चैत १६, चितवन,| समाचार संकलनका क्रममा महानगर पुगेका पत्रकारलाई समाचार संकलन गर्न रोकेको घटनाप्रति भरतपुर महानगरपालिकाले दुःख प्रकट गर्दै अब यस्ता घटना दोहोरिन नदिने प्रतिबद्धता व्यक्त गरेको छ ।

महानगरपालिकाले आज यहाँ नेपाल पत्रकार महासंघसँग आयोजना गरेको संयुक्त छलफल कार्यक्रममा महानगरका प्रमुख रेनु दाहालले आउँदा दिनमा यस्ता घटना दोहोरिन नदिने भन्दै दुःख प्रकट गर्नुभएको हो ।

यही चैत १३ गते भरतपुर महानगरपालिकामा उद्योग वाणिज्य संघ चितवनको टोलीले करको विषयमा ज्ञापनपत्र बुझाउने क्रममा पत्रकारहरुलाई नगरप्रमुख रेणु दाहाल र उपप्रमुख पार्वती शाहकै रोहवरमा प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशी र वडा नं १० का वडाध्यक्ष अरुणपीडित भण्डारीले गालीगलौजसहित दुव्र्यवहार गरी कार्यक्रमस्थलबाट बाहिर निकालिएको थियो ।

सोपश्चात् पत्रकारसँग सम्बद्ध संघसंस्थाले विज्ञप्ति निकाल्दै घटनाको भत्र्सना गरेका थिए ।

कार्यक्रममा प्रमुख दाहालले महानगर र पत्रकारबीचमा सुमधुर सम्बन्ध स्थापित गर्दै समाचार संकलनमा सहयोग पुर्याउने बताउनुभयो ।

सो अवसरमा भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशी र वडा नं १० का वडाध्यक्ष अरुणपीडित भण्डारीले घटनाप्रति दुःख प्रकट गर्दै नियोजित नभएर आवेशमा आएको बताउनुभयो ।

छलफलमा महासंघ चितवन शाखाका अध्यक्ष राधेश्याम खतिवडाले अबका दिनमा समाचार संकलनमा सहज वातावरण सिर्जना गर्न आग्रह गर्दै यस्ता घटना दोहोरिन नहुने बताउनुभयो ।

कार्यक्रममा पत्रकारले महानगरबाट सूचना संकलनमा कठिनाइ हुँदै आएको भन्दै जनप्रतिनिधि आएपछि थप समस्या हुनु दुःखद् भएको बताएका थिए ।रासस

March 30, 2018
चितवन - CTW, समाज
पत्रकारलाई समाचार संकलनमा रोक लगाएको घटनाप्रति महानगरको दुःख प्रकट
By kit
4 मिनेट पढाइ