भदौ २३, काठमाण्डु | शनिबार बिहानदेखि हराईरहेको अल्टिच्युड एयरको हेलिकोप्टरका एकजना यात्री उछिट्टिएर बाँच्न सफल भएका छन् ।
राम्रोसँग बोल्न नसकेका उनले हेलिकोप्टर दुर्घटनाग्रस्त भएपछि आफू बाँचेको जानकारी नेपाली सेनालाई दिएका छन् ।उच्च सैनिक स्रोतका अनुसार हेलिकोप्टर नुवाकोटको सामरी भन्ज्याङ दक्षिण र धादिङको बैरेनी भन्दा उत्तर दुर्घटना भएको जानकारी ती यात्रीले दिएका छन् ।
‘उनले आफ्नो नाम पनि राम्रोसँग भन्न सकेका छैनन्, धेरै बोल्न सक्ने अवस्थामा पनि छैनन्’ स्रोतले भन्यो, उनले दिएको जानकारीका आधारमा त्यस क्षेत्रमा खोजी कार्य जारी छ ।’
ती व्यक्तिले दिएको जानकारीका आधारमा एयर अल्टिच्युडको हेलिकोप्टरले हवाई मार्गबाट खोजी जारी राखेको छ र उद्दारका लागि नेपाली सेनाको हेलिकोप्टरपनि तयारी अवस्थामा छ ।