यात्राले निरन्तरता लियो । त्यहाँबाट केही पर हर्रेको चेक पोष्टमा इन्ट्री गराई छिन्चु पुगेर रोकियो । छिन्चु किरण इलेक्ट्रोनिक्स् एक जना मित्रकहाँ केही क्षण विश्राम गरेर हामी सुर्खेत पुगी बिहानको खाना होटल अल्पाइन पुग्यौं ।
खाना खाइओरी सुर्खेत स्थित रेडियो भेरीमा अत्यन्तै लोकप्रिय कार्यक्रम संचालक तथा हाम्रा आत्मिय मित्र लोक गायक तथा सञ्चारकर्मी शेर बहादुर आचार्य ‘गाइने’ सँगको अत्यन्तै रमाइलो र सौहादपूर्ण भेटघाट रह्यो । हाम्रा सहपाठी प्रभात गुरुको वहाँका दैलेख स्थित एकजना साडुभाइ सूर्य नारायण आचार्यसँगको फोन सम्पर्कले वहाँ पनि बर्दियाबाट दैलेखका लागि प्रस्थान गरेको खबर पाए पछि अब हामी पनि दैलेख सम्म वहाँकै साथ जाने निधो गरी वहाँलाई सुर्खेत मै भेटहुने भनी सुर्खेतमै कुरी बस्यौं ।
वास्तवमै हामी दुई मध्ये कोही पनि सुर्खेत भन्दा अगाडी दैलेख होस् या सुर्खेत भन्दा माथि गुराँसे सम्मको यात्रा गएका थिएनौं । यसर्थ पनि हामीलाई त्यस क्षेत्र तर्फको यात्राका लागि अनुभव पनि थिएन । हाम्रो गन्तव्य कणर्लीको मुगु स्थित ‘रारा’ थियो । जसले गर्दा पनि हामीलाई त्यो भेगको जानकार भएको साथीको आवश्यकता थियो । यही कारणले हामीलाई प्रभात गुरुका दैलेख घर भएका सुर्य नारायण आचार्य एक दरिलो आधार हुनुहुन्थ्यो । दैलेख सम्म वहाँसँगै गयौं भनेपनि हामीलाई मुगुसम्म पुग्नलाई वहाँको मार्गदर्शनले ‘रारा’ सम्म पुग्नलाई सहज वातावरण बन्ने विश्वास रहेको थियो ।
दैलेख पुगेर एकदिन दैलेखका महत्वपूर्ण ऐतिहासिक स्थलहरूको पनि अवलोकन गरी कर्णाली ‘रारा’ पुग्ने परिकल्पनाा योजना बनाएका थियौं । यस्तै यस्तै योजना, कल्पना र मन्थन गर्दै ३–४ घण्टाको पर्खाइ पछि सूर्य नारायण आचार्य सुर्खेत आइपुग्नु भयो । केही क्षण पछि हामी दुई यात्री प्रभात गुरु र म सूर्य नारायण आचार्यका साथमा सुर्खेत छोडी दैलेख तर्फको यात्रामा सुर्खेत कपासे आर्मी ब्यारेक हुँदै प्रथम पटक मोटरसाइकल सवारमा पहाडी यात्रा सुरु गर्याैं ।
रमणीय दृष्य, पहाडी मनोरम, प्राकृतिक सुन्दरता नियाल्दै वरिपरिको दृष्यपान तथा मोवाइलमा तथा साथै लगेको क्यामरामा कैद गर्दै सुर्खेत गुराँसेको पहाडी नागबेली डरलाग्दो भीर त्यस्तै तर मनमा अनौठो आनन्दको अनुभूति सँगाल्दै माथि डाँडामा गुराँसे भन्ने ठाउँ पुग्यो प्रभात गुरु, म अनि सूर्य नारायण आचार्यको हाम्रो टोली । चारैतिर तिहारको रमझमको चहलपहल सुरु भैसकेको माहौलको समय त्यसमा पनि साँझ परिसकेको अनि दैलेख पुग्दा सम्म रात पर्ने भएकोले गुराँसे पुगेर सामान्य नास्ता गरेर हाम्रो टोली गुराँसेलाई विदा गरी हामी दैलेख तर्फको गुराँसेको उत्तर ओरालो नागबेली सडक हुँदै प्रकृति पान गर्दै निरन्तर बढी रहन्छ ।
साँझ परि सकेकोले गुराँसे पहाड पछि दैलेख तर्फको ओरालै ओरालो नागबेली छिचोल्दै लोहोरेखोला भन्ने ठाउँमा नपुग्दै झमक्क साmँभ परिसकेकाले मोटरसाइकलको बत्तीको उज्यालोको सहारामा बिस्तारै अँध्यारो बढ्दै गर्दा मोटरसाइकलको लाइटको उज्यालोमा निरन्तर ओरालो बाटो अनि नागबेली घुम्तीहरू छिचोल्दै यात्रा अघि बढ्दै गर्दा बाटो कटेको पत्तै पाइएन छ ।
अँध्यारै भएतापनि बाटोमा सूर्य नारायण आचार्य सरले हामीलाई ठाउँठाउँको बारेमा कुन बाटो कहाँ जाने र ती बाटाहरू कहाँबाट कहाँ जोडिन्छ अनि कहाँ गएर टुङ्गिन्छ आदि कुराको जानकारी दिन त्यी स्थानहरूमा रोक्दै त्यस ठाउँको लोकेशन बताउँदै पनि जानु भएको थियो । अनेक घुम्ती ओराली उकाली पार गर्दै हामी करिब रातीको १०ः३० बज्दा दैलेख बजार पुगेका थियौं । सूर्य सरको कोठा दैलेख बजारको सुरुमै रहेछ । नजिकैको ग्यारेजमा मोटरबाइक पार्किङ गरेर हामी सबै सूर्य सरको कोठा तर्फ लाग्यौं । दिनभरीको यात्राको थकानका कारण र साँझ गुराँसेमा नास्ता दरिलै गरेर हिँडेका भएर हो कि खासै त्यत्ति सारो भोकको महशुस नभए जस्तो लागि रहेको थियो । यसरी पुगीसके पछि सुत्ने समय र बजार पनि बन्द भै सकेकोले मन नलागि नलागि सूर्य नारायण आचार्य सरले बजार गइ तीन ओटा चाउचाउ लिएर आउनु भयो । तर चाउचाउले त के होला भन्ने मानेर दाल भात नै तयार गर्नु भयो । ‘भोक मिठो कि भोजन मिठो’ भन्ने आहान लाई सार्थकता दिँदै दाल भात खाई सुत्ने तर्खर तिर लाग्यौं । सुत्नु अघि भोलीको अर्थात अर्काे दिनको लागि के गर्ने र कहाँ कहाँ जाने योजना बनाउन थाल्यौं । दैलेख जिल्ला भर नै वर्ष दिनमा एक दिन तिहारको कुकुर तिहारका दिन मात्र रातै भरी खेलिने ऐतिहासिक पौराणिक अनौठो सांस्कृतिक परम्मरा ‘भुसी’ खेल खेलिँदो रहेछ । सूर्य नारायण आचार्य सरकै राय सल्लाह बमोजिम बिहान ३स्०० बजे नै ‘भुसी’ खेल हेर्न जाने निधो गरी हामी तीनै जना निन्द«ा देवीको काखमा लुटुपुटिन पुग्यौं ।
कार्तिक २ गते बिहीबार
बेलुकीको सल्लाह बमोजिम बिहानै ३स्०० बजे नै उठेर तयार भई दैलेख बजारबाट दैलेख राउतकोट तर्फ लाग्यौं । रातीको झिलिमी उज्यालो चारैतिर पहाडै भरी आकाशमा तारा टिमटिमाए झैँ लाग्ने मनमोहक रात्रीको दृष्यपान गर्दै अनैकौँ ओराली र नागबेली परेका पहाडी कच्ची सडकमा मोटरसाइकलको उज्यालोको सहारामा ‘भुसी’ खेल अवलोकन गर्न हिँडयौं अनि सुन्दै आश्चर्य लाग्ने त्यो ‘भुसी’ खेल कसरी खेलिँदो रहेछ भन्ने उत्सुकता पनि हामीमा अत्यधिक बढीरहेको थियो । यसरी ‘भुसी’ खेल हेर्न कै लागि हामी दैलेख जिल्लाकै ‘भुसी’ खेलकै मुख्य स्थान राउतकोट पुग्यौ.। जहाँ पुग्दा उज्यालो पनि भैसकेको थियो । अनौठो परम्परा र संस्कृति रहेछ ‘भुसी’ खेल । वैज्ञानिक, धार्मिक, सामाजिक, सांस्कृतिक तथा ऐतिहासिक मान्यता बोकेको रहेछ । पर्व कै रूपमा वर्षको एक दिन तिहारको दोश्रो दिन कुकुर तिहार अर्थात नरक चतुर्दशीका दिन रातभर दैलेख जिल्लाकै सबै पुरूष जातिहरूले मिलेर खेलिँदो रहेछ यो खेल । रातभर ३६ नगरा बजाउँदै प्रत्येक घरबाट अनिवर्य आगोको धुनिकासाथ सबै मिसिँदै एकै ठाउँमा जम्मा भएर अर्काे दिन बिहान उज्यालो सँगै मुख्य स्थानमा पुगी अग्नी दहनका साथ ठूलो धुनीबालेर त्यसै अग्नीका साथ विसर्जन गरिँदो रहेछ ‘भुसी’ खेल । विसर्जन पछि भने महिलाहरू समेत सामेल भएर देउडा लगायतका खेलखेली सम्पन्न गरिँदो रहेछ । यस परम्मरा÷खेलमा प्रयोग गरिने आगो दैलेख जिल्लाको प्रसिद्ध स्थल ज्वाला देवीको ज्वालालाई मुख्य ज्वाला÷धुनि÷आगोको रूपमा ल्याइने र पछि प्रत्येक घरबाट धुनि सहित सबै गाउँ भरका मानिस एकत्रित भएर विसर्जन गरिने प्रचलन रहेछ । यसो गर्दा गाउँठाउँको भूत प्रेत भाग्नुका साथै मानिसमा रहेका विभिन्न कुण्ठा विकृत सबै ज्वालासँगै जलेर राख भएर जाने र सँगसँगै गाउँमा विकृत विसँगत हटेर र टरेर समृद्ध समाज निर्माणमा योगदान पनि हुन जान्छ भन्ने मान्यता रहेछ ।
राउत कोटको ‘भुसी’ खेल हेरि त्यसबारे रिपोर्टिङ सकेर दैलेख जिल्लामा अवस्थित प्रसिद्ध धार्मिक ऐतिहासिक स्थल पादुकास्थान अवलोकन गर्ने सल्लाह गरी हामी तीन भाइ (म, प्रभात गुरु र सूर्य नारायण आचार्य) चगत्रा बजार तर्फ लाग्यौं । चगत्रा बजार पुगी बिहानीको चियापान गरी सूर्य नारायण आचार्य सरको अगुवाइमा हाम्रो यात्रा पूण्य भूमि पादुकास्थान तर्फ बढ्यो । बिहानीको ९ः४५ बजेको संकेत गरिहेको थियो घडीको सुईले । पादुकास्थान एक इेतिहासिक पौराणिक महत्व बोकेको स्थान जहाँ नेपालको द्वन्द्व कालमा विद्रोहीहरूले धेरै कुरा नष्ट पारी सकेका रहेछन् । त्यहाँको ऐतिहासिकता नै मेटाउने गरी तहस नहस पारिएको रहेछ त्यस बखत । पछिल्लो समयमा देशमा शान्ति कायम भैसकेता पनि द्वन्द्व समाप्ती पछि पनि त्यहाँको जनचासो, संरक्षण र सरोकार नभए सँगै स्थानीय सरकाले पनि खासै ध्यान नदिइका कारण जुन रुपमा ऐतिहासिक महत्व बोकेको त्यस स्थलको पुनर्उत्थान हुन नसकेको देखियो । त्यस्तै पादुकास्थान मन्दिरले धार्मीक, ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको भएर पनि सरोकार वाला र सरकारको समेत ध्यान नपुगेको स्पष्ट देख्न सकिन्छ त्यहाँ । पछिल्लो समयमा स्थानीय सरकारको सामान्य सहयोग र स्थानीय सरोकारवालाहरूको चासो बढेर हो की हाल मन्दिर परिसरलाई आंशिक रुपमा पर्खाल लगाई संरक्षणका लागि पहल गरिएको पनि स्पष्ट देख्न सकिन्छ । पादुकास्थान क्षेत्र धार्मिक दृष्टिकोणले मात्रै नभएर पर्यटकीय दृष्टिले पनि उत्तिकै महत्व बोकेको स्थान छ । चारैतिर पहाडले घेरिएको सुन्दर खुला फाँट नदिको किनार, यातायातका दृष्टिले मध्य पहाडी मार्गसँगै जोडिएको अत्यन्तै रमणीय स्थल, जहाँ हरेक माघ महिनामा ठूलो मेला पनि लाग्दो रहेछ । मेला महोत्सवका लागि मात्र नभएर हरेक दृष्टिले पनि चाहे धार्मिक दृष्टि होस्, चाहे पौराणिक दृष्टिले होस्, चाहे पर्यटकीय दृष्टिले होस् कुनै पनि प्रकारले त्यस क्षेत्रको विकास र संबद्र्धन गरेर त्यस ठाउँकै मात्र नभएर सिङ्गो नेपाल देश कै विकासमा कोसे ढुङ्गा सावित हुन सक्ने देखिन्छ । समग्र दैलेख जिल्ला ।
यसरी पादुकास्थानको दर्शन अलोकन गरी सूर्य सरमार्फत त्यस स्थलका बारेमा त्यहाँको वस्तु स्थित र रिपोर्टिङ गरी सक्दा सम्म समयले पनि बिहानीको नेटो काटी उकालो लाग्दै गरेकाले त्यहाँबाट फिर्ता हुँदै दैलेख जिल्लाकै ऐतिहासिक र पुरातात्विक स्थल दुल्लु पुग्ने निधो गरी खानाका लागि नजिकैको लैनचौर बजार पुग्यौं ।
अझ खुसिको कुरा त के रह्यो भने जुन ठाउँमा हामीले खाना खायौं । त्यो ठाउँ त मेरै विद्यालयमा अध्यापनरत गोविन्द प्रसाद ज्ञवालीकी फूपुकी छोरी ज्वाईँ हुनुहुँदो रहेछ । अत्यन्तै स्वदिष्ट भोजन गराउनु भएको थियो । यस मानेमा पनि खाना स्वादिष्ट थियो कि वहाँहरू भारतको मुम्बइमा धेरै समय बस्नु भएकाले पनि खानाका परिकार सँग जानाकार हुनु हुन्थ्यो । भारत मै जन्मनु भएका वहाँका श्रीमान त झनै मिजासिला, चिन्तनशील भारत मै जन्मेहुर्के तापनि आफ्नै देश नेपाल प्रतिको मोह अनि देशप्रेमको भावनासँगै यो देशको वर्तमान स्थिति प्रति निकै चिन्तन र चासो राख्नु हुँदो रहेछ ।
अत्यन्तै रमणीय ऐतिहासिक अनि पौराणिक स्थल पादुकस्थानबाट तल फाँटमा मध्यपहाडी लोकमार्गसँगै जोडिएको लैनचौर बजार पुगेर खानाखाइ दैलेखको पुरानो बजार एक ऐतिहासिक स्थल दुल्लु तर्फ लाग्दा घडीका तीन ओटा सुइले १२ः३० बजाइ सकेको थियो ।
दैलेख जिल्ला पहाडी जिल्ला भएर पनि धेरै सम्भावनाहरू बोकेको जिल्ला रहेछ । यातायातका लागि सबै जसो गाउँ नगरलाई सडक सञ्जालले जोडेको । यही जिल्ला भएर नेपालकै आर्थिक, सांस्कृतिक अनि भौगोलिक सुगमतालाई जोड्ने नेपालकै गौरव मध्यपहाडी लोकमार्गले थप समृद्ध बनाएको रहेछ ।
लैनचौर खाना खाएपछि हामी त्यहाँबाट करिब १२ः३० बजे दैलेख जिल्लाकै प्रसिद्ध स्थल दुल्लु तर्फ लाग्यौं । बाटो अत्यन्तै कठिन डरलाग्दो तै पनि हिम्मतका साथ अघि बढन प्रकृतिको पहाडी रमणीयताले हामीलाई उक्साइ रहेको थियो । जसका कारण हामी हरेक कठिनाइलाई पनि सहजताका साथ स्विकारी रहेका हुन्थ्यौं । यस्तै जुझाइसँगै लडदै भिड्दै उकाला पथ्रिला घुम्तीहरू संघर्षका बाबजुद सहजै पार गर्दै दुल्लु बजार पुग्यौं । जुनठाउँ बाट सिङ्गो नेपालको सभ्यता र इतिहासले प्रत्येक नेपालीलाई बोलाई रहेको छ जस्तो आभाष दिलाउँछ । नेपालको ऐतिहासिक, पुराताविकताको त सिङ्गो खानी बोकेको स्थान जुन कुरा हामीले विद्यालय तहमा अध्ययन गर्दा पुस्तकका पानामा मात्र पढेका थियौं । सो कुरा आज प्रत्यक्ष उक्त भूमिमा शयर गरिरहँदा अत्यन्तै गर्वित पनि भएका थियौं । नेपालकै इतिहास लेखिएका किर्ति स्तम्भ, यस्तै पहिलो नेपाली भाषामा लेखिएको शिलालेख (दामुपाल शिलालेख), यसै गरी कयौं इतिहासका साक्षी प्रमाणहरू प्रसस्त संरक्षणको पर्खाइमा एक स्वावलम्बी नेपालीलाई कुरेरै बसेको महशुस गरि रहेका थियौं हामीले पनि । तर विडम्बना भनौं या के भनौं त्यस्ता ऐतिहासिक धरोहरहरू संरक्षण र सम्वद्र्धनमा सरकार र सम्बन्धित निकायले खासै चासो नराखेको पाउँदा हाम्रो मन चसक्क दुखेर आयो । सायद हामी मात्र न भएर अन्य नेपाली जो कोही त्यस स्थल पुग्नेको मन पनि एक पटक चसक्क हुने छ । द्वन्द्वकालमा त झन् त्यसको नाम निसाना नै मेटाउने गरी क्षत् विक्षत् नै पारिएको पो रहेछ । द्वन्द्वको घाउबाट बचेकाले पनि संरक्षणको अभावमा अलपत्रै परिरहेका रहेछन् । भनिन्छ नि “नजिकको तीर्थ हेलाँ” भने झैँ स्थानीयहरूले पनि खासै चासोकासाथ नहेरिएको र हेरिएता पनि तत्परता भने नगन्य रुपमै देख्न सकिन्थ्यो । अब त झन् नेपालको पुनर्संरचना र विकासको सजीव चित्र नयाँ स्वरुपमा आइ सकेको अवस्थामा पनि स्थानीय सरकारले होस् या राज्यले होस् यसरी नजर अन्दाज गरिदिँदा आफ्नो नेपालकै इतिहासलाई बिर्सन पो खोजेको त होइन ? इतिकास नै मेटाउन खोजेको त होइन ? जो कोही देश आत्मामा बोकेर हिँडने लापालीले अनुभूत गर्ने कुरा होइन भन्नै मिल्दैन । यस्तै यस्तै खिन्नता बीच मन त्यो इतिहास प्रत्यक्ष देख्न पाउँदा र प्राकृतिक मनोरमसँगै इतिहासलाई स्पर्श गर्न पाउँदा मन हर्षित पनि भैरहेको थियो ।
दुल्लु बजार वरिपरि रहेका ऐतिहासिक पुरातात्विक स्थल, शिलालेख, स्तम्भ, पोखरी, कुवा अवलोकन र वस्तुस्थिति क्यामरामा सँगालेर हामी दुल्लु कै एक ऐतिहासिक र दुल्लु बजार परिसरमै पर्ने एक मन्दिर ‘बालेश्वर’ अवलोकन गर्न पुग्यौं । मन्दिर परिसरबाट सबैजसो दैलेख कै अवलोकन गर्न सकिने रहेछ । उक्त स्थानमा जङ्ग बहादुर राणाका पिता बालनरसिंहको सम्झनामा त्यसैबेला स्थापित ‘बालेश्वर’ मन्दिर, वरिपरि खुला ठाउँ, बालनरसिंहको अर्धकदको शालिक सानो पार्क, अवलोकन गरी सक्दा साँझ पर्न लागि सकेको हुनाले हामी त्यहाँबाट ओरालिँदै ज्वालादेवी दर्शनका लागि ज्वालादेवी मन्दिर तर्फको यात्रामा अघि बढ्यौं ।
ज्वालादेवीको मन्दिरमा अनौठो प्रकारले ज्वाला आफै बलीरहेको थियो । प्रायः टेलिभिजनमा प्रसारित वृत्तचित्रमा हेरिएको थियो ज्वालादेवीको बारेमा । यसरी प्रसारित वृत्तचित्र हेर्दा निकै कौतुहल लाग्ने गर्दथ्यो कि के होला त्यसरी बल्ने ? यहाँ प्रत्यक्ष देख्ने अवसर जुरेको यस घडीमा हामीले मन्दिर वरिपरि राम्ररी अवलोकन गर्नुका साथै त्यसबारेमा त्यहाँ पुगेर मन्दिरका मूल गुरुबाटै जान्ने अवसर प्राप्त गर्याैं । ज्वालादेवी मन्दिरमा बलिरहने ज्वालाका बारेमा यस्तो मान्यता स्थापित रहेछ । जुन वर्षाैं देखि निरन्तर रुपमा बलिरहेको छ । नदि किनारमा अवस्थित मन्दिर जहाँ ज्वाला बलिरहेको प्रत्यक्ष हेर्न सकिन्छ । हिउँदको समयमा नदिमा पानी कम भएपछि नदिको किनारमा समेत प्राकृतिक ग्याँस रहने र जता पनि अग्नि प्रवाह गर्दा ज्वाला बल्ने गर्दाे रहेछ । हामीले पनि प्रत्यक्ष देख्यौं । नदिको पारी मन्दिरमा पनि ज्वाला बलिरहेको । जहाँ पुग्दा एक सिमको ग्याँसको गन्ध समेत महशुस हुन्छ । अनि आफ्नै हातले ज्वाला प्रवाह गर्न समेत सकिन्छ । भित्ताहरूमा जहाँ तहाँ प्राकतिक रुपमै ग्याँस प्रवाह भै रहेको देख्न पनि सकिन्छ । समयले पनि बिस्तारै बिस्तारै साँझपरेको सङ्केत गरिसकेको थियो । भलमक्क साँझ परिसकेकोले हामी ज्वालादेवीको दर्शन अनि त्यहाँको वस्तुस्थिति अवलोकन गरेर ज्वालादेवी मन्दिरबाटै नाभिस्थानको टाढैबाट आत्मिक श्रद्धा प्रकट गर्दै दैलेख बजार कोठा तर्फ उकालो लाग्यौं । करिब आधा घण्टाको उकालो गुडेर हामी माोटरसाइकल पार्किङ गरेर साँझको खाना दैलेख बजार देखि अलिकति माथि सूर्य नारायण आचार्य सरको ‘भुर्ति’ गाउँ स्थित घरमा गई खाना खाई बजार कोठामा आई अर्काे दिनको योजना बनाई निन्द्रा देवीको काखमा लुटुपुटु हुन पुग्यौं ।
नाभिस्थान ज्वालादेवी मन्दिर देखि करिब दुई अढाई किलो मिटर उत्तर तर्फ रहेकोले र रात पर्ने अवस्था रहेकाले नाभिस्थान सम्म पुगेर फर्किँदा सम्म रात पर्ने भएकाले त्हाँ सम्म पुग्न असमर्थ रहेकाले टाढैबाट श्रद्धा अर्पण गरेका थियौं ।
त्यो उकालो सदाका लागि स्मरण रहने छ । जहाँ अत्याधिक घुम्तीहरू र सिधै ठाडै उकालो धुलाम्य पहाडी बाटो । जे होस् यात्रा कठिन रहेर पनि सहज बनेको थियो हामीलाई । अनेकन डरलाग्दा परिस्थितिहरूमा पनि यात्रा रमणीय रहेकाले थकानको महशुस भने कत्तिपनि थिएन । सायद मनोरम दृष्य प्रकृतिको काखमै आफूलाई पाएको अनुभूत भएर होला । उकालो र ओरालो अनि त्यस्तै अनेकन घुम्ती, कठिन डरलाग्दो बाटो ढुङ्गै ढुङ्गाको पुरानो चल्तीमा नरहेको बाटो पनि रोमाञ्चकताका साथ सहजै पार गर्दा छुट्टै आनन्दको अनुभूति सँगालेका छौं हामीले यो यात्रामा ।
समग्र दैलेख जिल्ला पहाडी क्षेत्र भएर पनि यातायातले सुगमता पाई सकेको रहेछ । मानिसमा शिक्षा र चेतना अभिवृद्धि भै सकेको रहेछ । हुन त इतिहास बोकेको जिल्ला पनि हो दैलेख जिल्ला । पूर्णरुपमा राजनीतिक सचेतना, बाटोघाटोले सबै गाउँलाई छोएको, यातायातका साधन गुडिसकेका र पनि विकासले भने अझै धेरै फडको मार्न बाँकी रहेको रहेछ ।
कार्तिक ३ गते शुक्रबार
बिहान सबेरै उठी नुहाइ धुवाइ गरी अल्लिो दिन अवलोकन गर्न नभ्याएका दैलेख जिल्लाकै प्रमुख स्थान मध्ये पञ्चदेवल र बटुक भैरव मन्दिरको अवोकनका लागि प्रस्थान गर्याैं । अघिल्लो दिन भरीको धुलाम्मे मोटर साइकलको धुलो सामान्य पुछपाछ गरी दैलेख बजार हुँदै उत्तर बजार सँगै जोडिएको ‘भुर्ति’ गाउँ तर्फ लाग्यो हाम्रो टोली । बिहानीको ७ः०० बजेको समय पारीलो घामसँगै दैलेख बजार देखि करिब डेढ किलोमिटर पर ‘भुर्ति’ गाउँ स्थित प्रसिद्ध ऐतिहासिक तथा पौराणिक स्थल छ । जुन ठाउँ महाभारत काल खण्डमा पाँच पाण्डवहरूले विश्राम गरेको स्थल । त्यो समयमा पाण्डवहरू द्वारा अत्यन्तै कलात्मक खुबी प्रयोग गरी शिखर शैलीमा निर्माण गरिएका जुन अझै पनि जस्ताको तस्तै एकै प्रकारका पाँच जोडा ढुङ्गा द्वारा निर्मित देवलहरूले हामीहरूलाई नै पर्खि रहेका हुन् कि भन्ने भान हामीलाई महशुस भैरहेको थियो । पौराणिक कथन अनुसार पाण्डवहरू जहाँ जहाँ जान्थे र एक दिन मात्रै किन नहोस् बास बसेको ठाउँमा केही न केही निर्माण गर्ने गर्दथे भन्ने किम्बदन्ती रहे अनुसार त्यस ठाउँमा पनि अर्थात दैलेख जिल्लाको दैलेख बजार नारायण नगरपालिका स्थित ‘भुर्ति’ गाउँमा रहेको ती पौराणिक ऐतिकासिक कलात्मक देवलहरू रहेका छन् । जसले (ती देवलहरूले) त्यो ठाउँको विकास र पर्यटनको प्रवद्र्धन गरेर दैलेख लगायत समग्र नेपाल कै महिमालाई चारैतर्फ फैलाउ भनि त्यस देवल अवलोकन गर्न आउनेहरू हरेक नेपालीहरूलाई भनि रहेको महशुस गरायो हामीलाई । करिब १ घण्टा सम्म त्यो देवलको समिपमा रहेर मनमा आनन्दको अनुभूति गर्दै आफूलाई यो स्वर्ग सरी पुण्य भूभि नेपालमा जन्मन पाएकोमा गर्वित गरायो । अनि यो पनि सोच्न बाध्य गरायो कि धार्मिक, पर्यटकीय, पौराणिक, ऐतिहासिक मात्र नभई पछल्लो समयमा विकासले जुन अग्रगति लिँदै गरेको छ । एक दिन पक्कै नेपाल विश्वमा वास्तविक धार्मिक लोकको रुपमा परिणत भई विश्वबाटै तिर्थाटन गर्न मानिसको ओइरो लाग्ने छ भनेर ।
‘पञ्चदेवल’ आकर्षक देवल साना ठूला गरी जम्मा पाँच जोडामा एकै प्रकृतिका अलग अलग रहेर पनि एकै आधारमा रही शिखर शैलीमा निर्माण गरिएका ऐतिहासिक पुरातात्विक ढुङ्गै ढुङ्गा द्वारा निर्माण गरिएका रहेछन् । मान्नु पर्छ हाम्रा पूर्वजहरूलाई त्यो समयमा पनि त्यो कलात्मकता, त्यो वैज्ञानिक आधार, त्यो समयमा न कुनै ज्यावल अनि त्यत्रा ढुङ्गाहरूलाई एक माथि एक गरी बनाइएका पन्ध्र बीस फिट माथि सम्म अड्याएर युगौं युग सम्म रहने गरि निर्माण गरेका ती देवल । अझै पनि जस्ताको त्यस्तै छन् । कस्तो प्रविधि थियो होला त्यस समयमा ? वास्तव मै संरक्षणको अभावमा त्यो ऐतिहासिक पुरातात्विक धरोहरको जीर्ण अवस्था देखि मनमा चसक्क चसक्क बनाइ रहेको थियो हामीलाई । हाल नारायण नगरपालिकाका तर्फबाट देवलहरूको सामान्य जीर्णाेद्धार गरि गेट निर्माण गरी करिब तीन कठ्ठामा फैलिएको परिसरमा तारबार गरेको पाइयो । अझै यस देवललाई रङ रोगन र पूर्ण रूपमा संरक्षण र रेखदेख गरी पर्यटनको प्रवद्र्धन गर्न सकेको खण्डमा त्यस क्षेत्र लगायत समग्र दैलेख जिल्लाकै विकासमा टेवा पुर्याउनुका साथै समग्र देशकै सांस्कृतिक वस्तुस्थिति र ऐतिहासिक, धार्मिक पर्यटकीय रमणीय स्थललाई पर्यटन गन्तव्य स्थलको रुपमा विकास गर्न आवश्यक देखिन्छ । यसो गर्न सके हाम्रो देशको विकास र स्थानीय विकास तथा आर्थिक समृद्धि ल्याउनमा कोसे ढुङ्गा सावित हुने कुरामा कसैको दुई मत हुनै सक्ने छैन ।
करिब १ घण्टा सम्म पञ्चदेवलको समिपमा रहेर मनमा आनन्दको अनुभूति सँगाल्दै नजिकैको नारायण नगरपालिका वडा नं. ६ स्थित बेलासपुर टाकुरामा अवस्थित अर्काे त्यस्तै ऐतिहासिक ‘बटुक भैरव’ मन्दिर परिसर तर्फ लाग्यौं हामी । दैलेख बजार देखि उत्तर तर्फ जुम्ला जाने मार्ग, दैलेख बजारको बसपार्क देखि माथि टाकुरामा अवस्थित रहेको छ ‘बटुक भैरव’ मन्दिर । उहिले बाइसे चौबीसे राज्यका बेला दरवार रहेको र राज्य व्यवस्था चलाउने गरिएको थियो रे उक्त स्थानबाट । हुन पनि त्यस्तै सुन्दर रमणीय रहेछ त्यो ठाउँ । चारैतिरको दृष्य, अझ भन्नु पर्दा समग्र दैलेख जिल्लाको कुना कुना सम्म देख्न र अवलोकन गर्दै आन्दको अनुभूत लिन सकिने स्थान रहेछ बेलासपुर ‘बटुक भैरव’ मन्दिर परिसर । कुनै बेला त्यहाँकी महारानीले अन्यत्र कहीँ पहाडबाट भैरवको मूर्ति ल्याई मन्दिरको स्थापना गर्न लगाएको कुरा पुरानो मन्दिरलाई जीर्णाेद्धार गरी पुरानै स्थानमा हालै पक्की ढलान गरी पुनर्निमाण गरिएको नव निर्मित मन्दिरमा चढाइएका ताम्रपत्रमा उल्लेख छ । मन्दिर परिसर चारैतिर वरिपरि सल्लाका रूख, मन्दिरको उत्तर तर्फको मैदानी भागमा सुन्दर पार्क, मन्दिर देखि बसपार्क फेदि सम्म मन्दिर सम्म पैदल पुग्नका लागि बनाइएको पक्की सिँढी जसले पनि मन्दिरको थप सुन्दरतालाई मन्त्र मुग्ध पार्ने दृष्यावलोकन सहित मोवाइल र क्यामरामा भरपूर तस्वीर कैद गरी त्यहाँको वस्तुस्थितिको समग्र जानकारी लिएर हामी पुनः दैलेख बजार ओर्लियौं ।
समयले पनि हामीलाई अब त दैलेखलाई छोडेर जानु पर्ने बेला भैसकेको ज्ञात गराइ रहेको थियो । दैलेख जिल्लाको ऐतिहासिक बसाइ पनि तीन दिन भैसकेको हुँदा हामीलाई दैलेख अझै बसौँ र अझै यस्ता रमणीय तथा ऐतिहासिक, धार्मिक, पौराणिक स्थल घुम्ने अनि त्यहाँको बारेमा धेरै ज्ञान बटुल्ने चाहना हुँदा हुँदै पनि हाम्रा साथ अनेकन बाध्यता पनि भएकाले हामी सुर्खेत तर्फ फर्कने तर्खरतिर आतुर भै रहेका थियौं । तिहारको समय भएकाले पनि बजारको चहल पहल भन्दा मानिसहरू चाडबाडकै चहल पहल तिर व्यस्त थिए । मन्दिरको दर्शनावलोकन पछि बजारमा आइ खाना खाएर सूर्य नारायण आचार्य सरको सहयोग सौहार्दता र मनभरी दैलेखको माया संगाल्दै सूर्य नारायाण आचार्य सरसँग बिदा मागी करिब दिउँसोको २ः०० बजे सुर्खेत तर्फ ओरालो झर्याैं ।
हुन त हामी (प्रभात गुरु र म) मुगु जिल्लाको प्रसिद्ध प्रकृतिको काखमा स्थित ‘रारा’ ताल हेर्न र नेपालको प्रकृति पान गर्दै मोटरसाइकलको यात्रामा जीवनको नयाँ अनुभूत संगाल्ने निधोका साथ त्यस तर्फ प्रस्थान गरेका थियौं । हाम्रो मोटरसाइकल, पहाडको स्तरीकरण नगरिएको भर्खर खुलेको बाटो, त्यसमा पनि हामी दुईदिन लगातार दैलेख जिल्लाका महत्वपूर्ण धार्मिक, ऐतिहासिक स्थलहरूको भ्रमण अवलोकन मै व्यस्त भएकाले दैलेखबाट मुगु ‘रारा’ ताल तर्फको यात्रालाई छोट्याउँदै पुनः सुर्खेत हुँदै सल्यान तर्फ मोडेका थियौं ।
कार्तिक १ गते दैलेख तर्फ जाँदा सुर्खेत–दैलेख मार्ग राम्रोसँग अवलोकन गर्ने अवसर नपरेकाले हामी दैलेख देखि सुर्खेत सम्मको त्यो रमणीय प्राकृतिक दृष्यपान गर्दै घुमाउरो नागबेली सडकको मनमोहकातमा झुम्दै प्रकृतिको सुन्दरतामा रमाउँदै मोवाइल तथा क्यामरामा दृष्यहरू कैद गर्दै थुप्रै पहाडी डाँडाकाँडा छिचाल्दै निर्माण गरिएका नागबेली बाटाहमा बिसाउँदै प्रकृतिसँग साउती मार्दै पहाडका डाँडाकाँडामा अवस्थित सुन्दर गाउँको अवलोकन गर्दै सुर्खेतको गुराँसे पुग्दा साँझ परिसकेको थियो । गुराँसेमा सेलरोटी र तरकारी खाजा खाई हामी पुनः मोटरसाइकलको रमाइलो यात्रालाई यादगार हुनेगरी गुराँसेको पहरा खोपी निर्माण भएको नागबेली र डरलाग्दो बाटो भए तापनि प्राकृतिक रमणीयता र मनमोहक प्रकृतिकै काखमा खेल्दै गरेको अनुभूति संगाल्दै सुर्खेत तर्फको ओरालो निरन्तर बढी रहयौं । यसरी बाटामा आउँदै गर्दा गुराँसेको पहाडको केही तल आइसकेपछि पश्चिममा अस्ताउँदै गरेको सूर्यको दृष्य, आकाशको लालिमाको काखमै भएको अनुभूत, त्यस्तै आकाशबाट तल सुर्खेत उपत्यकाको झिलीमिली दृष्यले त झनै स्वर्गबाट पृथ्वीको अवलोकन गरिरहेको अनुभूती गर्दै सुर्खेत बजार आइपुग्दा घडीले रातीको १०ः३० बजाइ सकेको रहेछ । यसरी पहाडको रमणीयतामा प्रकृतिको काखमा रमेको अनुभूत र मनको उमङ्गसँगै रातीको मोटरसाइकलको बत्तीको सहारामै रफ्तारमा घुमाउरो नागबेली सडकमा गुडिरहेको यात्राले पनि हामीलाई समय बितेका अनुभूत नै भएको थिएन ।
यसरी सुर्खेत आइ पुगी सूर्खेत न्यू रोड स्थित होटल अल्पाइनमा खाना खाने निधो गरी त्यतै तिर लाग्यौंं । तिहारको माहोल चारैतिर रमझमले गर्दा झण्डै होटल बन्द भै सकेको ? साँझ त्यही होटलमा बास र गास गर्यौं । दिनभरको रमाइलो र रोमाञ्चक मोटरसाइकलको यात्राले हामीलाई रत्तिभर थकान भने महशुस थिएन । सुर्खेत आए पछि अति मिलनसार मित्र रेडियो भेरीका कलाकार तथा सञ्चाकर्मी शेर बहादुर आचार्य ‘गाइने’ सँगै देउसी भैलो खेल्न जाने योजना बनाएका थियौं तर आचार्य जीको देउसी भैलो टोली बजार भन्दा टाढा गाउँतिर भएकाले त्यस देउसी भैलोमा सहभागी भएर मनलाई अझ उल्लासित पार्ने धोको धोको मै सिमित रहन गयो । अर्थात हामी देउसी भैलीमा सहभागी हुन असमर्थ रहयौं । बरु खाना खाइ कोठातिर बिश्राम गर्दै गर्दा एउटा समाचार आयो रेडियोमा कि त्यसै राती १ बजे पछि आकाशबाट उल्का पिण्ड खस्दै छ । सो उल्का पिण्ड अवलोकन पनि गरौँला र सुतौँला भन्दै दिनभरिका यात्राका क्रममा रमणीय तर भयानक यात्रासँग वभिन्न स्थानमा अवलोकन गर्दै आएका दृष्यहरूको स्मरण र विवेचना गर्दा गर्दै हामी कति बेला निदाएछौं पत्तै भएन ।
कार्तिक ४ गते शनिबार “भाइटीका”
देशै भरी भाइ टीकाको लहर तिहारको यो दिन सधैं झैँ विहानै उठी नुहाइ धुवाइ गरी बेलुकीको सल्लाह बमोजिम अब सल्यान जिल्लाको प्रसिद्ध प्रकृतिको उपहार ‘कुपिण्डे दह’ अवलोकनको लागि तयारी तिर जुट्यौं । होटलमा साँझको खाना र बासको हिसाब गरी बिहान ७ः०० बजे सुर्खेतबाट हामी सल्यानका लागि यात्रालाई अघि बढायौं । मनमा खुसी सँगै अत्यँतै नमिठो पिडा पनि सल्बलाई रहेको थियो । पिडा के भन्दा यत्रो महान चाड त्यो पनि वर्ष दिनमा एक पटक आउने यस अवस्थामा पनि हामी घुम्नका लागि निस्केका थियौं । यत्रो महान चाड अति नै महत्वपूर्ण अवसर । जहाँ आफ्ना दाजुभाइ र दिदी बहिनी बीचको स्नेह, ममता र आत्मियताको साक्षतकार हुने दिन । तर हामीमा भने विविध कारणले गर्दा त्यस समय आइपर्ने नैराश्यतालाई बिर्साउन र मन बहलाउनुका साथै प्रकृतिसँग नजिक हुँदै यसरी सँगालेका कुराहरूलाई अविस्मरणीय बनाउँदै अरूलाई पनि साटासाट गर्न चाहे त्यो पत्रपत्रिका माध्यमबाट होस् चाहे मौखिक किन नहोस् । यसरी हामी नेपालको सौन्दर्यता नजिकैबाट अवलोकन गर्न भनी निस्केका थियौँ ।
हाम्रो यात्रा सुर्खेत उपत्यकालाई छोडी सुर्खेत जिल्लाकै अर्को सुन्दर उपत्यका छिन्चु बजारबाट सल्यान जाने बाटो रामघाट हुँदै छिन्चु–सल्लीबजार सडकमा मोटरसाइकलको हुँईँक्याइमा भेरी लदिको किनारै किनार हुँईँकिदै थियो । म त प्रथम पटक छिन्चु कटेर त्यो मार्गको यात्रामा थिएँ । उसै त नेपाल प्राकृतिक रमणीयतामा विश्वमै धनी देश छ । अझ म आफू पनि प्रकृति प्रेमी । त्यसैले पनि मलाई त्यो ठाउँ अत्यन्तै मनोरम लागि रहेको थियो । यसै सडक खण्डमा पर्ने रामघाट बजार हुँदै पूर्व दुबै तर्फ पहाड बीचमा लम्तन्न भएर फैलिएको सुन्दर फाँट जहाँ रमाइलो बस्ती कताकता तराई झै महशुस लाग्ने स्थान । कति बयान गरूँ म यो देशको प्राकृतिक छटाको । बयान गरेरै नसकिने छ । यात्रा छिन्चु हुँदै पूर्व तर्फको थियो । भेरी नदिको तिरैतिर करिब ५०–६० किलोमिटर पार गरी सके पछि बालुवा सङ्ग्रही भन्ने ठाउँबाट पूर्व दक्षिण तर्फ १२ किलोमिटर कच्ची बाटो हुँदै पुग्नु पर्ने रहेछ प्रकृतिको काखमा चुलबुलाई रहेको सुन्दर तलाउ ‘कुपिण्डे दह’ ।
भेरी नदिको तिरै तिर बालुवा सङ्ग्रही पुग्नु केही छिन अघि भेरी नदिको किनार हुँदै त्यहाँको मनोरम दृष्यावलोकन गर्दै जाँदा भेरी नदिको सामिप्यमा विश्राम गरेर रमेर मोवाइल तथा क्यामरामा तस्वीरहरू कैद गरेर बालुवा सङ्ग्रही पुग्यौँ । तिहार त्यसमा पनि भाइटीकाको दिन भएकाले होला बालुवा सङ्ग्रही बजार पनि शुन्य थियो । यसकारण त्यहाँबाट हाम्रो यात्रा कच्ची मार्ग हुँदै उकाली ओराली नागबेली परेका डरलाग्दा तर रमाइला रोमाञ्च पूर्ण सडक हुँदै १२ किलोमिटर पार गरी करिब दिउँसाको डेढ दुई बजे हामी कुपिण्डे दह नजिकै पुग्यौँ । केही क्षण विश्राम गरी साथमा लिएर गएको दालमोठ खाइ नजिकै रहेको कुपिण्डे दह प्रवेशद्वारा हुँदै दह परिसर पुग्यौँ । दह सम्म पुग्न यातायातको लागि सडक को राम्रो व्यवस्था भै सकेको रहेन छ । गेट देखि करिब १००–२०० मीटर सम्म मोटर बाटो भएको र दह सम्म पुग्नका लागि करिब २००–२५० मीटर गोरेटो बाटोको व्यवस्था रहेछ । मोटरसाइकल पार्कीङ् गरेर हामी माथि दहको किनारै किनार हुँदै हामी दह नजिकमा पुग्यौँ । भाइटीकाको त्यस दिन हामी दिन भरी नै उपवास बसे सरह नै भयौं । कारण हामी प्राकृतिक सुन्दरतामा यति सम्म डुब्न पुगेछौं कि त्यो रमणीयताले हामीलाई भोकको महशुस नै हुन दिएन छ ।
अब हामी कुपिण्डे दहको काखमा छौँ । त्यहाँ पुगेर हामी डुङ्गा सयर गर्याैं । तालमा डुङ्गा चढेर पुरै ताल सयर गरेको रू ४०० देखि ५०० र तालको आधा भागबाटै र्फेको रू. २०० देखि २५० सम्म लिने गर्दा रहेछन् डुङ्गा चालकले । त्यहाँ दहको नजिकमा कुनै घर, गाउँ केही छैनन् । केवल एक घर मात्र छ । त्यो पनि दहमा नौका सयर गराउने मान्छेले सामान्य रुपमा पसल गरेको रहेछ । चारै तिर पहाडले घेरिएको बीचमा दह, दहको पूर्वमा फैलिएको ठूलो चौर, चौरको कुनामा एक महादेवको मन्दिर, नजिकमा न कुनै गाउँ बस्ती न कुनै सुविधा ? र न कुनै भौतिक सैरचना नै निर्माण भएका रहेछन् । सायद यातायात नपुगेको कारणले पनि हुन सक्छ । साथै त्यती प्रचार प्रसार नभएका कारणले पनि यो सुन्दर अनि रमणीय दह ओझेलमा परेको हामीलाई अनुमान गर्न सजिलो परेको ? करिब २०० मीटर चौडा फाँट र फाँटको उत्तर तर्फ करिब ५०० मीटर लामो र ५० मीटर चौडा रहेको दहको विशेषता दहमा सधैँ पानी सङ्लो भै राख्दो रहेछ । रुखका पातहरू केही पनि नदेखिने । यस दहको नाम कुपिण्डे दह रहनुको एक किम्बदन्ती कथा पनि रहेछ । किम्बदन्ती अनुसार ः पौराणिक कालको कुनै समयमा यस दह भएको ठाउँमा एउटा सुन्दर बस्ती थियो रे ! एक दिन साक्षात् भगवान विष्णु एक कुरुप बृद्धको रुपमा आएछन् । बृद्धलाई कसैले बास नदिएपछि त्यही गाउँमा बस्ने दरिद्र दुःखी एकल महिलाले बास दिइछन् । जसको घरमा अन्नपात केही रहेनछ । बृद्धले खाना मलाई केही चाहीँदैन बास भए पुग्छ भनेर त्यो रात त्यहीँ ती दरिद्र एकल महिलाको घरमा बास बसेछन् । भोली पल्ट बिहान नहुँदै भालेको डाँकोमा नै ती बृद्ध त्यस गाउँबाट गएछन् । बिहान उठेर दरिद्र महिलाले आफ्नो गाउँ नै नरहेको र आफ्नो घरखेत नै नदेख्दा विलौना गरेर रुन कराउन थालिछन् । यो सुनेर अकस्मात् आकाश वाणी भएछ । “जाऊ तल जाऊ तिमीले तिम्रो घरखेत अन्नपात सबै त्यहीँ पाउनेछौ र तिमीलाई कहिल्यै अभाव हुने छैन” । महिला त्यस आकाश वाणीले भनेको ठाउँमा आइ हेर्दा नजिकै फाँट र फाँट सँगैको गाउँ भएको ठाउँमा त एक जलमग्न तलाउ अनि तलाउ भरी कुपिण्डै कुपिण्डा देखिछन् । यही किम्बदन्ती अनुसार त्यसै बेला देखि यस दहको नाम कुपिण्डे दह रहन गएको हो भन्ने प्रचलन उहिल्यै देखि रहेको छ भनी त्यसै दहमा डुङ्गा चलाउने दान बहादुर बस्नेतले हामीलाई बताए । हाल सम्म यो दह हेर्न सुर्खेत, दैलेख, दाङ, रूकुम लगाएतका जिल्लाका मानिसहरू बढी आउने गरेको कुरा पनि उक्त डुङ्गा चालकले हामीलाई बताए ।
यदि पूर्वाधारको विकास गरेर बाटोघाटो र यातायातका लागि सहज हुन सके यस दह (ताल) को रमणीयता र सुन्दरताको अवलोकन गराउनका लागि पर्यटन विकासको प्रचुर सम्भावना बोकेको यस ठाउँको महत्व बढनुका साथै ‘रारा’ ताल जत्तिकै चर्चित र प्रसिद्ध हुन सक्ने कुरामा कसैको दुई मत हुँदैन होला भन्ने विश्वास हामीले लिएका छौँ ।
हाल यस दहमा १४–१५ ओटा सम्म डुङ्गाहरू सञ्चालनमा रहेछन् । स्थानीय निकाय कुपिण्डे नगरपालिकाले मासिक एक डुङ्गाबाट रू. २००÷– (दुई सय) का दरले सेवा शुल्क उठाउने व्यवस्था गरेको रहेछ । त्यसरी उठेको रकमबाट केही रकम विकास बजेटको हिसाबले दह संरक्षणका लागि पनि खर्च गरिने व्यवस्था गरिएको भएता पनि दह (ताल) मा कुनै विकासका सङ्केत भने हामीले महशुस गर्न र देख्न पाइएन । त्यसै गरी अर्काे रोचक कुरा त हरेक वर्ष तिहार पछिको पूर्णिमाको दिन त्यस ठाउँमा ठूलो मेला समेत लाग्ने गर्दाे रहेछ ।
तालको डुङ्गा सयर अनि ताल वरपरको दृष्य मोवाइल र क्यामरामा कैद गरेर करिब साँझ ४ः०० बजे कुपिण्डे दह परिसरबाट सल्यान खलङ्गा जोडिने सडक हुँदै पूर्वी उकालो कच्ची पहाडी नागबेली सडकको कठीन यात्रालाई आत्मसाथ गर्दै हामी सल्यानको खलङ्गा तर्फको यात्रा आरम्भ गर्याैँ ।
यसरी सल्यान जिल्लाको कुपिण्डे नगरपालिका वडा नं. ८ स्थित कुपिण्डे दहको मननोरम दृष्य तथा रमाइलो काख छोडी केही पर माथि ज्यामिरे डाँडामा सडक नजिकै एक आधारभूत विद्यालयमा पुगेपछि शिक्षक भएको नाता र विद्यालय प्रतिको चासो र चिन्ताले एकै क्षण भए पनि विद्यालयको अवलोकन गर्न हामी त्यहाँ रोकियौँ । भाइटीकाको दिन भएकाले पनि विद्यालय बन्द थियो । विडम्बना सडकै छेउ रहेको उत्त विद्यालय धेरै कुराले पछि परेको हामीले अवलोकन बाटै महशुस गर्याैँ । विकट ठाउँ, यातायातको असुविधा । त्यस्तै राज्यको नजर नपगेको हो वा विकट ठाउँ भनेर बेवास्ता गरिएको हो हामी बुद्मन सकि रहेका थिएनौँ । तर त्यहाँको भौतिक संरचनाले नै प्रष्ट भनिरहेको महशुस हुन्थ्यो । कि भौतिक त त्यस्तो छ अन्य सुविधाको त के हालत होला ? त्यस आधारभूत विद्यालयको ? यस्तै यस्तै तितो अनुभूत गर्दै हाम्रो यात्रा सल्यान खलङ्गा तर्फ बढीरहेको थियो । पहाडको भर्खर खुलेको धुलाम्य, डरलाग्दा भिरको बाटो, रमणीय र मनोरम दृष्यले सबै असजिला र अप्ठ्याराहरूलाई बिर्साउँदै साँझ ६ः०० बजेको मिर्मिरेमा मोटरसाइकलको उज्यालो बाल्दै सल्यान सदरमुकाम खलङ्गा बजार पुग्यो हाम्रो मोटरसाइकल यात्रा । विस्तारै मोटरसाइकलको उज्यालोमा खलङ्गा बजार देखि ७ किलोमिटर पर तल फाँटमा सल्यान जिल्लाकै ठूलो र सुन्दर श्रीनगर बजार पुगेर त्यस साँझ एक होटलमा खाना खाइ त्यही होटलमा विश्राम गर्यौँ ।
कार्तिक ५ गते आइतबार
सल्लान जिल्लाकै सुन्दर र ठूलो बजार श्रीनगर बजार जहाँ सम्म पुग्दा हाम्रो घरबाट हिँडदा देखिको यात्राले पुरै चार दिन पुरा गरी पाँचौँ दिनमा प्रवेश गर्दै थियो । आज त हामीलाई साँझ सम्म जसरी पनि घर फर्किनु थियो । सधैँ जसो बिहानै नुहाइ धुवाइ गरी तयार भै होटल बाहिर बजार निस्क्यौँ । श्रीनगर चौडा बजार, उपत्का झैँ लाग्ने ठाउँ, बाक्ला घर, बाक्लो चिटिक्कको बजार, बजारको पूर्वी भागमा सुन्दर फाँट जहाँ कतै धान लहलह झुलि रहेको त कतै पाकेको धान काटेका धानका गराभरी । पाँजा आहा ! कति सुन्दर ठाउँ ? तराइकै बजारको महशुस गराउने व्यवस्थित बजार । हामी होटलको खाना बस्नको हिसाब गरी हिँड्ने तर्खरमा थियौँ । त्यही बेला प्रभात गुरुका चिनापर्चीमा रहनु भएका प्रभात गुरुलाई अत्यन्तै श्रद्धा गर्ने एक मित्र गोपाल शर्मा भेट हुनु भयो । वहाँ भन्दै हुनुहुन्थ्यो ः यहाँ आउनु भएको रहेछ, किन खबर नगरी आउनु भएको ? एकै छिन वहाँ सँगको भेट घाट पछि हामी सल्यानको श्रीनगर बजारलाई छोडेर दाङ तुल्सिपुर हुँदै कोहलपुर नेपागञ्ज गरलरिया तर्फको रहेको थियो । सल्यान देखि दाङ सम्मको बाटो अत्यन्तै रमाइलो र सजिलो पनि रहेछ । हुन त पहाडका हरेक मार्गहरू घुमाउरा, उकाली–ओराली भएर निर्माण गरिएका हुन्छन् । यो मार्ग पनि यस्तै नै थियो । यस्तै भए पनि फरालिो सडक, यात्राका लागि आनन्दमय भएको हामीलाई अनुभूत भै रहेको थियो । हामी आफ्नो गन्तव्य पुग्नलाई पनि मोटरसाइकलको गति एकै नासको बनाइ रहेका थियौँ । कतै कतै बाटोमा रोकिँदै त्यहाँको दृष्यावलोकन पनि गर्दै अगाडी बढ्दै गर्दथ्यौँ । सल्लयान यसै पनि सल्लाको वनले प्रख्यात जिल्ला । सायद यसै भएरै होला ‘सल्यान राम्रे सल्लैको पातैले कान्छी राम्रो गाजलु आँखैले’ गीत बनेको । यसैगरी सल्यान जिल्ला सल्लाको खोटोका लागि पनि प्रसिद्ध रहेछ । त्यहाँका सल्लाका रूखहरूबाट वर्षेनी हजारौँ क्विन्टल सल्लाको खोटो सङ्कलन भई नेपालगञ्ज लगायत अन्य ठाउँमा निर्यात हुँदो रहेछ । हामीले त्यसरी सङ्कलन गरेर राखिएको थुप्रै खोटोका भरीभराउ टिनका डिब्बाहरू दाङ आउने क्रममा कपुरकोट पुग्नु भन्दा पहिले हेर्ने मौका पाएका थियौँ । त्यस्तै सल्यान जिल्लाको अत्यन्तै प्रसिद्ध स्थान कपुरकोट एक रहेछ । जहाँ तरकारी विशेष गरी आलु उत्पादनका लागि अत्यन्तै कहलिएको ठाउँ रहेछ । करिब बिहानको ९ः०० बजे त्यहाँ पुगे पछि त्यहाँको वरिपरिको दृष्य अवलोकन गर्दै गर्दा फेसबुकबाट समेत प्रत्यक्ष प्रसारण समेत गरी हाम्रो यात्रा अघि बढेको थियो । कपुरकोट देखी दाङ् तर्फ निकै तल झरि सकेपछि बाटोमा एक ठाउँ यस्तो अचम्म लाग्दो नामको ठाउँ पनि रहेछ । सुनेरै दङ्ग लाग्ने । त्यस ठाउँको नाम रहेछ राम्री । अचम्मै लाग्यो ठाउँको नामै राम्री । तर त्यस स्थानमा न कुनै बजार थियो केवल एउटा मात्रै घर थियो । पहाडी ओरालो घुम्ती, विशेष गरी मालबहाक मोटर गाडी विसौनी रहेछ त्यो राम्री भन्ने ठाउँ । त्यो राम्री भन्ने ठाउँ कटेपछि अनेकौँ ओराला घुम्तीहरू, नदिको किनारै किनारको बाटो, अत्यन्तै मनमोहक लाग्ने दृष्यहरू छिचोल्दै दाङ उपत्यकालाई पनि स्पर्श गर्दै गर्दै हामी बिहानको करिब साढे ११ बजे तुल्सीपुर बजार आइ पुगेर खाना खायौँ । खाना खाएर तुल्सीपुर बजार देखि ३–४ किलोमिटर पूर्व घोरही जाने बाटो तर्फ बिजौरी स्थित अध्यापन पेशामा संलग्न प्रभात गुरुका सहपाठी प्राध्यापक मित्र खगेन्द्र घोरासैनीलाई भेटन बिजौरी तर्फ लाग्यौँ । वहाँले त्यहीँ बिजौरी स्थित क्यामपस लगायत उच्च मा.वि.मा प्राध्यापन गर्नु हुँदो रहेछ । धेरै वर्ष पहिले वहाँ बर्दिया हुँदा गुलरिया मा प्राध्यापन गर्नुहन्थ्यो । हाल दाङमा घर बनाइ त्यहीँ बस्नु भएको रहेछ । प्राध्यापक खगेन्द्र घोरासैनी सरकोघरमा लामो समयको विश्राम पछि हामी करिब बेलुकिको ४ः३० बजे घोरासैनी सरसँग बिदा हुँदै तुल्सीपुर छोडी तुल्सीपुर–अमिलिया सडक हुँदै कोहलपुर पुग्ने बाटो तर्फको यात्रा आरम्भ गर्याैँ । बाटोमा बबई नदि पर्दाे रहेछ । बर्दियामा वर्षेनी धेरै धनजनको क्षती पुर्याउने नदि हो त्यो बबई । अब हामी दाङ उपत्यकाको प्रमुख शहर तुल्सीपुर बजार छोडि अमिलिया तर्फको यात्रामा बढी सकेका थियौँ । दाङ तुल्सीपुर छोडेपछि अमिलिया तर्फ आउने पहाडको र दाङ उपत्यकाको सुन्दरताको बीचमा रहेर केहीबेर त्यहाँका सुन्दर तस्विहरू मोवाइल तथा क्यामरामा कैद गरी तीनै पहाडका घुमाउरा र नागबेली सडकसँगै साउती मार्दै लुकामारी खेल्दै नजिकैबाट सन्ध्याकालिन पहाडका चुलीहरू हेर्दै र दृष्यपान गर्दै अमिलिया पुग्यौं । अमिलिया पुग्दा सम्ममा समयले साँझको करिब ५ः३० बजाई सकेको थियो । अमिलियामा सानो विश्रामसँगै चिया पिएर पुनः हामी अबको गन्तव्य कोहलपुर बाँसगढी हुँदै गुलरिया तर्फको यात्रालाई निरन्तर दियौँ । साँझको बेला बाटोमा अन्य मोटरहरू पनि कुदी रहेका थिए । हामी भने आफ्नो गतिलाई कमी हरन दिएका थिएनौँ । किन कि अबको गन्तव्य भनेको छिटै घर पुग्नु पनि त थियो । यसर्थ बिस्तारै झमक्कै साँझ पर्दै पनि थियो । मोटरसाइकलको बत्तीको उज्यालोको सहारामा अघि बढीरहेका थियौँ । मोटरसाइबलको गतिमै अघैया सिक्टा सिंचाई (जुन नेपालकै एक गौरवशाली आयोजना हो) नजिक आइ पुग्दा त्यहाँको झिलीमिली बत्तीको उज्यालो निकै मनमोहक देखिँदै थियो । त्यहाँ कत्तिपनि नबिसाइ टाढैबाट अवलोकन गर्दै अघि बढी रह्यौँ । कहिले अघि कहिले पछि त्यो बाँके राष्ट्रिय निकुञ्जको लामो पट्यारलाग्दो घनघोर जङ्गलमा एकै गतिमा निरन्तर बढदै जाँदा साँझ करिब ८ः१५ बजे कोहलपुर आइ पुग्यौँ । केही क्षणको कोहलपुर विश्राम पछि बाँसगढी लक्ष्मणा चोक हुँदै गुलरिया तर्फ बढ्यौँ । यसरी लक्ष्मणा गणेशपुर हुँदै हाम्रो कार्तिक १ गते देखिको ५ दिने यात्रा राती १०ः३० बजे गुलरिया आइपुगेपछि सम्पन्न भयो ।
यसरी जीवनमा सामान्य मोटरसाइकलको ८०० किलोमिटर पहाडी यात्रा सम्पन्न गरी रमाइला तिता मिठा अविस्मरणीय पल सगालेर उपलब्धि मूलक जीवनोपयोगी दुल्लु सम्मको उल्लुमय कार्य गरेर ५ दिने यात्रा सम्पन्न गरी सबैलाई चकित पारेका हौं । यस यात्राका क्रममा हाम्रो यात्रा दिनमा भन्दा पनि अधिकांश रातीको समयमा भएको हुनाले यस दुल्लुको उल्लु भन्ने वाक्लाई सहज रूपमा ग्रहण गरीदिनु हुन पाठक वर्गहरूमा यो लेखक विनम्र अनुरोध गर्दछ ।
।। समाप्त ।।