
काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री वालेन्द्र शाहलाई उच्च राजनीतिक चरित्र देखाउन आग्रह गरेका छन्। गृह जिल्ला चितवनमा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै लामिछानेले मुलुकको जिम्मा जनताले आफूहरूलाई लगाइसकेपछि त्यही अपेक्षामा खरो उत्रिनु पर्ने बताए। अहिले जनताले दिएको ठूलो जनमतलाई बिर्सेर पार्टीका नेताहरू मात्तिएको लामिछानेको टिप्पणी छ।
‘हामी खरो उत्रिएका छौ? जनताले १८२ सिट दिएको छ, हाम्रो भूइँमा खुट्टा छैन, मात्तिएका छौँ, टुप्पिएका छौँ,’ लामिछानेले भने, ‘यसरी हुँदैन, माथिदेखि तलसम्म हामी यति मातिएका छौँ, हामी यति चढेका छौँ, हामीले मान्छेलाई मान्छे गनेका छैनौँ।’
जनताको मतअनुसार, विश्लेषण गरिरहेकाले सोहीअनुसार अगाडि बढ्नुपर्ने उनको भनाइ छ। ‘हाम्रो व्यवहार, हाम्रा गतिविधि, हाम्रा तौरतरिका समाजले विश्लेषण गर्छ, विश्लेषण गर्ने समाजमाथि जाई लाग्नु सहि बाटो हुँदैन, समाजले हामीलाई ऐना देखाएको छ,’ लामिछानेले भने, ‘ऐना देखाउनेतिर झम्टिने! त्यो राजनीतिक चरित्र होइन।’
विगतमा रास्वपामा लाग्नेहरूमाथि तत्कालीन सत्ताबाट प्रताडना भएको बताउँदै सभापति लामिछानेले त्यसको बदला लिनका लागि आजको दिनमा प्रशासन र प्रहरी दुरुपयोग गर्न नहुने बताए।‘हामीले भूइँ टेक्नुपर्छ, भूइँ छोड्नु हुँदैन, कुनै हालतमा तपाईंले भूइँ छोड्नु हुँदैन,’ उनले थपे, ‘हामीले एउटा चुनाव जितेका हौँ। कुनै ग्रहबाट खसेका मान्छे होइनौँ। हामी यहीँका मान्छे हौँ, यही जमिनका मान्छे हौँ। यसलाई हामीले भुल्नुहुँदैन।’