३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

इलामका चिया बगानमा मजदूर अभाव

१६ माघ २०७४, मंगलवार १०:५९

गोविन्द लामिछाने / माघ १६, इलाम | बढ्दो विदेश पलायन र अन्य क्षेत्रमा आकर्षक रोजगारीका कारण पछिल्लो समय इलामका चिया बगानमा काम गर्ने मजदूरको अभाव हुन थालेको छ । 

चिया मजदूर अभावका कारण हरियो पत्ती टिप्ने, गोडमेल गर्ने तथा चिया छाँटकाँट गर्ने मजदूरको अभाव भएपछि चिया व्यवसाय नै संकटमा परेको छ । 

मजदूर अभावका कारण यहाँका चिया बगान झाडीमा परिणत हुँदै जानुका साथै पत्ती टिपाइ पनि समयमै हुन छाडेको छ । चिया बगानमा काम गरेर गुजारा चल्न छाडेपछि ३२ वर्षदेखि इलाम चिया बगानमा काम गर्दै आउनुभएकी इलाम नगरपालिका–७ की सरस्वती चौलागाईंले काम छाड्नुभएको छ । 

“रातदिन चिया बगानमा खट्नुपर्छ, चियामा काम गरेको पैसाले पुग्दैन, बिहान बेलुका हातमुख जोर्न मुस्किल परेपछि काम छाडेकी हुँ”, उहाँ भन्नुहुन्छ ।

इलामका चार र झापाका तीनवटा चिया बगानमा कार्यरत मजदूरले पारिश्रमिक कम भएको बताएका छन् । उनीहरुले धमाधम काम गर्न छाडेका छन् । दैनिक आठ घण्टा काम गरेबापत रु २५४ चिया मजदूरको पारिश्रमिक तोकिएको छ । यहाँका चिया बगानमा कार्यरत मजदूरले त्यति पनि पारिश्रमिक नपाएको गुनासो गर्दै आएका छन् । 

मजदूर अभावका कारण सात दिनमा अनिवार्य हरियोपत्ती टिप्नुपर्नेमा चिया बगान पक्षले १५ दिनमा मात्र पत्ती टिप्ने गरेको छ । पत्ती छिप्पिने गरेको छ । युवाहरु उच्च शिक्षा अध्ययन, अवसर र रोजगारीका निम्ति गाउँबाट शहर जाने र शहरबाट विदेशतिर पलायन हुने क्रम बढेपछि चिया बगानमा मजदूर अभाव भएको चिया उद्योगी तथा व्यवसायी बताउँछन् । 

मजदूर अभावले समयमै हरियोपत्ती नटिप्दा समस्या बढ्दै गएको सूर्योदय नगरपालिका–४ हर्कटेका नरेश पौडेलले बताउनुभयो । चिया मजदूरले पारिश्रमिक बढाइदिन चिया बगान सञ्चालक, उद्योगी र व्यापारीसित पटक पटक माग गरे पनि सुनुवाइ नभएको मजदूर आशिष राई बताउनुहुन्छ । 

इलाम, कन्याम, सोक्तिम र चिलिमकोट चिया बगानका मजदूरले राजपत्रमा प्रकाशित न्यूनतम पारिश्रमिकसमेत नपाएको गुनासो गरेका छन् । इलामका चारवटा चिया बगानमा कार्यरत मजदूरका लागि स्वास्थ्य, शिक्षा र आवासका लागि सामान्य प्रबन्धसमेत नभएको उनीहरूको गुनासो छ । धेरै काम र कम ज्याला पाउने भएकाले पुरुष मजदूर विदेश पलायन भएपछि अहिले बढीजसो बगानमा महिला मजदूरमात्र भेटिन्छन् । 

जीवनको आधा उमेर चिया बगानमा काम गरे पनि आफूहरूको पक्षमा कुनै ठोस प्रगति हुन नसकेको राईको गुनासो छ । बूढेसकालमा चिया मजदूरका लागि न त निवृत्तिभरण छ, न त उपदानकै व्यवस्था । नेपाल चिया मजदूर श्रमिक संघकी केन्द्रीय उपाध्यक्ष नर्वदा निरौलाले चिया मजदूरको समस्या समाधान गर्न चिया बगान र उद्योग व्यवस्थापन गम्भीर बन्नुपर्नेमा जोड दिनुभयो । 

पाँच वर्षअघि इलाम चिया बगानमा १३५ चिया मजदूर कार्यरत रहेकामा हाल २६ जना मात्र कार्यरत छन् । सरकारी स्वामित्वको कन्याम, इलाम, सोक्तिम र चिलिमकोट चिया बगानबाट ४४६ चिया मजदूर विस्थापित भइसकेका छन् । 

सरकारले २०५७ सालमा इलामका चार र झापाका तीनवटा चिया बगान तथा कारखाना त्रिवेणी साङ्घाई ग्रुपलाई ५० वर्षका लागि भाडामा दिएको थियो । सो समयमा ८५८ मजदूर कार्यरत रहेकामा हाल अधिकांशले पारिश्रमिक र अन्य सेवा सुविधाको माग गरे पनि नपाएपछि पलायन भएका छन् । 

चिया व्यवस्थापन पक्षले दैनिक ज्याला, बिदा र सेवा सुविधामा समेत कटौती गरेपछि मजदूरले चियामा काम गरेको पैसाले परिवार पाल्नै धौ धौ परेको जनाउँदै धमाधम काम छाडेका हुन् । अर्थोडक्स चिया उत्पादन गर्दै आएको कन्याम चिया बगानमा ४७३ स्थायी मजदूर रहेकामा हाल १०५ जना मात्र मजदूर कार्यरत छन् । कन्याम चिया बगानमा ८० जना करारका श्रमिक छन् । सोक्तिम र चिलिमकोट चिया बगानले भने करारमा मात्रै मजदूर राखेका छन् । 

अर्थोडक्स चिया बगानमा पारिश्रमिक र मजदूरको पक्षमा कुनै सहुलियत नहुँदा चिया मजदूर पलायन बढेको एकदशकदेखि चिया क्षेत्रमा काम गर्दै आउनुभएका तीनजुरे चिया उत्पादक सहकारी संस्थाका व्यवस्थापक सोम शर्मा बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “चियामा काम गर्ने मजदूरको भविष्य उज्ज्वल हुने किसिमका योजना नल्याए निजीकरण गरिएका यी चिया बगान झाडीमा परिणत हुने स्थिति छ ।’ 

जिल्लामा सात हजार ९६५ हेक्टर क्षेत्रफलमा चिया खेती गरिएको छ । चिया प्रशोधनका लागि यहाँ साना ठूला गरी १०० भन्दा बढी उद्योग सञ्चालनमा छन् । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली